विचार

त्यो लोभलाग्दो मिठो मुस्कान
SHARES

चैत ७, २०७५

    अविरल बग्ने नदी मात्र होला जो आफ्नो मार्गमा आउने हरेक बाधा व्यवधानलाई पन्छाउँदै अविचलित अघि बढिरहन सक्ने। हावा र बादल त पहाडसँगको एक ठक्करमा समेत विचलित बनिदिन्छन्। समयका पाइलैपिच्छे आउने व्यवधानलाई हाँसोले सामना गर्दै लोभलाग्दो जिन्दगी जिउने पनि कहाँ सजिलै भेटिएलान् र? आफू कुनै सुन्दर बगैँचामा फुलेको छु वा हिलोमा त्यसको बेवास्ता गर्दै सुन्दरता छर्न सक्ने सामर्थ्य त फूलसँग मात्र हुँदो हो नि? कति मानिसले त आफ्नो एउटा सिङ्गो जुनी नै त्यस्तै फूल बनेर पनि बिताइदिन सक्दा रहेछन्।

    मानिसको जुनी त्यसै पनि श्रेष्ठतम् हुन्छ रे, त्यसमा पनि बाल्यकाल। म त्यस्तो व्यक्ति हुँला जसले हजुरबा, हजुरआमाको लुटुपुटुमा बाल्यकाल बिताउन पाएँन, न घरतिर न त मावलीतिर कै। तर पनि किन हो किन मलाई आफ्नो घरपट्टिकी हजुरआमा ‘मुमा’ अति प्यारो लाग्थिन्, जबसम्म उनी बाँचिन्। सिधै भन्नुपर्दा मावलीतिरकी हजुरआमा मलाई त्यति मायालु कहिल्यै लागिनन्। सबै दाँत झरिसकेकोले होला उनको मुहारमा आउने हाँसोसमेत मलाई मुमाको जस्तो प्यारो कहिल्यै लागेन। शायद पर्याप्त समय उनीसँग बिताउन नपाएकोले पनि होला। दुवैतिर हजुरबाहरूको जीवित अनुहार भने मैले देख्न पाइन। मावलीपट्टिका हजुरबाको त तस्बिर देखेकै छु, घरतिरका हजुरबाको त तस्बिर पनि अहिलेसम्म हेर्न पाइएको छैन। हो म, उनीहरूकै शुक्राणुको फसल हुँ। तर पनि के को माया? जसको काखको न्यानो स्पर्श अनुभूति गर्न नपाउँदा अनि तस्बिरसमेत हेर्न नपाउँदा! अनि त्यस्ता व्यक्तिहरूप्रति मनैदेखि श्रद्धा पनि जाग्दो रहेनछ। 

    मुमाको अनुहार मेरो मस्तिष्कमा कहिलेदेखि बस्यो भन्ने प्रस्ट सम्झना छ, मलाई। एक दिन अचानक मेरा बाबा र ममी आमा सिकिस्त हुनु भयो रे भनेर भारतको जमलपुरतिर लागे। वास्तवमा भन्ने हो भने मलाई त्यस बेलासम्म पनि मेरी हजुरआमा कस्ती छन् भन्ने थाहा थिएन। उनले बिताएको जीवन र भोगेका कष्ट त झन् के थाहा पाउनु? पछि अरूहरू र उनकै मुखबाट धेरै सुनियो। लाग्यो, सङ्घर्षकी मूर्ती रहिछन्, मेरी हजुरआमा।

    मारवाडी समुदायकै गुरुआमा भएपछि उनलाई उपहारको कहिल्यै कमी भएन। मिठाई–चकलेट पनि प्रशस्त मात्रामा घर भित्रिन्थ्यो। सबैलाई बाँड्थिन्, अलिकति दराजमा लुकाउँथिन्। आवश्यकता पनि थियो, लुकाउनू। हामीलाई केही काम लगाउनु पर्‍यो भने त्यही लुकाएका चकलेट मिठाईको सहारा लिन्थिन्। म भने फटाहा! कहाँ–कहाँ लुकाएको छ सबै पत्ता लगाउँथे।

    छापाखाने पाण्डेको कान्छी छोरी भएर जन्मिएपछि चानचुने केटासँग उनको बिहे हुने कुरै थिएन। उनका बाबुले पनि सम्पन्न अलि पढेको दरबारनजिकको जागिरे ठिटो खोजेर बिहे गरिदिएका रहेछन्। डाँठबाट झरेपछि सुन्दर फूललाई कुरूप बन्न कति नै समय लाग्छ र? त्यस्तै भएछ, दरबारिया सङ्गतले रक्सी–जुवामा फसेका मेरा बाजेले सारा सम्पत्ति कुलतमा नै सकाएका रहेछन्। म नै ठुलो भन्ने घमन्ड अनि रक्सी र गाँजाको नशामा कति जग्गा–जमिन त अरूलाई बक्सिस दिएका रहेछन्। आफैँ नाङ्गो बनेर। अनि नाबालक चार सन्तानकी आमा, मेरी हजुरआमाको काँधमा ती सबैको पालनपोषणको भार बोकाएर भागेछन्, बिरक्तिएको बहानामा। पशुपतिनाथमा जोगी झैँ बस्न थालेका रहेछन्, मेरा निकम्मा हजुरबा। त्यस्ता फटाहा! त्यहाँ पनि उनको घमन्डमा कहिल्यै कमी आएन रे। सुनेको, दरबारबाट कोसेली लिन आउन बोलावट भयो भने सन्देश ल्याउनेलाई नै कुटुँला झैँ गर्थे रे। ‘मलाई आइज भन्ने? पठाउनु पर्छ!’ दम्भले भरिएको स्वरले भन्थे रे। बाँस झैँ खोक्रो भए पनि अग्राख झैँ जिन्दगी बिताउन सक्नु पनि बहादुरी कै कुरो हो। नकचरोपनलाई लुकाउन आफैँलाई दम्भशाली देखाउन सक्नु पनि बहादुरी नै हो।

    त्यस्ता पतिसँग बिरक्तिएर केही समय माइतीमा पनि बसिछन्, मुमा। छोरी–चेलीका लागि जीवन गुजार्न माइती कदापि सही थलो हुन सक्दैन। अझ मेरी हजुरआमाको समयमा। मुमा पनि नेपथ्यमा सुनिने आफू र सन्तानविरुद्धका गालीलाई सहन नसकेर सबै सन्तानसहित माइती छाड्ने निर्णयमा पुगिछन्। उनले कमलपोखरीतिरको घर र जग्गा भने पतिले जुवामा हारेका छैनन् भन्ने भ्रम पालेकी रहिछन्। त्यही गइछन्। चार सन्तानमा जेठी फुपूपछि मेरा बाबा अनि फेरि फुपू र अनि मात्र कान्छा काका थिए। अहिले त जेठी फुपूबाहेक सबै भगवानको घरतिर हिँडिसके। जवानीमै आफूमाथि बजारिएको दुखको चट्याङलाई उनले हाँसेर छातीमा थापेको हुनुपर्छ र पो, त्यत्रा सन्तान एक्लै हुर्काउने आँटसहित माइती छाडिन्।

    त्यो बेलासम्म मेरा बाबा केही बुझ्ने भइसकेका रहेछन्। आमाले सानो छोरालाई ढाडमा बाँधेर त्यही जग्गामा रोपाइँ गरेर आफूहरूलाई खुवाएको उनले धेरै पटक चित्त दुखाउँदै सुनाएका थिए। आफ्नी आमाको सहनशीलताको प्रशंसा गर्न कहिल्यै थाक्दैन थिए। अनि भन्थे, दुखलाई आँसुले होइन, हाँसोले पुर्न जसले जान्यो, उसले जिउन पनि जान्यो। त्यस बेला आफूले अति माया गर्थें भन्ने मरिसकेका पिताविरुद्ध पनि उनको क्रोध रापिएर आउँथ्यो। त्यो बेला क्रोधले उम्लिएका उनका रगत गालाबाट झर्ला झैँ हुन्थ्यो। अनि केही शान्त हुँदै उनी ‘मदर इन्डिया’ नामक भारतीय चलचित्रकी नायिका नरगिससँग आफ्नो आमाको तुलना गर्थे, आमालाई नै धर्तीभन्दा विशाल मान्थे। 

    मुमाले पछि मात्र थाहा पाइछन्, त्यो घरजग्गा पनि जुवामा सखाप भइसकेको रहेछ भन्ने। त्यसैले सन्तान अलि ठुला भएपछि फेरि माइतीको शरणमा जानु उनको बाध्यता बन्यो। मेरा बाबा केही बुझ्ने भएकाले पढ्ने बहानामा बनारस लागेछन्। शायद आमाको काँधको बोझ कम गरिदिन पनि होला।

    मुमा गोपालबाबाकी अनन्यभक्त। उनलाई बनारस र जमलपुरका आश्रममा खान बस्न केही दुख नहुने रहेछ। इज्जत पनि त्यति नै गर्दा रहेछन्। त्यही सम्पर्कको फाइदा उठाउँदै बाबा पनि त्यता लागेका हुन्। तर, धेरै बस्न सकेनछन्। उनले काठमाडौं फर्केर काम र पढाइलाई निरन्तरता दिए। छोरीहरूको बिहेवारीपछि त मेरी मुमा गोपालबाबाकी ‘फुलटाइम’ भक्त बनिछन्। समाज अहिले जस्तो अवश्य थिएन, जहाँ नारीले हरेक कुरामा छुट पाउने। शायद धर्मकर्म गर्न भने रोकटोक रहेनछ।

    बाबाले घर जोडेपछि मात्र मुमाको फेरि आफ्नै गृहमा गृहप्रवेश भयो। तर, उनी त्यसबेलासम्म गोपालबाबाको भक्तिमा यति गहिरिइसकेकी रहिछन् कि, त्यसलाई त्याग्न असम्भव नै थियो। हुन पनि जवानी मै पतिबाट त्यति धेरै मानसिक कष्ट व्यहोर्दा पनि कसरी हाँसेर बस्दिहुन्? मेरी मुमा। सांसरिक र आध्यात्मिक धर्मबाट भागेको भए। जति कष्ट पाए पनि मैले उनको हाँसोलाई सधैँ अर्थपूर्ण देखेँ। उनको जस्तो मिठो हाँसो त मैले जीवनमा अरू कसैको देखेको पनि थिइन्। हरेक खुसी र चिन्तालाई हाँसेरै निलिदिन सक्ने। त्यसो बन्न पनि विशाल मन चाहिँदो हो।

    हुन त आमासँगै पिताको पनि गृहप्रवेश गराएका थिए रे बाबाले। तर, सम्भवतः ती दिनहरूमा पति–पत्नीको सम्बन्ध रसिलो भने हुन सकेन कि भन्ने मेरो बुझाइ छ। छोराछोरी हुर्केपछि त मुमालाई कहिल्यै फुर्सद नहुने रे। त्यसमाथि जवानी मै जिउँदै भए पनि विधवा झैँ बाँच्न बाध्य बनाउने लोग्नेको माया त झन् कसरी लाग्दो हो? 

    काठमाडौंमा हुँदा काठमाडौंमै लगाइने भजन किर्तनमा भाग लिन अनि बनारस वा जवलपुरमा हुँदा गोपालबाबाको आश्रममा सेवा गर्नमै उनका दिन जाने रहेछन्। हामी बुझ्ने भएपछि उनी त्यतातिर गएको भने देखेनौँ। काठमाडौंमा रहँदा उनलाई यतिसम्म हतारो हुन्थ्यो रे कि तीन वटा तरकारी नभई भात नखाने मेरा बाबालाई समेत तह लगाएकी रहिछन्। सुरुमा आलुको झोल बनाउने रे अनि त्यहीबाट आलु झिकेर अलिकति भुटिदिने अनि बाँकीको अचार बनाइदिने रे। उनी जहिलेसम्म बाँचिन्, त्यस्तै हतारोमा बाँचिन्। पछिपछि त काठमाडौंका मारवाडी समुदायमा हारमोनियम सिकाउने गुरुसमेत बनेकी रहिछन्, मुमा। आफ्ना आवश्यकता पुरा गर्न उनले कहिल्यै अरूलाई गुहार्नु परेन, हात पसार्नु परेन। चाहे त्यो आफैँले जन्माएको छोरा नै किन नहोस्।

    भाग्य कै खेल न हो। बादललाई के थाहा कहाँ बर्सिनु पर्छ भन्ने, कञ्चन नदीमा कि हिलोमा? अनि फूललाई के थाहा टिपिएर कहाँ सजिनु पर्छ भन्ने, भगवानको कि नगरबधुको शिरमा? जीवनको बहाव पनि त्यस्तै हुँदो रहेछ।

    मेरा बाबा–ममी जवलपुर जाँदा इन्तु न चिन्तु रहेकी मुमा केही तंग्रिएपछि हवाइजहाजबाट काठमाडौं आइन्। हामी लिन गएका थियौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। मेरा बाबा–ममीको आमालाई निको बनाएर केही दिन घुमघाम गरेर फर्कने योजना बनेछ। अनि मुमा एक्लै आइन्। हो, मेरो मस्तिष्कले मेरी हजुरआमाको पहिलो चित्र त्यही विमानस्थलमा खिचियो। फिक्का पहेँलो सारीमा सजिएकी, सानो पारेर कपाल काटेकी गोरी चिटिक्क सानै कदकी, मुमा।

    मारवाडी समुदायकै गुरुआमा भएपछि उनलाई उपहारको कहिल्यै कमी भएन। मिठाई–चकलेट पनि प्रशस्त मात्रामा घर भित्रिन्थ्यो। सबैलाई बाँड्थिन्, अलिकति दराजमा लुकाउँथिन्। आवश्यकता पनि थियो, लुकाउनू। हामीलाई केही काम लगाउनु पर्‍यो भने त्यही लुकाएका चकलेट मिठाईको सहारा लिन्थिन्। म भने फटाहा! कहाँ–कहाँ लुकाएको छ सबै पत्ता लगाउँथे। चोरेर भने खान्नथेँ। तर, माग्दाखेरि सधैँ ‘छैन जा’ भन्ने मुमाको स्वभावले हायल–कायल भएरै मैले उनका गोप्य ठाउँ पत्ता लगाउनु पर्‍यो। ‘छैन जा’ भन्दा पनि उनको ओठमा मिठो मुस्कान आउँथ्यो। झुटमा पनि मिठो मुस्कान छर्न जानेकी, मुमा। म पनि के कम, उ त्यहाँ छ भनी दिन्थेँ, अनि नदिई सुक्ख?

    हजुरआमालाई त सबै नाति–नातिना एकैजस्ता लाग्दो हो नि। तर, म चाहन्थेँ उनले मलाई बढी माया गरुन्। अरूलाई पनि त्यस्तै लाग्दो होला। माया अर्थात्, मिठाई र चकलेट बढी पाइयोस्। पाइयो पनि होला, एकाघरमा बस्ने फाइदा पनि थियो नै।

    हामीले देख्दा पनि मुमाको दैनिक कार्यतालिका निकै व्यस्त हुन्थ्यो। बिहानै घरबाट निस्कने अनि बेलुकी मात्र फर्कने। भात अरूले छोएको नखाने, तरकारी भने चल्थ्यो। माछा–मासु अन्तिम पटक कहिले खाएकी थिएँ भन्ने उनलाई पनि पत्तो रहेनछ। घर परिवार र मारवाडी समुदायमा ‘सानदिदी’ की नामले चिनिन्थिन्। काठमाडौंका प्रायजसो मारवाडी समुदायले लगाउने पूजामा उनको उपस्थिति अनिवार्य झैँ हुन्थ्यो। उनीसँग केही पटक म पनि त्यस्ता पूजामा गएको छु। टिका लगाएर दक्षिणा दिन्थे नै साथै मिष्ठान्न भोजन पनि। कसैले बाल भोजन गराउन चाह्यो भने म पहिलो प्राथमिकता पर्थ्ये। ठुलै हुँदै जाँदा त्यसरी जान लाज लाग्न थाल्यो। जान छाडिदिएँ। तर पनि, कहिलेकाहीँ मुमा कर गर्थिन्। मोटरसाइकलमा पुर्‍याइदिन्छ भन्ने लोभले पनि उनी मलाई पूजामा जान भन्थिन्। उनको अर्थपूर्ण हाँसो म बुझ्थेँ। त्यसैले कहिलेकाहीँ गन्तव्यसम्म भने छाडि दिन्थे अनि पेट्रोल खर्च उठाउँथे, मुमाबाटै।

    एक पटक घरमै चिप्लिएर हात भाँचियो, उनको। अहिले जस्तो गल्ली पिच्छे अस्पतालको सुविधा थिएन। शिक्षण अस्पताल महाराजगन्ज नै थियो, हाम्रो नजिकको अस्पताल। प्लास्टर गरियो, घर ल्याइयो। बेला–बेलामा अस्पताल लैजाने जिम्मा पनि मेरै थियो। सुरुसुरुमा त मोटर साइकलमा बस्न निकै डराइन्, उनी। पछि बानी परेछ। अनि त कतै जान लाग्दा पनि ‘छाडिदेन!’ भनिहाल्ने। त्यसमाथि बाबाले साथ दिएर 'जा न त जा' भनेपछि मुमाको आँट बढिहाल्ने अनि छाड्दै नछाड्ने।

    एक पटक मेरा काका भ्रष्टाचारको अभियोगमा जेल परे। छुट्टभिन्न भए पनि काँधमा बोकेर खेती गरेको दिन कहाँ बिर्सिएकी थिइन् होलिन् र? नौ महिना कोखमा सहलाएको अनि तातेताते गराएको पनि कहाँ बिर्सिएकी होलिन् र? कान्छा छोराको शीघ्र रिहाइका लागि पुस–माघको चिसोमा बागमतीमा उभाएर एक जना पण्डितलाई पाठ गर्न लगाएछन्। अनि छोरालाई मिठो लाग्छ भनेर चिने–जानेका कसैलाई खुसुक्क मासु पकाउन लगाएछन्। अनि आफैँ टिफिन बट्टा बोकेर जेलसम्म पनि पुगिछन्। त्यति त्यागी हृदयकी थिइन्, हाम्री मुमा। सन्तानका लागि।

    भाग्य कै खेल न हो। बादललाई के थाहा कहाँ बर्सिनु पर्छ भन्ने, कञ्चन नदीमा कि हिलोमा? अनि फूललाई के थाहा टिपिएर कहाँ सजिनु पर्छ भन्ने, भगवानको कि नगरबधुको शिरमा? जीवनको बहाव पनि त्यस्तै हुँदो रहेछ। लोग्नेले सारा सम्पत्ति सकाएर घाइते बनाएको मनका बहलाई ओठभित्रै लुकाएर राख्दै माइतीले दिएका केही जग्गाको आयस्था थापिरहेकी त्यही बुढी आमामाथि मेरा काकाले अंश मुद्दा हाले। जुन दिन मुद्दामा हाजिर हुन अदालती कागज उनको हात लाग्यो, त्यो दिन अलि भावुक बनेकी थिइन्। भन्थिन्, ‘मैले मरेर लैजाने त होइन।’ उनले नाइनास्ती नगरिकन कान्छा छोराको भाग अंश दिइन् पनि। तर, त्यो छोराप्रतिको घृणाको खाडललाई उनले मृत्युपर्यन्त पुर्न सकिनन्। यस्तो नालायक छ हाम्रो समाज। अनि कति भिन्न हुँदो रहेछ जन्म दिने कोख र जन्मिएका सन्तानको सोच। फूलको सुगन्ध र डम्पिङ साइटको दुर्गन्ध झैँ, तुलनै गर्न नमिल्ने। यस्ता कुरा सोच्दा लाग्छ, मायाले मात्र यो संसारका मनहरूलाई किन्न सकिँदैन, चाहे त्यो जन्म दिने छोराको मन नै किन नहोस्। आखिर मायावी द्रव्यभन्दा विशाल माया जन्मदिने कोख पनि नहुने रहेछ। सम्भवतः त्यस्ता दिनमा रुने आमाको मनलाई सान्त्वना दिन न आकाशले सक्दो हो न त सागरले, न तै कुनै भगवानले। हुन त कान्छी छोरीलाई गुमाउँदा पनि उनी निकै अतालिएकी थिइन्। हो पनि, आफ्नो शरीरबाट झरेको अंश आगोले खरानी बनेको सहन कसले पो सक्ला र? ज्वाइँ अनि पुत्री वियोगको मार पनि सहिन्, मुमाले।

    दमकी रोगी थिइन्, त्यसैले ‘ब्रेथलाइजर’ साथै लिएर हिँड्नु पर्थ्यो, मुमाले। आराम गर्न सल्लाह दिने चिकित्सक उनको ठुला दुस्मनमध्ये एक बन्थे। अस्पताल भनेपछि निकै घृणा गर्थिन्। ‘कति त्यही ओछ्यानमा मरेका होलान्? बिटुलो ठाउँ हो त्यो,’ भन्थिन्। एक पटक भर्ना गर्नै पर्ने अवस्थामा पुगिन्। मेरा बाबा भने आमाको गाली सुन्नुपर्ला भनेर सधैँ थुरथुर हुने। अनि घरमै बसेर आदेश दिन्थे, ‘फकाओ तिमीहरू।’ अनि जबरजस्ती भर्ना गरियो। दमकी रोगी, अस्पतालमा अक्सिजन, नेबुलाइजर र एन्टिबायोटिक्सको समिश्रणबाट निकै तंग्रिइन्। त्यसपछि कहिल्यै अस्पताल जान आनाकानी गरिनन्। त्यो बेला उनको सनातन सोचलाई विज्ञानले जित्यो। तर पनि, अस्पताल पुगेपछि मेरो फलानो दराजमा भएका सामान नचलाउनु नि! मेरो खानेकुरा नखाइदिनु नि! भन्न भुल्दिनथिन। 

    मेरी पत्नीले पुगनपुग २ वर्षजति बुढीसासुको सामिप्यता महसुस गर्न पाइन्। उसले त्यो पुगनपुग २ वर्षलाई पनि आफ्नो सम्झनामा कसिलो बनाएर राखेकी छन्। बुढीसासुको प्रंससामा उसको ओठ थाकेको मैले कहिल्यै देखिन। तर, पेटको भोक अचम्म कै हुँदो रहेछ। एक पटक घरमा मम खाने योजना बन्यो। खाना तयारै थियो, मम। तर, अचानक मुमालाई दमले सतायो। मेरा बाबा बिरामी लिएर कहिल्यै अस्पताल नजाने। ममी काठमाडौं बाहिर। हामी घरमा भएका एकाध जना मुमालाई लिएर शिक्षण अस्पताल, महाराजगंज। त्यहाँ पुगेर अक्सिजन, नेबुलाइजर र केही औषधि दिएपछि मुमा तंग्रिइन्। चिकित्सकले पनि घर लगे हुन्छ भने। उनको उपचारमा खटिँदा पेटले भोक बिर्सिएको रहेछ। चिकित्सकले लगे हुन्छ भनेपछि नराम्रोसँग फेरि जाग्यो। ल त जाउँ भनियो। मैले मुमालाई भने, ‘अब घर गए हुन्छ रे!’ मुमाले आधाभन्दा अलि बढी सकिएको सलाइनतिर देखाउँदै भनिन्, ‘पख्, एक छिन पैसा परेको छ, खेर फाल्नु हुँदैन।’ त्यति लोभी पनि थिइन्, मुमा। त्यो बेला कम रिस उठेन! हिजोआज सोच्दा भने हाँसो उठ्छ।

    त्यसको दुई दिनपछि नै उनको अवस्था निकै गम्भीर भयो। अस्पताल भर्ना गरियो। उनी अचेत नै बनेपछि माघ महिनामा इलाहाबादमा कुम्भ नुहाउन जान्छु भनेकी ममीलाई काठमाडौं आउन भनियो। हरेक दिन उनको अवस्था बिग्रन थाल्यो। नेपालगन्जमा बस्ने फुपूलाई पनि बोलाइयो। मुमाको सधैँ एउटै चाहना रह्यो, जीवनको अन्तिम श्वास आर्यघाटमा फेर्न पाए हुन्थ्यो भन्ने। उनले मान्ने शिवको पैतालामुनि उनको जीवनको अन्त्य होस् भन्ने। हामीले चिकित्सकसँग सल्लाह गर्‍यौँ र भन्यौँ, ‘यहाँहरूले सक्नेबेलासम्म गर्नुस्, अब केही लाग्दैन भन्ने लाग्यो भने एकाध घण्टा अगाडि हामीलाई भनिदिनुस्, हामी उहाँलाई पशुपति लैजान्छौँ।’ चिकित्सकले हाम्रो कुरा माने। अस्पताल भर्ना भएको ३–४ दिनपछि एकाबिहानै चिकित्सकले बोलाएर भने, ‘यहाँहरूको इच्छा हो भने घाटमा लगे हुन्छ, अब बचाउन सकिँदैन।’

    अनि, पशुपति लागियो। संयोग कस्तो जुर्‍यो भने पशुपतिको घाट अस्पतालमा माथिल्लो तल्लामा मात्र बेड खाली रहेछ। मुमालाई पशुपतिको मन्दिर घुमाएर लैजानु पर्ने भयो। मन्दिर परिसरबाटै लैजाँदा पशुपतिनाथको ढोका अगाडि पुग्नेबित्तिकै अचेत अवस्थामा नै केही घण्टामा यो लोकबाट बिदा हुन लागेकी मेरी हजुरआमाको हात अचानक जोडियो। आश्चर्य लाग्यो, अनि विश्वास पनि। यो लोकमा मृत्युबाहेक केही सत्य छैन भन्ने हो भने आस्थाभन्दा विशाल केही छैन। न आकाश छ, न त सागर। मनदेखि निस्कने विश्वासले मृत्युलाई पनि केहीबेर छक्याउँन सक्दो रहेछ।

    त्यसको केही घण्टामा मुमाले अन्तिम श्वास लिइन्। तर, उनले बाँचेको जिन्दगीका हरेक कथा–व्यथाले उनी अरू कसैले लेखेको ‘स्कीप्ट’मा होइन आफैँले लेखेको स्क्रीप्ट अनि आफैँले रङ्गाएको क्यानभासमा बाँचिन् अनि मरिन् भन्ने लाग्यो, मलाई। सम्झनाको मिठो सुगन्ध छाडेर। जुन हाम्रो घरमा मैले देखेको पहिलो मृत्यु थियो।

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]