|
जमुना र सावित्रा

विराटनगर : पाँचौ साफ च्याम्पियनसिपको पहिलो सेमीफाइनलमा श्रीलंकाविरुद्ध गोल गरेसँगै नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारीले पूर्वकप्तान जमुना गुरुङको रेकर्ड बराबरी गरेकी छन।

४–० गोल अन्तरको जीत निकाल्दै फाइनल पुगेको नेपाली टिमको लागी ३७ औँ मिनेटमा गोल गरेसँगै पूर्वकप्तान गुरुङको २५ गोलको रेकर्ड बराबरी भएको हो।

संयोगवश सावित्राले रेकर्ड बराबर जमुनाको गृह जिल्ला मोरङमा गरेकी हुन। गोल रेकर्ड बराबरी गर्न सावित्राले २६ अन्तर्राष्ट्रिय खेलमा सहभागीता जनाएकी थिइन। सन् २०१४ को साफमा भुटानविरुद्ध गोल गर्दै डेब्यू गरेकी सावित्राले साफ च्याम्पियनसिपको तीन संस्करणको नौ खेलमा १५ गोल गरेकी हुन।

सन् २०१६ को चौथो साफमा तीन खेलमा १२ गोल गर्दै सर्वाधिक गोलकर्ता चुनिइन। जसमा भुटानविरुद्ध दोहोरो ह्याट्रिकसमेत संलग्न छ। उनी नेपाली फुटबल इतिहासमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी मात्र होइन, एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने महिला तथा पुरूष खेलाडी पनि बन्न पुगेकी थिइन।

दुई संस्करणको सागको पाँच खेलमा सावित्राले दुई गोल गरेकी छन।

मलेसिया विरुद्धको मैत्रीपूर्ण खेलमा उनले एक गोल गरेकी थिइन। ओलम्पिक छनौटमा म्यानमारविरुद्ध गोल गरेकी सावित्राले हिरो महिला गोल्डकपमा भारत र इरानविरुद्ध २-२ गोल गरेकी थिइन।

विराटनगरमा जारी साफमा सावित्राले भुटान, बंगलादेश र श्रीलंकाविरुद्ध १-१ गोल गरेर जमुनाको रेकर्ड बराबरी गरेकी हुन।

यसअघि जमुनाले तीन प्रतियोगितामा सहभागीता जनाउँदै २५ गोल गरेकी थिइन। जसमा तीन ह्याट्रिक थिए। उनले ११ औँ सागमा सात गोल, पहिलो साफ च्याम्पियनसिपमा १० गोल र दोस्रो साफ च्याम्पियनसिपमा २०१२ मा आठ गोल गरेकी थिइन।

जमुनाले दोश्रो साफमा समूह चरणमा अफगानस्तानविरुद्ध खेलको १९ औँ मिनेटमा गोल गर्दै २५ अन्तर्राष्ट्रिय गोल पूरा गरेकी थिइन। सर्वाधिक गोलकर्ताको रेकर्ड भने पूर्वकप्तान अनु लामाको नाममा छ। अनुले ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन। अनु हाल नेपाली राष्ट्रिय टोलीमा छैनन।

(जमुनाको तस्वीर उनको सामाजिक संजाल फेसबुक अकाउन्टबाट लिइएको हो।)

पढ्नुहोस्ः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.