|

काठमाडौं : नेपाल यसपटक ‘बोआओ फोरम’ मा सहभागी नहुने भएको छ। चीनको हैनान प्रान्तमा हरेक वर्ष आयोजना हुने ‘बोआओ फोरम’ को सम्मेलनमा निम्ता नगरिएकाले नेपाल सहभागी नहुने भएको हो।फोरमको वार्षिक सम्मेलन आगामी मंगलबार सुरु हुँदैछ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बोआओ फोरममा नेपालको सहभागिताबारे जानकारी दिएको समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ। उनले भने, ‘फोरममा नेपालको सहभागिताबारे कुनै तयारी छैन। त्यसैले नेपालको भ्रमणको सम्भावना छैन।’ प्रधानमन्त्री सहभागी नहुने भएपछि सम्मेलनमा नेपाललाई निमन्त्रणा नगरेको अनुमान कूटनीतिज्ञहरूको छ।

गत मंसिरमा परराष्ट्र सचिवस्तरीय बैठकमा बोआओ सम्मेलन र बीआरआई फोरमको सम्मेलनमा नेपाललाई निमन्त्रणा गरिने बताइएको थियो। 

सम्मेलनमा गत वर्ष राष्ट्रपति सी चिनफिङ सहभागी भएर बेल्ट एन्ड रोड इनिसियटिभ्सको छुट्टै बहस गरेका थिए। त्यही समयमा प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमणमा रहेकाले सम्मेलनमा नेपालका तर्फबाट कार्यकारी प्रमुख सहभागी भएनन्।

बोआओ फोरममा स्थापनादेखि नेपालका तर्फबाट तत्कालीन राजा सहभागी हुँदै आएका थिए। ०६२\०६३ को परिवर्तनपछि पनि लामो समयसम्म नेपाललाई बोलाइएन। सुशील कोइराला प्रधानमन्त्री भएपछि निम्ता आउन थालेको थियो। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले सन् २०१५ मा बोआओ फोरममा सहभागिता जनाएका थिए। केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २०१६ मा र पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा २०१७ मा सम्मेलनमा सहभागी भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.