‘अवसर दिए गर्न सक्छौं’

|

पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुनुपूर्व विराटनगरका पत्रकारहरूसँग राखिएको छलफल र भेटघाट कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा अलिक धकाए जस्तो देखिन्थे। किनकि एन्फालाई महानगरले दिएको लिखित प्रतिबद्धता अनुसारका सडक निर्माण र रंगशाला निर्माणको काम समयमै सकिएको थिएन। त्यही भएर पनि जोखिम मोलेर विराटनगरमा गर्ने भनिएको यो प्रतियोगिता कतै रोकिने हो कि भन्ने चिन्ता शेर्पामा पनि प्रकट भएको थियो। उनले पटक पटक पत्रकारहरुलाई भनेका थिए, ‘पहिले प्रतियोगिता सम्पन्न होस् त्यसपछि सबै गफ गरौंला अहिलेलाई गेम सफल बनाउन लागौँ, कमी कमजोरी छन्।’

जसोतसो प्रतियोगिता सुरु भयो। तर, उद्घाटनको खेलपछि भूटानले आयोजकको व्यवस्थापनप्रति गरेको टिप्पणीले पुनः एन्फालाई तितो महसुस गरायो। यद्यपि समय बित्दै जाँदा र फाइनल गेम सकिँदासम्ममा सानदार ढंगले प्रदेश १ को राजधानी विराटनगरमा यो प्रतियोगिता सम्पन्न भयो।

दिउँसोको टन्टलापुर घाम। ३४ डिग्रि सेल्सियस तापक्रम। साफ फुटबलमय बनेको विराटनगरमा केहिको परवाहा थिएन। फुटबलका हरेक प्रतिस्पर्धा चलिरहँदा विगत १२ दिनदेखि प्रतियोगितास्थल बाहिर सहिद रंगशाला आसपासमा देखिएको चहलपहलले विराटनगरलाई राजधानीकै झल्को दिएको थियो।

पहिलो पटक साफ महिला फुटबल प्रतियोगिता आयोजना गर्ने अवसर जुरेको नेपालले विराटनगरलाई उपर्युक्त स्थल छान्नु यहाँको लागि गर्वको कुरा थियो। त्यसमा पनि विराटनगर महानगरपालिकाको खुलेर आतिथ्यता दिइनू र प्रदेश १ सरकारले पनि सोही हिसाबले सहयोग गर्नुले पनि विराटनगरमा हुन्छ र? भन्ने प्रश्नको बिट मारिदिएको छ भन्छन्, एन्फाका मनोनित पूर्वउपाध्यक्ष सन्तोष बानियाँ।

‘यो प्रतियोगिता सम्पन्न भएसँगै विराटनगरले फेरि पनि खेलकुद क्षेत्रको राजधानीको हैसियत कायम गरेको छ,’ विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको भनाइ छ, ‘विराटनगरमा साफ गेम गराउने पहल हुँदै गर्दा धेरैले खिसिट्युरी गरे, धेरैले लोकप्रियताका लागि गरिएको भने, तर साफ गेम सफलतापूर्व सम्पन्न भयो, विराटनगर अन्तराष्ट्रिय स्तरमा चिनिएको छ।’

साफ महिला च्याम्पियनसिपअन्तर्गत जारी फुटबल प्रतियोगितामा सार्क राष्ट्रका आठ मुलुकमध्ये ६ मुलुकका खेलाडीहरू विराटनगरमा उपस्थित भएका थिए। कतिपय मुलुकका समर्थकहरू पनि यहाँ आए। यो अवसर सिर्जना हुनुमा अखिल नेपाल फुटबल संघको पनि उत्तिकै योगदान छ। विराटनगरमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु र सार्क मुलुकभरका खेलप्रेमीहरूले प्रत्यक्ष अप्रत्यक्ष विराटनगरलाई हेर्न आउनु यहाँको लागि सकारात्मक उपलब्धि हो।

साफ महिला च्याम्पियनसिपको अवसरमा विराटनगरका धेरै होटलहरू भरिए। खेल पर्यटनले यहाँको व्यापार व्यवसायमा पनि सकारात्मक प्रभाव परेको छ। यही प्रतियोगिता हुने भएपछि नै विराटनगरको फुटबलले गति लिने विश्वास धेरैको छ। ‘विराटनगरको भौतिक विकास त छँदैछ, तर साफ प्रतियोगिता भए पनि यहाँ हामीसँग प्रशिक्षण लिइरहेका भाइबहिनीहरूमा पनि हौसला बढेको छ,’ फुटबल प्रशिक्षक प्रकाश चौधरीको भनाइ छ, ‘अबका दिनमा पनि विराटनगरमा यसखालका प्रतियोगिता गराउने पहल निरन्तर गर्नु आवश्यक छ।’

विराटनगरमा सुविधा सम्पन्न फुटबल रंगशाला बनेको छ। अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता गराउने बाटो पनि यही प्रतियोगिताले खुलाइदिएको छ। काठमाडौं मात्रै यो देशको सक्षम शहर होइन अन्य पनि छन् भन्ने यसले देखाएको अन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको भनाइ छ।

समूह चरणका कतिपय प्रतियोगितामा दर्शक नआएको विषय समाचार बने। तर, सेमिफाइनल र फाइनलका दिनसम्ममा त्यो समाचार टिक्न सकेन । किनकि फाइनलको दिन सयौँ दर्शकले टिकट लिन पाएनन् र १० हजार सिट क्षमताको प्याराफिट भरिभराउ भयो भने रंगशाला बाहिर पनि हजारौं दर्शकहरू देखिन्थे।

विराटनगरको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता भएको हो। मुलुक केन्द्रीकृत शासन प्रणालीबाट संघीय प्रणालीमा रुपान्तरण भए पनि खेलकुदमा पहिलो पटक संघीयताको अभ्यास भएको बताउनेहरू पनि कम छैनन्। प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई खेलकुदको हब बनाउने अभियान यही प्रतियोगिताबाट सुरु भएको बताउँछन्।

हुन त राजधानीले गर्न नसकेको रात्रिकालीन फुटबल प्रतियोगिता सानदार ढंगले विराटनगरमा गत वर्षमात्रै सम्पन्न भएको कुरा सबैलाई थाहै छ। विराट गोल्डकप रात्रिकालीन हुँदा दिनदैनिक हजारौँ दर्शकको माया र साथ पाएको त्यसबेलाको प्रतियोगिता अनुशासित र भव्य भएको थियो। त्यही कुरालाई मध्यनजर गर्दै प्रदेश सरकार महानगरपालिकाले स्थायी फ्लड लाइट जडानका लागि बजेट छुट्याएको छ। छुट्याएको बजेटको सही सदुपयोग गर्दै विराटनगरको शहीद रंगशालालाई अझै सुविधासम्पन्न बनाउन अर्का फुटबल प्रशिक्षक विमल पोखरेलको माग छ। विराटनगरको सहिद रंगशालामै अन्तरप्रदेशस्तरीय फुटबल प्रतियोगिता गराउने तयारी सुरु हुँदा फ्लड लाइट जडानको काम पनि सुरु हुने एन्फाले विश्वास लिएको छ।

साफ महिला च्याम्पियनसिपका केही फोटोहरू:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.