|

जाजरकोट : विद्यार्थीलाई बस्ने ठाउँको अभाव हुँदा समस्य भोग्दै आएका यहाँका सयौँ विद्यार्थीले रमाइरमाइ बस्ने कक्षा कोठा पाएका छन्।

कुशे गाउँपालिकाले २६ वटा विद्यालयका भवन निर्माण गरेपछि यहाँका विद्यार्थी खुसी भएका हुन्। बर्सेनि विद्यार्थीको चाप बढ्दै गए पनि विद्यालय भवन नहुँदा दैनिक पढ्न, पाठनमा समस्य आएपछि कुशे गाउँपालिकाले पहिलो चरणमा २६ वटा विद्यालयका भवन निर्माण गरेको हो।

विद्यालय भवन नहुँदा आकाशमा बादल देखिनासाथ विद्यालय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि पहिलो चरणमा जीर्ण विद्यालय निर्माण कार्यअगाडि बढाएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। उनले भने 'शिक्षा नै जिन्दगीको पहिलो आधार भएकाले हाम्रो पहिलो काम पनि विद्यालय निर्माण गरी यहाँका हजारौँ बालबालिकाको बस्ने ठाउँको आधार तयार गरिएको छ।'

धूलो र खुल्ला चौरमा बसेर शिक्षा आर्जन गदै आएका दूर्गम गाउँमा विद्यार्थीका लागि विद्यालय भवन निर्माण भएसँगै कक्षा कोठामा खुसीका साथ बस्ने गरेको शिक्षक नीमबहादुर ओलीले बताए। थाहा पाउँने उमेरदेखि जिन्दगीका ऊर्जाशील उमेर विद्यालयमा नै बिताउने बालबालिकाका लागि बसाइँ व्यवस्थापन अहिले पहिलेको भन्दा सुधार भएको अध्यक्ष बस्नेतको भनाइ छ।

गाउँपालिका भित्रका अन्य विद्यालयका भवनसमेत समस्यका आधारमा क्रम निर्धारण गरी निर्माण हुँदै जाँने गाउँपालिकाले जनाएको छ। कुशे गाउँपालिकाको वडा २ देखि ९ सम्मका अतिसमस्याग्रास्त विद्यालय पहिलो चरणमा निर्माण गरिएको हो।

प्रावि, निमावी र मावि तहका विद्यालयलाई समस्या र विद्यार्थीको चापको आधारमा निर्माण गरिएको लेखापाल छवि खनालले बताए। विद्यालय भवन निर्माण भएपछि निकै खुसी भएको वीरेन्द्र प्रावि बरखालका विद्यार्थीले बताएका छन्। कक्षा कोठा नहुँदा भूइँमा बस्नु पर्ने समस्य हल भएको भन्दै निकै खुसी भएको पुतली प्रावि छहरागाउँका छात्र महेश थापाले बताए।

त्यस्तै, सधैँ आकाशमा बादल देखिन साथ झोला बोकेर घर जानुपर्ने र पढाइ नहुँदा तनाव हुँने समस्य हल भएको सरस्वती निमावी डाडाभौता, अर्छानीका छात्रा नवीना शर्माले बताइन्। स्थानीय सरकारको पहिलो उपहारका रूपमा रहेको विद्यालय निर्माण कार्य अझै निरन्तर हुनुपर्ने अभिभावकको जोड रहेको छ।

त्यस्तै, गाउँपालिकाले शिक्षा क्षेत्रमा गुर्णात्मक परिवर्तन ल्याउन अनुदान शिक्षक नियुक्ति गरिएको छ। दरवन्दी अनुसारका शिक्षक नहुँदा पढाइ प्रभावित भएका विद्यालयमा ८१ जना अनुदानमा नयाँ शिक्षक नियुक्त गरी  पढाइ सुरु गर्दा केही समस्या हल गरेको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले बताए। सरकारी कर्मचारी र जनप्रतिनिधिका छोरा, छोरी समुदायिक विद्यालयमा अनिवार्य पढ्नुपर्ने निर्णय गरेको गाउँपालिकाले सो निर्णय कार्यान्वयन गदै अगाडि बढिएको पौडेलले बताए।

गाउँपालिका भर सडकको पहुँच विस्तार गरी निकट भविष्यमा गाउँपालिका भित्रका विद्यार्थीलाई सडक मार्गमार्फत विद्यालय जाने वातावरण तयार गरिने गाउँपालिकाले बताएको छ।

त्यस्तै, कुशे गाउँपालिकाले राहत व्यवस्थापन कोष स्थापना गरी समस्यमा परेका आम नागरिकलाई सहयोग गदै आएको छ। त्यस्तै मेडिकल शिक्षा पढ्ने विद्यार्थीलाई सहयोग गर्नका लागि विशेष व्यवस्था गरिएको गाउँपापालिकाले बताएको छ। गरिबका छोरा, छोरी मेडिकल शिक्षा पढ्नका लागि रकम अभावमा कोही बन्चित हुँनु नपर्ने अध्यक्ष बस्नेतले बताए। क्षमता हुँदा हुँदै पनि रकमको अभावमा पढ्न नपाउँनु दुःखद् भएको भन्दै गाउँपालिकाले त्यस्ता क्षमता भएका विद्यार्थीलाई आर्थिक सहायता गर्ने निर्णय भएको बताएको छ।                      

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.