|

लहान : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले दुई तिहाई बहुमतको दम्भमा सरकारले सिके राउतसँग नाटकीय ढङ्गले सहमति गरेको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन सिरहाले शनिबार बिहान लहानमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य जोशीले मुलुक टुक्रयाउँछु भन्दै हिँडेका राउतलाई राजनीतिक मूलधारमा ल्याउनु स्वागतयोग्य कदम भए पनि त्यसको प्रकृया भने गलत भएकाले आफूहरु झस्किएको बताए। ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भन्ने सहमतिको वाक्यांश संविधानको प्रस्तावना र मर्म विपरीत छ, यसले समस्या बल्झाउन सक्छ’ उनले भने।

‘राउतको सहमितसिँगै रिहाई र जनताको मतबाट निर्वाचित रेशम चौधरीलाई कारावास संयोग मात्र नभएर नियोजित हो’ उनले भने ‘सरकारले अदालतलाई पनि प्रभावमा पारेर नाटकीय ढङ्गले सहमति गर्यो, त्यसको असर भविष्यमा देखिन सक्छ।’

नेता जोशीले संसद्मा प्रमुख प्रतिपक्षी दलको रुपमा कांग्रेसले रचनात्मक भूमिका खेल्न खोज्दा पनि सत्तापक्षले दुई तिहाई बहुमतको दम्भमा कांग्रेसको अवमूल्यन गरिरहेको बताए। ‘संवैधानिक निकायको नियुक्ति गर्दा समेत प्रमुख प्रतिपक्षी दलको नेतालाई खोजिँदैन’ उनले भने।

‘आन्तरिक पार्टी एकता र सुदृढीकरण नगरी कांग्रेसले जिम्मेबार प्रतिपक्षी भूमिका खेल्न सक्दैन’ उनले भने ‘पुरानो लोकतान्त्रिक पार्टी हुँदाहुँदै आफ्नै आन्तरिक कारणले खुम्चियो।’ कांग्रेसको आधारभूमिको रुपमा रहेको तराईमा कृयाशील नेता, कार्यकर्ताहरुले उठाएको गुटबन्दी अन्त्यसँगै आन्तरिक पार्टी एकताका लागि पार्टी नेतृत्व गम्भिर बन्नु पर्ने उनको माग थियो। मधेस केन्द्रित दलहरुले उठाउँदै आएको संविधान संशोधनको सवालमा नेता जोशीले कांग्रेसकै अगुवाईमा बनेको वर्तमान संविधान माग र आवश्यकता अनुसार संशोधन हुने र त्यसमा कांग्रेस बाधक नबन्ने स्पष्ट पारे।

‘हिन्दू राष्ट्र’ कायम गर्न कांग्रेस पनि लागेको हो भन्ने पत्रकारहरुको जिज्ञासामा उनले  पार्टीमा धार्मिक स्वतन्त्रताको विषयमा अनौपचारिक छलफल भएको स्वीकार्दै कांग्रेस संविधानले स्वीकारेको धर्मनिरपेक्षताकै पक्षमा उभिएको जिकिर गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.