|

पर्सा : किसान एग्रो केमिकल्स उद्योग वीरगन्जका संचालक श्याम कुमार तुल्स्यानलाई अदालतले म्याद थप गरेलगत्तै नीजि हस्पिटल भर्ना गरिएको छ। प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत पर्साले बुधबार सात दिनको म्याद दिएपछि हिरासतमा नबसी उनी अस्पतालको सुविधायुक्त केविनमा भर्ना भएका हुन्।

स्वास्थ्य ठीक नभएको भनी उनले अस्पताल जान भनेपछि वीरगन्जको गण्डकमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटल (नीजि अस्पताल) मा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

हिरासतमा बस्न अनिच्छा देखाएर बिरामी भएको भनेपछि उद्योगी तुल्स्यानलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। ‘अन इजी भयो, प्रेसर लो भयो, अस्पताल जान्छु भनेपछि अभियुक्त उद्योगी तुल्स्यानलाई पहिले सरकारी अस्पताल (नारायणी अस्पताल) मा लगिए पनि त्यहाँका चिकित्सकले नीजि अस्पतालमा लान रेफर गरेपछि वीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको उनको जिकिर छ।

कति नम्बरको बेडमा उद्योगी तुल्स्यानलाई भर्ना गरिएको हो? भन्ने विषयमा भने उपरीक्षक ढकालले खुलाउन चाहेनन्। ‘जे होस् अस्पताल भर्ना गरिएको छ भने त!' उनले भने।

उद्योगी तुल्स्यानलाई भने वीरगन्ज हेल्थ केयर हस्पिटलको सुविधायुक्त केविन नम्बरमा ३ मा राखिएको अस्पताल श्रोतले जनाएको छ। स्थानीयले भने प्रहरी प्रशासनको यो कदमलाई आर्थिक चलखेलपछि भएको र हिरासतमा नराख्ने चाल भएको भनी आशंका सहितको तर्क गरेका छन्।

उद्योग वाणिज्य संघका एक पदाधीकारीले पनि नाम उल्लेख नगर्ने सर्तमा स्थानीयको भनाइ गलत नभएको बताए। तर, उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भने आर्थिक चलखेल नभएको बताए। तथापि हिरासतमा नराखी अनुसन्धान गर्न सकिने बताए।  

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाईमा छापामारी गर्दा अवैध उद्योग संचालन गरेको फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएका उद्योगी तुल्स्यानलाई अस्पताल लाने समयमा प्रेसर बढ्यो भनी प्रहरीबाट सोधनी भएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले वीरगन्जको गण्डकमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको आफूलाई थाहा भएको बताए। कुन रोग लागेको भने र अस्पतालको कुन बेडमा राखिएको छ? भन्ने विस्तृत जानकारी भने आफूलाई अहिले थाहा नभएको उनको भनाइ छ। 'मानिस विरामी पर्न सक्छ। कैदीलाई त स्वास्थ्य ठीक छैनभन्दा अस्पताल लगिन्छ भने यो विषयलाई अनुसन्धान प्रभावित भएन भने सामान्य रुपमा लियौं' प्रमुख जिल्ला अधिकारी भट्टराईले भने।

यता अस्पताल भर्ना गरिएका भनिएका उद्योगी तुल्स्यानको अवस्था बुझ्न वीरगन्ज हेल्थ केयर हस्पिटलमा पुगेका नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालाई भने आइसियूमा राखिएको छ भनी प्रहरीले भेट गर्न रोकेको उनले बताए।

प्रहरी नियन्त्रणमा नहुँदा प्रमाण मेटाउन र आफैँ पनि सम्पर्कमा नआउने सम्भावना रहने हुँदा अवैध किटनाशक औषधि उत्पादन जस्तो गम्भीर विषयमा यतिकै छोड्न नहुने निष्कर्ष निकाल्दै अदालतले बुधबार हिरासतमा नै राखी थप अनुसन्धान गर्न म्याद थप गरिदिएको थियो। 

नारायणी अस्पताल छेउमा नै किटनासक औषधि उत्पादन र बिक्री वितरण मात्र होइन मिति सकिएका औषधि पनि सँगै राखेर रिप्याकिङ गरेको सुक्ष्म अनुगमनका क्रममा अनुगमन टोलीले मंगलबार नै फेला पारेको थियो। सुक्ष्म अनुगमन टोलीको नेतृत्व गरेका जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले पनि सो समयमा बिनाअनुमति उद्योग संचालन, आवश्यक प्रमाणपत्रसमेत नलिएको र बोर्डसमेत नराखेको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.