|

काठमाडौं :  तीन वर्ष अघिसम्म पारिवारिक व्यापार व्यवसायमा व्यस्त युवा व्यवसायी कुशलसुन्द श्रेष्ठ अहिले जलविद्युत् क्षेत्रमा रमिरहेका छन्। उनको अहिलेको सोच भनेको जलविद्युत् क्षेत्रमा संचालन गरेका आयोजना समयमै कसरी सक्ने र नयाँ आयोजना कहाँ संचालन गर्ने भन्नेमा छ।

जलविद्युत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने लक्ष्यमा रहेका उनी अहिले पनि आफ्ना बुबाका उमेरका दौतरीसँग बसरे काम गरिरहेका छन्। श्रेष्ठ भन्‍छन्, ‘पर्याप्त सम्‍भावना भएर पनि विगतमा हामीले जलविद्युत उत्पादनमा ध्यान पुर्‍याउन सकेनौँ, व्यापार र उत्पादनमा देखिएका धेरै समस्या हल गर्न एक माध्यम ऊर्जा उत्पादन वृद्धि हो, मेरो ध्यान ऊर्जा मात्रै छ।’

श्रेष्ठको परिवार ४० वर्षदेखि व्यापारमा रहेको छ। व्यापारिक क्षेत्रमा उनी परिवारमा दोस्रो पुस्ता हुन्। बुबा दिलसुन्दर श्रेष्ठ लामो समयदेखि यो क्षेत्रमा छन्। स्कुल पढ्ने समयदेखि नै बुबाले गर्ने व्यापार व्यसायमा सहयोग गर्ने गरेका थिए। पढाइ नसकेको कारण उनले लामो समय व्यापार गरेर बस्न भने सक्दैनथे।

२०१२ मा थाइल्याण्ड र जर्मनबाट आइटीको पढाइसकेपछि (मास्टर गरेपछि) उनी नेपाल फर्किएर पूर्णरुपमा व्यवसायमा लागेका छन्। उमेरले कलिलो भए पनि उनको खटाइ अधिक छ। नेपाल फर्किएको करिब पाँच वर्ष उनले बुबाले संचालन गरेको व्यापार क्षेत्रमै काम गरे। अहिले भने जलविद्युत् क्षेत्रमा सक्रिय छन्।

हाल तीन घरानाबाट संचालित आरएम ग्रुपअन्तर्गत रहेर उनी काम गरिरहेका छन्। श्रेष्ठसहित, व्यवसायी कृष्ण आचार्य र भरतबहादुर पाण्डेको परिवार यो ग्रुपमा रहेका छन्। यसले आरएम इन्भेष्टमेन्ट, मल्टी इनर्जी, पिपल्स इनर्जी कम्पनी संचालन गरेको छ।

४८.८ मेगावाटको खिम्ती चाइनिज कम्पनीलाई निर्माण जिम्मा दिएको छ। यो ग्रुपअन्तर्गत रोदी खोला ‘ए’र ‘बी’ १५ मेगावाट, लाङटाङ खोला २० मेगावाट पनि निर्माणाधीन छन्। यस हिसाबले अहिले आरएम ग्रुपअन्तर्गत ८५ मेगावाट बराबरको आयोजना निर्माणाधीन रहेका छन्।

कुशल भन्छन् ‘मेरो हाम्रो लक्ष्य भनेको आगामी पाँच वर्षमा ५०० मेगावाटको  जलविद्युत्  उत्पादन हो।’ उनका अनुसार अहिले दुई सय मेगावाट बराबरको जलविद्युत् आयोजनाको अध्ययन काम गरिएको छ। थप दुई सय मेगावाटको अध्ययनको काम अघि बढाइँदै छ।

त्यसो त नेपालका धेरै ठूला घरनाहरू जलविद्युतमा पनि लगानी बढाउँदै गएको अवस्थामा उनी भने जलविद्युतमा मात्रै लगानी केन्द्रित गर्ने बताउँछन्। ‘धेरै तर्फ व्यवसाय गर्ने र केही जलविद्युतमा पनि छुट्याउने अहिले धेरै छन्, हामी भने जति सक्छौँ जलविद्युतमा मात्रै लगानी गर्ने योजना बनाएका छौँ’ कुशल भन्छन्, ‘तँ के बन्छस् भन्नुहुन्छ भने मैले अरू कुनै परिचय नबनाई जलविद्युत् उत्पादनको मात्रै परिचय बनाउने हो।’

उत्पादन नभएको दिनसम्म अर्बौं रकम माटोमा मात्रै बिलाउने भएकाले आयोजना छिटो सक्ने दबाब हुने उनको भनाइ छ। उनलाई जागिरको लागि जमर्नीमा अवसर भने नआएको हैन तर उनलाई जलविद्युतमा दोस्रो धनी देश भनेर परिचय दिँदै गर्दा १६ घण्टाको लोडसेडिङ यथार्थ कुराले नेपाल फर्केर आफ्नो उपस्थिति देखाउने मन थियो।

‘हामीले ऊर्जामा दोस्रो धनी देश भन्यौँ, दक्षिण एसियामै पहिलो जलविद्युत् आयोजना बनायौँ तर १०० वर्ष बित्दासमेत १६ घण्टा लोडसेडिङ भोग्नुपरेको थियो’ कुशलले भने, 'मेकानिकल आइटी पढेको कारण पनि हामी जस्ता विद्यार्थीको मनमा गढ्ने कुरा हो।'

ऊर्जाको जति उत्पादन बढायो त्यति व्यापार घाटा कम हुने र नेपालमा लगानी बढ्ने र उद्योगको स्थापना हुने उनको भनाइ छ। उनी कम्तीमा अबको पाँच वर्ष आफू  जलविद्युतमा मात्रै केन्द्रित हुने बताउँछन्। नयाँ पुस्तलाई उद्योग व्यपारमा केही अनौठा समस्या रहने उनको भनाइ छ। प्राविधिक जनशक्तिको ज्ञानको विष्लेषण गरेर काम गर्न सक्दा सफल हुन सक्ने र क्षमता देख्न नसक्दा असफल हुने उनी बताउँछन्।

नेपालमा अहिले उनले देखेको समस्या भनेको जनशक्ति हो। ‘दक्ष अर्धदक्ष दुवै किसिमका जनशक्तिको समस्या छ, यहाँ कामदार नपाएकै कारण भारतबाट ल्याउनुपर्ने अवस्था छ, यो हाम्रो मुख्य समस्या हो’ देशमा लगानी गर्न भने युवाहरू केन्द्रित भएको उनको बुझाइ छ। देशलाई दीर्घकालीन रूपमा फाइदा हुने क्षेत्रमा लगानी गर्न युवा केन्द्रित हुनुपर्ने र सरकारले प्रोत्साहन गर्नुपर्ने कुशल बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.