|

ओखलढुंगा : पछिल्लो समय ओखलढुंगामा अगलागीका घटना दैनिक घटी रहेका छन्। फागुन १३ देखि हालसम्मको अवधिमा आधादर्जन बढी आगलागीका घटना घटेका छन्।

फागुन १३ मा सुनकोशी गाउँपालिका ५ र ६ को सामुदायिक वनबाट सुरु भएको आगलागीका घटना दैनिक घटिरहेका छन्। सुनकोशी गाउँपालिका ६ को पारामा १३ गते बाँसबोटे सामुदयिक वनबाट सुरु भएको आगलागीले वडा नं. ५ को नागभिर सामुदायिक वनसम्म आएर १ सय बढी हेक्टर बन सखाप पार्‍यो। सुनकोशी ५  ६ को वनको आगो नियन्त्रणमा आउन नपाउँदै सुनकोशी गाउँपालिका १ को बलखुबेसीमा आगलागी हुँदा एक घर र तीन गोठसहित १२ बाख्रा जले।

आगलागीबाट सुनकोशी १ बलखुका पिताम्बर लुइँटेलको घर र घरभित्र रहेको सम्पूर्ण धनमाल, नगद १ लाख, एकतोला सुनसमेत गरी अन्दाजी १० लाख, मित्रलाल लुइँटेलको गोठ जल्दा ५० हजार, धिर्जराज लुइँटेलको गोठसहित सातवटा बाख्रा जल्दा एक लाख पचासहजार र अम्बिका लुइँटेलको गोठ र गोठभित्र रहेका पाँच खसीबाख्रा जल्दा एक लाख गरी १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

सुनकोशी गाउँपालिकामा भएको आगलागीको आलो घाउमा खाटा नबस्दै फेरि सिद्धिचरण नगरपालिका २ मा फागुन २७ गते भीषण आगलागी भएर ठूलो धनमालको क्षति भयो। नरेन्द्र बहादुर कार्की, प्रेम बहादुर कार्की, ढक बहादुर कार्की, सत्यवती कार्की, गोविन्द खड्का, ढुलबहादुर कार्की र समशेरबहादुर कार्कीको मतानसहित छ वटा घर गोठ जलेर नस्ट भए। सो घटनामा ६६ लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको भए पनि क्षति बढी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक निराजन श्रेष्ठले बताए।

योसँगै मोलुङ गाउँपालिका ८ पात्लेको जंगलमा फागुन २६ देखि लागेको आगोलाई नियन्त्रणमा लिन नसक्दा मोलुङ गाउँपालिका ७, ८ र सिद्धिचरण नगरपालिका ६ को १५ सय हेक्टर वन खरानीमा परीणत भयो। यो आगलागीबाट मोलुङ गाउँपालिकामा वनबाहेक अन्य क्षति नभएको तर आगलागी नियन्त्रणको क्रममा आफूसहित ५ जना सामान्य घाइते भएको मोलुङ गाउँपालिका ७ का वडा अध्यक्ष हेम सुनुवारले बताए। सुनुवारका अनुसार आगो चैत्र १ गते पूर्ण नियन्त्रणमा आएको थियो। आगोले सिद्धिचरण्च नगरपालिका-६ को एक गोठ भने जलेको वडा अध्यक्ष मदनबहादुर मगरले बताए।

आगलागीको विषयमा सचेत रहन भने पनि फेरि चैत्र २ गते लिखु गाउँपालिका ५ को खेलाखर्क सामुदयिक वनमा आगालगी भएको र नियन्त्रणको प्रयास जारी रहेको स्थानीय गोविन्द सुनुवारले बताए। यसमा खोलाखर्क सामुदयिक वनमा १ सय ५० हेक्टर बढी जंगल सखाप भई सकेको स्थानीयले बताएका छन्।

चैत्र २ गते नै लिखु गाउँपालिका वडा नं. ९ को पोकली वाच्पु जोरधारामा शिव कुमार खड्काको घरमा आगलागी नष्ट भएको र क्षतिको यकिन नभएको वडा अध्यक्ष सुकबिर तामाङ्गले बताए । आगलागीको क्रम अझै रोकीएको छैन सिद्धिचरण नगरपालीका वडा नं. ५ र ६ को सिमानामा सरकारी वनमा फेरि चैत ३ गते अपरान्हदेखि आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। अफ्ट्यारो भीर र जंगल भएका कारण आगो नियन्त्रणमा ल्याउन समस्या जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार जिल्लाका विभिन्न ठाउँबाट लागेको आगोबाट झण्ड एक करोड बराबरको प्रारम्भिक क्षति विवरण आएको छ। विस्तृत विवरणहरू संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यता, सुख्खा लागेसँगै आगलागीका घटनाहरू बढेपछि डिभिजन वन कार्यालय ओखलढुंगाले सबैलाई सतर्ककता अपनाउन अनुरोध गरेको छ। डिभिजन वन कार्यालय ओखलढुंगका फरेष्टर सन्तोष लम्सालका अनुसार संवेदनशिल क्षेत्रहरूमा अग्नि नियन्त्रण सञ्जाल गठन गरिएको र आगलागी भई हालेको खण्डमा आगो नियन्त्रणका लागि डिभिजन वन कार्यालयबाट अग्नि निइत्रण सामग्रीसमेत हस्तान्तरण गर्न लागीएको छ। कार्यालयबाट अगलागी हुन नदिनका लागि सचेतनामुलक सन्देशहरू प्रकासन तथा प्रसारण गरी जनचेतना जगाएको समेत उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.