गिनिज वर्ल्ड रेकर्डर झापाली शर्मा जस्तै बालबालिका बनाउने लक्ष्य : प्रशिक्षक

|

भद्रपुर, (झापा) : अहिलेका बालबालिका पढाइ, खेलकुद, अत्तिरिक्त क्रिपाकलाप छाडेर अधिकांश समय मोबाइल र टिभी हेरेर बिताउने गर्छन्। मोबाइल र टिभी बढी नहेर्न ती बालबालिकालाई अभिभावकले जतिभन्दा नि उनीहरू कुनै पनि हालतमा मानदैनन्। किनभने, नशालु पदार्थ सेवनजस्तै ती बालबालिकाहरूलाई मोबाइल र टिभीको नशा लागिसकेको हुन्छ। जसले गर्दा आफ्नो छोराछोरीको भविष्य कतातिर जाँदै छ भनी अहिलेका अभिभावकहरुमा यस्तै चिन्ताले सताइरहेको हुनुपर्छ? यस्तै चिन्तामा बसिरहेका ती बालबालिकाको अभिभावकलाई लक्षित गरी झापामा पहिलो पटक दिव्य शिक्षा केन्द्र सञ्चालनमा ल्याइएको छ।

यस्तो शिक्षा लिएका बालबालिकाले मोबाइल र टिभी हेर्न छाडनुका साथै आफ्नो ब्रेन तथा व्यक्तित्व विकास गरेर अभिभावकलाई नै आश्चर्य चकित पारि दिएका छन्। यतीसम्म कि बालबालिकाले आँखामा कालो पट्टी बाँधेर कुनै वस्तुको रङ, नोटको नम्बर, मोबाइल नम्बर डाइल, पुस्तकको पाठ्यक्रमको सारांश र फोटो सहजै पत्ता लगाउन सक्छन्। यो घटना काल्पनिक नभई सत्य भएपछि अभिभावक आफैँ दंग पर्न थालेका छन्।

झापाको भद्रपुर-३ ज्ञानेचोकमा दुई महिनाअघि सञ्चालनमा आएको दिव्य शिक्षा केन्द्रमा प्रशिक्षण लिँदै आएका आधा दर्जन बालबालिकामा यस्तो प्रतिभा देखिएको छ। भद्रपुर ६ निवासी ६ वर्षीया कृषिका बोगटीले शनिबार बिहान अभिभावकसहित पत्रकारलाई चकित तुल्याउने गरी आफ्नो प्रतिभा देखाइन्।

दुवै आँखामा रुवा राखी कसिलो कालो पट्टी बाधियो। आँखा बाँधेकै अवस्थामा उनले शरीरको अन्य ग्रन्थीको सहयोगमा बलको रङ, कति रुपैयाँको नोट र त्यस नोटको नम्बर, मोबाइल नम्बर डाइल, पाठयपुस्तकको सांरश छामेर र सुँगेर पत्ता लगाइन्।

युकेजीमा पढ्ने बालिका बोगटीले आधारभूत तहको सातौँ हप्तामा प्रशिक्षण लिँदैगर्दा सो क्षमता प्रदर्शन गर्न सक्ने भएकी हुन्। अभिभावकले समेत नपत्याएको यस्तो शिक्षा हासिल गरेकी उनको प्रतिभाले अभिभावक प्रेणित भएका छन्। यस्तो शिक्षा हासिल गरेपछि उनले मोवाइल, टिभी हेर्न छाडिसकेको उनले स्वयं बताइन्।

त्यसो त कृषिका मात्र होइन, भद्रपुर-४ की ५ वर्षीया अर्पणा रिजाल, आभा ढुंगेल, आरुष थापाले पनि आफूमा त्यस्तो क्षमता विकास गरिसकेका छन्। उनीहरूले आफ्नो प्रतिभा कृषिका जस्तै सबै सामू प्रस्तुत गरे।

साताको एक दिन शनिबार मात्र चार घण्टा प्रशिक्षण दिइन्छ। केन्द्रमा प्रशिक्षण लिइरहेकी र आँखा चिम्लेर वस्तु, रङ, अंक पहिचान गर्नसक्ने भएकी अर्पणाका बुबा लोकनाथ रिजाल भन्छन्, ‘साँच्चै हामीले पनि पत्याएका थिएनौँ, अहिले नपत्याई सुखै भएन, छोरीका क्रियाकलापले नै त्यो देखाइसकेको छ।’

‘पहिला विद्यालयबाटै आउने बितिकै छोरीलाई कि त मोवाइल चाहिन्थ्यो कि टिभीमा कार्टुन हेर्न बसिहाल्थी’, उनले भने, ‘अहिले यी सबै कुरा छाडेर पढाईसँगै आफ्नो प्रतिभा तर्फ बढी ध्यान केन्द्रित गरेकी छिन् ।’ अभिभावकहरू पनि आफ्ना छोराछोरीमा अपूर्व क्षमताको विकास र आनी-बानीमा परिवर्तन आएको बताउँछन्।

पत्रकार रवि लामिछानेले आफ्नो स्टुडियोमा एक जना नानीलाई आँखा बन्द गराएर वस्तु पहिचान गराउने कार्यक्रम प्रस्तुत गरेपछि त्यही कार्यक्रम हेरेर प्ररित भएको र झापामा यस्तो शिक्षा ल्याएको केन्द्रका सञ्चालक तथा प्रशिक्षक कालीचरण बस्नेतले बताए।

प्रतिभा प्रस्तुत गरेर भद्रपुर निवासी अर्पण शर्माले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाइसकेका छन्। ‘यी बालबालिका पनि अर्पणजत्तिकै बन्न सक्छन् भन्ने मलाई विश्वास छ,’ केन्द्रका प्रशिक्षक बस्नेत भने, ‘मैले भन्दा शुरुमा कोही अभिभावकले पत्याउनु भएको थिएन, अहिले उहाँहरू नै छक्क पर्नुहुन्छ आफ्ना नानीहरुको क्षमता र प्रतिभा देखेर।’

'यस्तो पनि हुन्छ र छरछिमेकका अभिभावकहरुले भन्थे तर मैले अभिभावकहरुलाई सम्झाई बुझाई एक पटक नानीहरुलाई पठाएर हेर्नुहोस, त्यसको परिणाम राम्रो आउँछ, साँच्चै अहिले अभिभावकहरुले पत्याउन थाले,' उनले थपे । खासगरी, ६ वर्षभन्दा माथि र १४ वर्षभन्दा मुनिका बालबालिकालाई यो कला र शिक्षा सिकाइन्छ।

‘१४ वर्षमाथिकालाई पनि सिकाउन सकिन्छ तर उनीहरूले अलि ढिलो सिक्छन्,’ प्रशिक्षक बस्नेत भने, ‘केटाकेटीको दिमाग अलि पातलो हुन्छ त्यसकारण छिटो सिक्छन्, उमेर बढ्दै गएपछि दिमागका ग्रन्थीहरू पनि बाक्लो हुँदै जान्छ र सिक्न अलि बढी समय लाग्छ।’

यो सिकाइ र शिक्षा जापानबाट सुरु भएको हो। उनले भने भारतमा यो शिक्षाको प्रशिक्षणकला सिकेर आएको बताए। यो शिक्षा खासगरी ध्यानमा आधारित शिक्षा हो। पहिलो चरणको कोर्ष मुख्यतया १४ हप्ताको हुन्छ। १४ हप्तामा झण्डै ५२ घण्टा विभिन्न किसिमका प्रशिक्षण दिइन्छ। ‘ब्रेन तथा व्यक्तित्व विकास कार्यक्रम’नाम दिइएको यो कक्षामा ध्यान, आँखा चिम्लेर वस्तुको रङ, गुण, अक्षर, अंक चिन्ने कला, नृत्य, मस्तिष्कको व्यायामलगायतका क्रियाकलाप गराइने बस्नेतले जानकारी दिए।

‘कतिपय बच्चाहरु आमा–बुबा तथा शिक्षकले भनेको नमान्ने, चकचके, स्कूल जान नमान्ने, मोबाइल–टिभी मात्र चलाइरहने, घरमा पढ्न–लेख्न–गृहकार्य गर्न नमान्नेखालका हुन्छन्, कतिपय केटाकेटी पढेको कुरा याद नहुने, डराउने, नतिजा नराम्रो आउँदा हतास हुने, कुसंगतमा लाग्नेखालका हुन्छन्,’ बस्नेतले भने्, ‘त्यस्ता समस्यामा रहेका बालबालिकाको समस्या समाधान गर्नेगरी हामीले यो कार्यक्रम ल्याएका हौँ, प्रारम्भिक नतिजा राम्रो छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.