ट्राफिक प्रहरीलाई ३५ लाख बढीको सामग्री

|

भद्रपुर (झापा) : प्रदेश १ मा सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम शुरु भएको छ।

झापामा शुरु भएको दोस्रो चरणको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले गरेका हुन्। बिर्तामोडमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै आइजीपी खनालले समाजमा आतंक फैलाउने र विकास विरोधी तत्वमाथि प्रहरीले निगरानी बढाएको बताए। नेत्रविक्रम चन्द 'विप्लव'को नेतृत्व नेकपा पार्टीलाई लक्षित गर्दै आइजीपी खनाले भने, ‘लुकेर विभिन्न गतिविधि गरी शान्त समाज नै आतंकित बनाउने व्यक्तिको सूचना तत्काल प्रहरीलाई दिनुहोस, नागरिकलाई शान्त र सुरक्षित वातावरणको महशुस प्रहरीले दिलाउनेछ।’

झापासहित नेपालको सीमावर्ती नाकामा मदिरा र लागुऔषधको कारोबार हुने गरेको जनगुनासो बढेकाले यसको रोकथामका लागि प्रहरीले आक्रमक योजना ल्याउने लागेको बताउँदै उनले भने, ‘नेपाल प्रहरी संगठनभित्र कमी कमजोरी रहेकोले प्रहरी भित्रको बेतिथि हटाउन आफू लागि परेको छु।’

यता महाअभियान समितिको आयोजना तथा प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको संयोजनमा सुरु सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम प्रदेशभरी १५ दिनसम्म चल्ने महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए।

ट्राफिक प्रहरीलाई ३५ लाख बढीको सामग्री

महाअभियानलाई सफल बनाउन बिर्तामोडमा बिहीबार बिहान प्रभात फेरिको आयोजना गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा प्रदेश ट्राफिक प्रहरीलाई ३५ लाखभन्दा बढीका सामग्री हस्तान्तरण गरिएको छ। जसमा १० थान मोटरसाइकल, १० थान ब्रेथ लाइजर, १० थान विल लक र ७०० थान चालकलाई पोशाक प्रदान गरिएको हो।

महाअभियानको क्रममा चौथो चरणको कार्यक्रममा ट्राफिक लाइट जडान गरिने जनाएको छ। महाअभियान समिति र ट्राफिक प्रहरीको अगुवाइमा हरेक वर्षको २ असोजलाई ‘दुर्घटना न्यूनीकरण महाअभियान दिवस’का रुपमा मनाइँदैछ। महाअभियान सुरु भएयता चालकलाई अनिवार्य जुत्ता, टिपर सञ्चालनमा समय निर्धारण, टिपरलाई टाइम कार्ड, सडक प्रशिक्षण कार्यक्रम लगायतका कामलाई तीव्रता दिएको छ।

ट्राफिक प्रहरीको भवन शिलान्यास

बिर्तामोड ३ मा ८ कठ्ठा जमिन उपल्बध भएपछि जिल्ला ट्राफिक प्रहरी झापाको सुविधा सम्पन्न भवन बन्न लागेको छ। आधुनिकस्तरको ३ तले भवन निर्माणको शिलान्यस आइजीपी खनालले गरे। प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा ट्राफिक कार्यालयसहित सेमिनार हल निर्माण हुने ट्राफिक प्रहरी प्रमुख राजेश राईले जानकारी दिए। हाल जिल्ला ट्राफिक प्रहरी झापा बिर्तामोडको मुक्ति चोकमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.