झापामा होली मनाउने तयारी चैत ७ को,बिदा चाहिँ चैत ६ गते

|

भद्रपुर : झापा पहाडमा पर्छ कि तराईमा भनेर वर्षमा एक पटक झापावासीमा बहसमा उत्रिन्छन। सरकारले तीनबर्षदेखि झापा जिल्लालाई तराईसँग अलग्याएर होली पर्वको सार्वजनिक बिदा दिन थालेपछि झापावासीमा सरकारले गरेको निर्णयप्रति टिप्पणी हुन थालेको हो। एक नम्बर प्रदेशअन्तर्गतको तराई पर्ने झापालाई सरकारले २०७३ सालदेखि पहाडी जिल्लासँग दाजेर होली पर्वको सार्वजनिक बिदा दिन सुरु गरेको थियो। 

२०७२ सम्म सरकारले झापालाई तराइसँग दाजेर सार्वजनिक बिदा दिइने गरेको थियो। पहाडी जिल्लासँग दाजेर सार्वजनिक बिदा दिन थालेकोले सरकारबाटै झापामा होली पर्वको रौनक ओझेलमा पर्न थालेको छ। गृह मन्त्रालयले २०७४ चैत १४ गते नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदाको सूचना बमोजिम चैत ६ गते बुधवार झापासहित पहाडका ५८ जिल्लामा सार्वजनिक बिदा दिइएको छ। 

झापा र चितवनबाहेक तराईका १९ जिल्लामा चैत ७ गते बिहीबार सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख छ। झापालाई तराइसँग दाजेर सरकारले बिदा नदिए पनि झापावासी सरकारको निर्णय मान्ने पक्षमा छैनन्। झापावासी चैत ७ गते होली मनाउने तयारीमा छन्। सरकारले बुधवार झापामा बिदा दिएकोले त्यस दिन सरकारी निकाय मात्र बन्द हुन्छ। तर, झापाबासी त्यस दिन होली मनाउँदैनन्। झापावासीले सामूहिक रूपमा होली खेल्ने दिन सरकारी कर्मचारी कार्यालय जानुपर्ने हुन्छ, त्यस दिन सरकारी कार्यालय खुल्ला रहन्छ। 

झापावासीले तराइवासीसँगै पनि होली खेल्ने परम्परागत रहँदै आएको थियो। सोही दिन झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटै स्थानीय तहमा एकसाथ होली पर्व मनाइन्छ।

‘झापा तराई पर्छ भन्नेमा कोही अनविज्ञ छैन, स्वयम् सरकार पनि’, स्थानीय दीप लिम्बूले भने, ‘सरकारले गरेको निर्णय गलत छ, यसलाई सच्याउनु पर्छ। राजवंशी र मैथिली समाजको बाहुल्यता रहेको झापामा होली पर्व पहाड मनाएको भोलिपल्ट मनाउने चलन छ र यो परम्परागत चलन सरकारले चाहेर पनि बन्देज लगाउन सक्दैन।

अर्का स्थानीय सुखदेव राजवंशीले त्यस्तै तयारी गरेको बताए। उनले भने- 'सरकारको निर्णय मान्दैनौँ, सार्वजनिक बिदा कटौती गरे पनि बिहीबार नै होली मनाउँछौ।'

'सरकारको निर्णयबमोजिम बिदा'

गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सार्वजनिक बिदाअनुसार नै झापामा होलीको सार्वजनिक बिदा हुने झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

‘झापामा होलीको बिदा बुधवार हुन्छ, त्यस दिन सरकारी कार्यालय बन्द रहनेछ’, उनले भने- ‘बिहीबार आम झापावासीले होली मनाउने तयारीमा रहेको बुझिएकोले त्यसमा सरकारको अवरोध हुँदैन। बिहीबार सरकारी कार्यालय खुल्ला रहन्छ, कर्मचारी कार्यालय आउनुपर्छ र सेवाग्राहीलाई सेवा दिनुपर्छ।’ 

प्रदेश सरकारको निर्णयको प्रतीक्षामा स्थानीय सरकार

झापामा तराईमा पर्छ भन्नेमा झापाका जनप्रतिनिधि एकमत छन्। सङ्घीय सरकारले गरेको निर्णय विवादित भएको जनप्रतिनिधिहरू बताउँछन्। झापालाई पहाडसँग दाजेर दिन थालिएको सार्वजनिक बिदा झापावासीको पक्षमा नभएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए।

२०७५ सालको बिदामा समस्या त देखियो। आगामी वर्ष २०७६ को होली बिदा पनि झापालाई पहाडकै पङ्तिमा राखेर सार्वजनिक गरिएको छ। ‘यस विषयमा झापाका स्थानीय तहसँग समन्वय गरी प्रदेश सरकार र सङ्घीय सरकारलाई तत्काल निर्णय सच्याउन आग्रह गछौं’, उनले भने।

यता भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले झापामा होलीको बिदाले विवाद आएकोले यसबारे प्रदेश सरकारलाई जानकारी गराइसकेको जानकारी दिए। चैत ६ गते बिदा दिने कि चैत ७ गते भन्ने विषयमा प्रदेश सरकारको निर्णय स्थानीय सरकार पर्खिरहेको उनले बताए।

निर्णय सच्याँउन माग 

पहाडसँगै झापामा होली पर्वको सार्वजनिक बिदा दिँदैआएको सङ्घीय सरकारलाई सो निर्णय सच्याउन राजवंशी समाज विकास समिति झापाले पटकपटक ज्ञापनपत्र बुझाए पनि त्यसको सुनुवाइ भएको छैन।

२०७३ देखि राजवंशी समाज विकास समितिले जिल्ला प्रशासन कार्यालय झापामार्फत सङ्घीय सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएको छ। झापामा बसोबास गर्दै आएका आदिवासी समुदायले सार्वजनिक बिदाप्रति आपत्ति जनाउँदै आएको विकास समितिका अध्यक्ष पुकारचन्द्र राजवंशीले बताए। 'तराईका २० जिल्लामा झापा पनि पर्छ, उनले भने, ‘तराइसँग अलग्याएर गरिएको निर्णय आदिवासी समुदायले मान्दैनन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.