|

सोलुखुम्बु : सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षीया छोरी डोमा शेर्पालाई केही दिनअघिसम्म हाडे रोगले सतायो। डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलमा एलकेजीमा पढ्दै गरेकी आङफुरी तामाङ पनि उक्त रोगबाट पीडित भइन्।

डोमा र आङफुरीलाई मात्र होइन, सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै बालबालिका, युवायुवतीमा समेत हाडे रोगको संक्रमण देखिएको छ। यस क्षेत्रका विद्यार्थी र शिक्षकमा समेत यसको संक्रमण पाइएको माउण्ट एभरेष्ट बोर्डिङ स्कुलकी शिक्षिका सिर्जना राईले बताइन्।

सल्लेरीको वसन्त बजारसहित जिल्लाको विभिन्न क्षेत्रमा केही दिन यता हाडे रोगको प्रकोप बढेको स्वास्थ्यकर्मीको भनाइ छ। कतिपय बिरामी स्वास्थ्य चौकी जाने गरेको भए पनि प्रायः बिरामी घरेलु उपचार गराएर बस्ने गरेका छन्। 

अस्पताल पुग्ने बिरामीमध्ये अधिकांश हाडे रोग संक्रमित रहेको सल्लेरीस्थित फाप्लु अस्पतालका चिकित्सक डा. कमला सञ्जेलले बताइन्। उनका अनुसार यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले संक्रमण फैलिएको हो। 

विद्यार्थीहरुमा अलि धेरै यसको संक्रमण पाइएको छ। माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका दर्जनौँ विद्यार्थीमा हाडेको संक्रमण हुँदा पढाइ प्रभावित भएको छ। बिरामी भएपछि कम्तीमा एक साता आराम गर्नुपर्ने हुँदा पढाइ प्रभावित भएको सोही विद्यालयका शिक्षिक दलमाया राईले बताइन्।

हाडे रोगको संक्रमण हुँदा कन्चट र गालामा गलगाँठ जस्तो आउने, धेरै दुख्ने, ज्वरो आउने, खाना वा पानी निल्न गाह्रो हुने चिकित्सकको भनाइ छ। दुखाइले बिरामी रातभरि सुत्न नसक्ने डा. सञ्जेलको बताइन्।

चिकित्सकका अनुसार गर्मीका समयमा अत्यधिक चिसो पदार्थ खानाले टन्सिल भएमा, धेरै पटक नुहाउनाले शरीरको भित्री भाग चिसिएमा, श्वासप्रश्वास प्रणालीमा रोकावट आएमा र शरीरमा भिटामिन ‘सी’ को कमी भएमा हाडे रोगको संक्रमण हुने गर्दछ।

उचित औषधि उपचार र रेखदेख गरे करिब एक सातामा हाडे रोग नियन्त्रणमा आउने डा. सञ्जेलले बताइन्। यो रोगका लागेमा आराम गर्ने, प्रशस्त झोल पदार्थ पिउने, मनतातो पानीले सेक्ने वा मुख कुल्ला गर्ने, धेरै चपाउन पर्ने खानेकुरा नखाने, समस्या ठीक नभए वा बल्झिँदै गए स्वास्थ्य संस्था जानुपर्ने चिकित्सकको सुझाव छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.