|

चितवन  : पवित्र तीर्थस्थल देवघाटधाममा बृहत पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने भएको छ। देवघाट क्षेत्र विकास समितिले देवघाट गाउँपालिकासँग सहकार्य गरेर अध्ययन केन्द्र निर्माण गर्न लागेको हो।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वीय दर्शन ग्रन्थको अध्ययन, अनुसन्धान, सभ्यता, संस्कृति लगायतका विषयको देशकै पहिलो अध्ययन केन्द्र बनाउन लागिएको हो। वेद, गीता, पूराण जस्ता महत्वपूर्ण ग्रन्थको अध्ययन गर्न सकिने केन्द्रमा ७० लाख भारतीय रुपैंया भन्दा बढीका पुस्तक रहने छन्।

विद्युतीय पुस्तकालयसँगै सुविधा सम्पन्न साधना र अध्ययन केन्द्र पनि निर्माण गरिने उनले बताए। समितिले पूर्व अध्यक्ष डा. गुरुप्रसाद सुवेदीको संयोजकत्वमा अध्ययन केन्द्र निर्माणका लागि समिति समेत गठन गरेको छ। अध्यक्ष पौडेलले तीन वर्षभित्रमा सरकारी र दाताको झण्डैं रु पाँच करोडको लगानीमा अध्ययन केन्द्र निर्माण गर्न लागिएको बताए।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देवघाट गाउँपालिका–५ मणिमुकुन्देश्वर धार्मिक पार्कसँगै अध्ययन केन्द्र निर्माण हुने बताए। देशकै पूर्वीय दर्शन अध्ययन केन्द्रका रुपमा देवघाटलाई स्थापित गर्ने समितिको उद्देश्य रहेको उनले बताए। यसले धार्मिक पर्यटक आकर्षण गर्न समेत सहयोग पुग्ने घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.