|

सोलुखुम्बु : सोलुखुम्बुको विभिन्न स्थानमा रहेका हाते कागज उद्योग बन्द हुन थालेको छ। घरेलु तथा साना उद्योग विकास समितिको तथ्यांकअनुसार दर्ता भएका २० वटामध्ये चार वटा मात्र सञ्चालनमा छन्।

खुम्बुपासाङल्हामु गाउँपालिका–१ जुभिङमा केही वर्षअघि स्थापना भएको दुधकोसी कागज उद्योग बन्द छ। उद्योग सञ्चालक प्रेम थापा मगरका अनुसार गाउँघरमा जनशक्ति अभाव हुँदा उद्योग बन्द भएको हो।

महाकुलुङ गाउँपालिकामा २०३५ सालमा दर्ता भएको सरस्वती नेपाली कागज उद्योग जसोतसो सञ्चान हुँदै आएको छ। उक्त उद्योगमा आठ जना कर्मचारी रहेको छ। ‘सरकारी नीति नियम झन्झटिलो भएकाल उद्योग संकटमा परेको छ,’ उद्योग सञ्चालक उत्तरकुमार राई भन्छन्, ‘सरकारले गाउँघरमा सञ्चालन हुने उद्योगका लागि सरल नीति निर्माण गर्नुका साथै प्रोत्साहनको व्यवस्था गर्न आवश्यक छ।’

यस्तै, माप्यदूधकोसी गाउँपालिकामा सञ्चालन हुने गरी २०५७ मा स्थापना भएको एमडी पेपर उद्योग राम्रोसँग सञ्चालन गर्न नसकेको उद्योग सञ्चालक मंगलसिं तामाङ बताउँछन्। जंलगबाट लोक्ता संकलन गरी ल्याउने जनशतिm अभावका कारण उद्योग सञ्चालामा समस्या भएको तामाङ बताउँछन्। 

जिल्लाको माथिल्लो क्षेत्रमा हाते कागजको कच्चा पदार्थ अर्गेली उत्पादन हुन्छ। 

विदेश निर्यात

सोलुखुम्बुमा उत्पादन भएको नेपाली कागज विदेशमा समेत निर्यात हुने गरेको छ। काठमाडौं हुँदै विदेश निर्यात हुने गरेको चार दशकदेखि यसै पेसामा संलग्न भोजपुरका दावा तामाङ बताउँछन्। 

नेपाली कागज कोरको हिसाबले बिक्री हुन्छ। एक कोरमा २००  पन्ना हुन्छ। कागजको गुणस्तरअनुसार एक कोरको मूल्य तीन हजारदेखि तीन हजार ५०० रुपैयाँ रहेको छ। 

‘एक कोर कागज उत्पादन गर्न चार धार्नी अर्गेली आवश्यक पर्छ,’ तामाङले भने, ‘जंगलमा गएर एक जनाले चार धार्नी जम्मा गर्न सक्छ, त्यसलाई बेलुका अन्य सबै काम सकेर भोलिपल्ट कागज बनाउन सकिन्छ।’ 

कामदारले एक कोर कागज बनाए बापत ५०० रुपैयाँ ज्याला पाउँछन्। एक दिनमा एक जनाले एक कोरभन्दा बढी बनाउने तामाङको भनाइ छ। 
काजग उद्योग सञ्चालकले एक जना कामदार प्रयोग गरेबापत सम्पूर्ण खर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दछ,’ सरस्वती नेपाली कागज उद्योग सञ्चालक उत्तरकुमार राईले भने, ‘जति धेरै कामदार प्रयोग गर्न सकियो उति बढी आम्दानी हुन्छ।’

प्रोत्साहनको कमी

नेपाली कागज उत्पादनका लागि कच्चा पदार्थका साथै जनशक्ति अभाव छ। उद्योगीलाई प्रोत्साहित गर्न सरकारले तालिम, उपकरण, बजार व्यवस्थापन गर्न आवश्यक रहेको करिब ४० वर्षदेखि नेपाली काजग उत्पादन क्षेत्रमा का गर्दै आएका दावा तामाङ बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.