|
तस्वीरः रासस

बुटबल : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध केही व्यक्ति र संस्था अनावश्यक रूपमा लागेको आरोप लगाएका छन। प्रदेश ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको शुक्रबार उद्घाटन कार्यक्रमा उनले सरकारले गरेका राम्रा कामको बेवास्ता गरेर विरोध मात्रै भएकोमा असन्तुष्टि जनाए। 

उक्त मेडिकल कलेज सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणानुरुप निर्माण हुन लागेको हो।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढङ्गले लागेको बताए। उनले भने, 'जनता सधैँ पीडामा बस्ने होइन,अब खुशी र सुखी बन्न पाउनुपर्छ। अब त्यो आत्मविश्वास लिएर अगाडि बढ्न जरुरी छ।'

प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार गर्नुको साटो केही मिडियाले गलत प्रचार गरेको बताए। 'आँखा चिम्लेर सरकारको विरोध गरिएको छ,आँखा खोल्दा जताततै विकास र समृद्धि देखिन्छ, यसमा केही मिडिया र केही बुद्धिजीवि सहभागी छन्', उनले भने,'सिके राउतसँगको सहमतिले विखण्डनको अन्त्य भयो भनेरसमेत विरोध भयो, अरुको के कुरा।' सरकारविरुद्ध भएका गलत प्रचार र भ्रममा नपर्न उनको अनुरोध थियो। 

प्रधामन्त्री ओलीले तिलोत्तमामा निर्माण हुन लागेको मेडिकल कलेज सुविधा सम्पन्न र स्तरीय सेवा प्रदान गर्ने किसिमले स्थापना गर्न जरुरी रहेको धारणा राखे। उनले भने,'रोगको निदान र उपचारका लागि अन्धविश्वास नराखी वैज्ञानिक पद्धति अपनाउनुपर्छ।'

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद  पौडेलले जनतालाई स्तरीय  स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले ‘एक प्रदेश एक मेडिकल कलेज’को अवधारणा अगाडि सारेको बताए। उनले भने,'यो एउटा सन्तानका रुपमा तिलोत्तमाको आँगनमा निर्माण हुँदैछ,यसलाई सबैले आफ्नो सन्तानका रुपमा माया गर्नु जरुरी छ।' महासचिव पौडेलले प्रदेशमै स्वास्थ्योपचारका क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति तयार गर्न मेडिकल कलेज महत्वपूर्ण सावित हुने बताए। तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको काम समयमै पूरा गर्नतर्फ सबैले ध्यान दिनु पर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.