|

गुल्मी: कर्मचारी अभावका कारणले गुल्मीका केही सरकारी कार्यालयमा प्राय बन्द रहन्छ। प्रदेश ५ अन्तर्गतरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाको सम्पर्क केन्द्र फागुन २८ गतेदेखि बन्द भएको हो। कार्यालय प्रमुख डिल्लिराज मरासिनी कार्यालय नै बन्द गरेर सामाग्री हस्तान्तरणका लागि विभिन्न स्थानीय तहमा गएसँगै कार्यालय बन्द अवस्थामा छ।

फागुन २८ र २९ गते इस्मा गाउँपालिकामा सामाग्री हस्तान्तरण गर्ने भएकोले कार्यालय बन्द रहनेसूचना बाहिर गेटमा टाँसेपनि त्यसयताको कुनैसूचना टाँस गरिएको छैन। जसले गर्दा सेवाग्राहि कार्यालय धाउदैँ–फर्कदै गर्न बाध्य छन्। कार्यालयमा हाल गोबर जाँच लगायतका प्राविधिक काम हुन्छन्। तर कर्मचारी नै ताल्चा लगाएर हिडेपछि सेवाग्राहि मर्कामा परेका छन्।

‘भैँसीको गोबर जचाँउन आएको त कार्यालयको गेटमै ताल्चा लागेको रहेछ।’ सेवा लिन पुगेकी रेसुङ्गा नगरपालिका ४ रैदीकी मिना मरासिनीले भनिन्, ‘आशा लिएर आएको निराशा बोकेर फर्किनुपर्‍र्यो।’ सोहि क्षेत्रकी सारदा पन्थीले पनि कार्यालयमा ताल्चा लाग्दा आफू निराश भएको बताइन्। ‘बाख्राको लागि औषधी लिन आएको, यहाँ त ताल्चा पो रहेछ।’ उनले भनिन्, ‘कर्मचारी जो भएपनि ताल्चा चाँहि नलगाउनुपर्ने हो।’ सरकार र कार्यालयको यस्तो गलत हर्कतले आफूजस्ता धेरै सेवाग्राही मर्कामा परेको उनले गुनासो गरिन्।

कार्यालय प्रमुख मरासिनीले कार्यालयमा आफू एक्लै भएकोले कार्यालय नै बन्द गर्नुपर्ने हिडेको प्रतिक्रिया दिए। ‘कार्यालयमा म एक्लै छु, सबैतिरको काम सक्नुपर्छ।’ उनले भने, ‘म कतै हिड्नुपरे कार्यालय बन्द गर्नुपर्ने बाध्यता छ।’ केहि दिनकोसूचनानिकालेर आफू बाहिर गएपनि धुर्कोट र मदाने जाँदा बिर्सेर सूचना निकालेको उनले बताए। उनले आफू सामाग्री हस्तान्तरणको लागि विभिन्न स्थानीय तहमा गएको बताए। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ वरिष्ठ चिकित्सक चन्द्रबहादुर रानाले कर्मचारी अभावले यस्तो समस्या सिर्जना भएको बताए।

‘सबै ठाउँमा कर्मचारी अभावले समास्या छ।’ उनले भने, ‘समायोजनपछि समस्याको केहि हदसम्म समाधान होला।’ त्यसका साथै उनले अहिले सबै सेवा स्थानीय तहमा गइसकेकोले कार्यालयमा धेरै काम नहुने बताए। यता जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले कार्यलयमा १ जना डाक्टर सहित ६ जनाको दरबन्दी भएको भन्दै केही समयमानै डाक्टर सहितका कर्मचारी आउने दाबी गरे। कर्मचारी नहँदा समस्या भएको यर्थाथ मान्दै उनले जतिसक्दो कर्मचारीहरुको परिपूर्ति गर्न आफूले प्रयास गरेको दाबी गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.