|

सोलुखुम्बु : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध रहेको आशंकामा चार जना पक्राउ परेका छन्। सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका ४ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै संकास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नावय उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। विप्लवको गतिविधिमाथि निगरानी सुरु भएपछि जिल्लामा पहिलो पटक उसका कार्यकर्तालाई पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जिल्लाबासी रहेको भए पनि उनीहरूको पूर्ण विवरण भने गोप्य राखिएको छ।

प्रहरीले विप्वल नेतृत्व समूहमाथि सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। सरकारले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ। विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारको निष्कर्ष छ।

गत फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आपराधिक समूह भएको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेको थियो।

गृहमन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन ३५ दिने सूचना जारी गरेको छ। उक्त सूचना चैत १ गतेदेखि लागू हुने गरी जारी गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.