सय होटेलमा झन्डै एक अर्ब लगानी

|

धनकुटा : प्रदेश १ कै चर्चित पर्यटकीय स्थल भेडेटारमा पर्यटक आगमन सकारात्मक रूपमा बढेसँगै पर्यटन क्षेत्रमा देखिएको लगानी पनि निकै बढेको छ। पछिल्लो समय देखिएको राजनीतिक स्थितरता र पर्यटनप्रतिको प्रतिबद्धताले भेडेटारमा सकारात्मक प्रभाव परेको छ। 

त्यसो त भेडेटार, भौगोलिक हिसाबले पनि पूर्वी तराइका बजारसँग नजिक छ। सहज यातायातको पहुँच छ। यो क्षेत्रमा पछिल्लो समय पर्यटकको आगमन दिनप्रतिदिन बढिरहेको छ। पूर्व घुम्न आउने जो कोही आन्तरिक तथा बाह्य पर्यटकहरू एक पटक भेडेटार अवश्य आइपुग्छन्। समुन्द्री सतहदेखि करिब १४ सय २६ सय मिटर उचाइमा रहेको भेडेटारबाट जुनसुकै मौसममा पनि पूर्वी तराईका सुन्दर फाँट, सप्तकोशी नदीको फाँटसहित मकालु, कुम्भकर्ण जस्ता सेताम्मे हिमाल स्पष्ट देखिन्छन्। 

प्रदेश १ कै चर्चित पर्यटकीय स्थलको रूपमा परिचित भेडेटारमा पर्यटकको आगमन बढ्दै जान थालेपछि सुविधा सम्पन्न होटलहरू खुल्ने क्रम पनि बढ्दो छ। पर्यटकको आगमनले स–साना देखि ठूला लगानीका होटेल व्यवसायीलाई प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। भेडेटारमा सञ्चालित होटलहरू दैनिकजसो पर्यटकले भरिभराउ हुने गर्छन्।  

त्यसो त सुनसरीको धरानबाट नागबेली सडक पार गर्दै पुगिने भेडेटारमा जुनसुकै बेला पनि चिसो हावा पाहुनालाई स्वागत गर्न तत्पर रहन्छ। भेडेटारमा पछिल्लो समय आन्तरिक तथा वाह्रय पर्यटकहरूलाई लक्षित गर्दै होटेल व्यवसायमा ठूलो लगानी हुन थालेको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। उनले भेडेटारमा पर्यटनको धेरै सम्भावना भएरै होटेलमा थपिने क्रमसँगै लगानी बढेको हो। 

भेडेटारमा ठूला लगानीका स्तरीय ४० र मझौला तथा साना लगानीका ७० गरी ११० भन्दा बढी होटल सञ्चालनमा रहेको होटेल एसोसिएसन भेडेटारको तथ्याङ्कमा उल्लेख छ। भेडेटारका होटेलमा जग्गा बाहेक होटेलमा झण्डै एक अर्ब भन्दा बढी लगानी रहेको अध्यक्ष राईको भनाइ छ। भेडेटारले एक रातमा १ हजार  पर्यटकलाई बास दिन सकिने उनी बताउँछन्। राई स्वयम्ले भेडेटारको थुम्की डाँडामा करिब डेढ करोड रुपैयाँको लगानीमा भेडेटार भिलेज रिसोर्ट हालै मात्र सञ्चालनमा ल्याएका छन्। पछिल्लो समय भेडेटार बजारमा मात्रै नभएर आसपासका नाम्जे, थुम्की, ओख्रेबजार, सिम्सुवा लगायत स्थानमा साना लगानीदेखि स्तरीय होटेल खुल्ने क्रम बढिरहेको छ।  

धनकुटाको पाख्रिवास नगरपालिका मुगाका व्यवसायी किरन राईले विगत एक वर्ष देखि भेडेटारको राजारानी जाने बाटोमा सवसारा रिसोर्ट सञ्चालनमा गरिरहेका छन्। करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको सो रिर्सोटको भौतिक संरचनामा मात्रै तीन करोडभन्दा बढी लगानी रहेको छ। ‘जग्गा खरिदमा मात्रै ४ करोड लगानी गरे’ उनले भने ‘रिसोर्टमा पार्किङ सुविधा सहित १५० जना क्षमताको हल र सुविधायुक्त कोटा रहेका छन्।’ पर्यटकीय क्षेत्र भएको कारण र यहाँ आउने पाहुनालाई सुविधा होस् भन्ने उदेश्यले नै लगानी बढाएको उनले बताए। यस्तै विगत दुई दशकदेखि होटेल अरुणभ्याली सञ्चालन गरिहेका विष्णुराज श्रेष्ठले छिनछिनमै मौसम परिवर्तन भइरहने विशेषता रहेको भेडेटारलाई गुरुयोजना बनाएर व्यवस्थित गर्नुपर्ने बताए। एसोसिएसन संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठ आफैले होटेलको स्तरउन्नोत्ति गरेर सेवा सुविधा थप गरेको बताए।

पहाडको टुप्पोमा अवस्थित भेडेटारमा घुम्न आउने पर्यटकमध्ये ७० प्रतिशत भन्दा बढी भारतीय नागरिक आउने गरेको होटेल एसोसिएसन भेडेटारका निवर्तमान अध्यक्ष लिलाराज लावतीले बताए। लावती आफैँले विगत डेढ दशक अघिदेखि करोड भन्दा बढी लगानीमा होटेल लावती कर्नर सञ्चालन गरिरहेका छन्। उनका अनुसार भेडेटार सहित आसपासका नमस्ते झरना, थुम्की र नाम्जे गाउँमा होटेल थपिने क्रम बढिरहेको छ। त्यस्तै १० वर्ष अघि सानो लगानीमा सुरु भएको होटेल म्याजिष्ट्रिकमा अहिले ३ करोड भन्दा बढी लगानी भइसकेको होटेलका सञ्चालक आशिष राईले बताए। उनका अनुसार पर्यटकको माग अनुसार सुविधा थप्दै जाँदा होटेलमा लगानी बढेको हो। पार्किङ सहित अढाइ रोपनीमा रहेको होटेलले दैनिक ६५ पाहुनालाई राख्न सक्ने उनको भनाइ छ।  

स–साना होटेलको स्तउन्नोत्ति हुँदै

पर्यटकीय स्थल भेडेटारमा स्तरीय होटेल खुल्ने क्रम मात्रै होइन स–साना होटेलको पनि धमाधम स्तरोन्नति भइरहेको छ। यस क्षेत्रमा घुम्न आउने पर्यटकको आगमन बढेसँगै साना लगानीमा सञ्चालित होटलहरुले पनि लगानी बढाउँदै स्तरन्नोत्ति गर्न थालेका छन्। भेडेटारमा चोकमा विगत १० वर्ष अघिदेखि होटेल व्यवसाय सञ्चालन गरेर परिवार पाल्दै आइरहेका धनकुटा नगरपालिका–२ भीरगाउँका राजु मगरको होटेलमा दैनिक जसो ग्राहकको भिडभाड लाग्ने गर्छ। भेडेटारबाट राजारानी जाने बाटोमा रहेको उनको होटेलमा विशेष गरी स्थानीय परिकार पाइन्छ। ‘ठूला गेस्टहरू सुविधा युक्त होटेलमा जान्छन्।’ उनले भने ‘मेरोमा निम्नस्तरका गेस्टहरू आउने गर्छन्।’

२०५४ सालमा होटेलमा काम गर्न निस्किएका उनले सुरुवाती दिनमा धरान, विराटनगरका अरूको होटेलमा काम गरेर बिताएको बताए। एकदशकको अवधिमा भेडेटारमा धेरै नै चहलपहल बढेको उनको भनाई छ। उनी भन्छन्, पहिल्यै पहिल्यै घुम्न मात्रै पर्यटकहरू भेडेटार आउँथे, तर अहिले केही दिन बास वस्नेगरी आउन थालेका छन्।’ उनको जस्तै साना लगानीमा सञ्चालित होटेलमा पनि पर्यटकको बाक्लो भीड लाग्ने गरेको छ। 

वित्तीय संस्थामा उपस्थिति बढ्दै

होटेल सङ्ख्या र लगानी बढेसँगै भेडेटारमा अहिले वित्तीय संस्थाको उपस्थिति पनि बढ्दै गइरहेको छ। यहाँ दर्जन हाराहारीमा वित्तीय संस्थाहरू खुलेका छन्। क वर्गको नेपाल बङ्गलादेश बैङ्क, गोर्खा फाइनान्स, आरम्भ, एनएमवी, र जीवन विकास माइक्रो फाइनान्स, सहकारी लगायत वित्तीय संस्था सञ्चालनमा रहेको एसोसिएसन महासचिव तथा होटेल व्यवसायी आशिष राईको भनाई छ। उनका अनुसार अधिकांश होटेलमा वित्तीय संस्थाको लगानी रहेका छन्। त्यस्तै स्तरीय हरेक होटेलमा डेविट\क्रेडिट कार्डको माध्यमबाट कारोबार समेत हुने गरेको छ।  

भेडेटारका आकर्षण

भेडेटार घुम्न आउने पर्यटकहरूका लागि आसपासमा एक दर्जन भन्दा बढी ठाउँ रहेका छन्। थुम्कीबाट रमणीय दृश्यालोकन गर्न दैनिक जसो भीड लाग्छ। बजार क्षेत्रमै रहेको शङ्खेश्वर महादेवमा मन्दिर पर्यटकको घुइँचो नै लाग्ने गरेको छ। बजार क्षेत्रदेखि करिब दुई किलोमिटर दूरीमा अवस्थित पाथीभरा मन्दिर अर्को गन्तव्य हो। ताप्लेजुङको पाथीभरा मन्दिरको शाखा रूपमा यो मन्दिरलाई लिइन्छ। मन्दिरमा हरेक दिन श्रद्धालु आउने गरेका छन्। भेडेटारबाट पैदालयात्रा गरेर यो मन्दिर पुग्न सकिन्छ। त्यस्तै लिम्बुवान छुट्टिँदा बनाएको ऐतिहासिक साँगुरीगढी पर्यटकहरूका लागि अर्को गन्तव्य हो।

त्यस्तै होमस्टे गाउँको रूपमा परिचित नाम्जे गाउँ पनि भेडेटारको प्रमुख पर्यटकीय गन्तव्य हो। यो गाउँलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले सन २०१२ मा विश्वको १२ औँ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो। भेडेटार बजार देखि केही तल रहेको अर्को गन्तव्य नमस्ते झर्नामा भेडेटार आइपुगेका आन्तरिक तथा वाह्रय पर्यटक एक पटक अवश्य पुग्ने गरेका छन्। जंगलको बिचमा रहेको यो झरनासम्म पुग्ने पूर्वाधार बनेसँगै दैनिक हजारको सङ्ख्यामा पर्यटक पुग्ने गरेका हुन। नमस्ते झरनामा क्यानोनिङजस्ता साहसिक खेल समेत सञ्चालन हुने गरेको छ।

भेडेटारलाई प्रदेश १ को पहिलो पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना : प्रदेश सरकार

भेडेटार तथा आसपासका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न नै प्रदेश सरकारले साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय गाउँपालिकाको रूपमा घोषणा गरेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्। थाहा खबरसँग कुरा गर्दै मुख्यमन्त्री राईले भेडेटारलाई प्रदेशकै प्रमुख गन्तव्य बनाइने बताएका हुन्। ‘भेडेटार आफैँमा प्रकृतिले भरिपूर्ण भए पनि राज्यले यस क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न सकेन’, राईले भने, ‘विगतमा राज्य काठमाडौंमा थियो तर अब सिंहदरबारको सरकार गाउँ–गाउँमा आएको छ।’

प्रदेश सरकारले भेडेटारको पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्ने राईले बताए। स्थानीय सरकार र प्रदेश सरकार पर्यटनको विकासमा सदैव लागिपर्ने उनले बताए। ‘यो ठाउँलाई प्रदेश १ को १ नम्बर पर्यटकीय गन्तव्य बनाउने प्रदेश सरकारको अवधारणा छ’ राईले भने। प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्र मिलेर नमुना काम गर्न प्रदेश सरकार इच्छुक रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.