|

  • महेश्वर अधिकारी

बारा : मानव र हात्तीको आक्रमणबाट बीचको अन्तरद्वन्द्ब कम गर्ने प्राविधिक पहलको लागि नीजगढ नगरपालिकाको हात्ती प्रभावित क्षेत्र रतनपुरमा प्रारम्भिक हात्ती पूर्वसूचनाका लागि स्मार्ट प्रविधिको जडान गरिएको छ।

नेपाल जैविक विविधता अनुसन्धान तथा संरक्षण केन्द्रले नेपालमा पहिलो पटक पर्सा राष्ट्रिय निकुन्जसँग जोडिएको बस्ती नीजगढ ११ रतनपुरमा प्रविधि जडान गरेको हो। भारतको बन्नारी अम्मान इन्स्टिच्युट अफ टेक्नोलोजी सत्यमंगलमले तयार पारेको प्रविधि केन्द्रले पर्सा राष्ट्रिय निकुन्जको सहकार्यमा जडान गरेको केन्द्रका रोशन ठाकुरले बताए।

के काम गर्छ प्रविधिले 

हात्ती प्रवेश गर्ने नाकामा जडान गरिएको प्रविधिले ८ फिट अग्लो जनावर प्रवेश गरेको सूचना संकलन गरी म्यासेज र साइरनमार्फत जानकारी दिन्छ। ‘नाकामा जडित प्रविधिले साँझ ६ बजेबाट मसिनो लाइट मुख्य प्रविधिमा फालिरहेको हुन्छ’, ठाकुरले भने, ‘६ सेकेण्डसम्म त्यो लाइटमा अवरोध आउने बित्तिकै सूचना जारी छ।’ प्रविधि जडानसँगै सो क्षेत्रबाट हात्ती प्रवेश गरेमा मोबाइल फोनमा सूचना आउँछ।

वडा अध्यक्ष प्रेमबहादुर रुम्बालगायत १० जनाको मोबाइलमा ‘इलाफेन्ट डिटेक्टेड’ लेखिएका म्यासेज जानेछ। त्यस्तैगरी, चेतावनीसहित साइरनसमेत बज्ने छ। मोबाइको म्यासेज र साइरन बजेपछि स्थानीयहरू सावधान हुने र हात्तीबाट हुने क्षति नियन्त्रण गर्नमा मद्दत पुग्ने छ। केन्द्रले नगरपालिकाका जनप्रतिनिधि र स्थानीयलाई प्रविधि प्रयोगबारे जानकारी गराएको निजगढ नगरपालिकाका नगर प्रमुख सुरेसकुमार खनालले जानकारी दिए।

प्रविधि जडानले स्थानीय खुसी

प्रविधि जडान भएपश्चात् हात्ती आतंकबाट जोगिन मद्दत पुग्ने स्थानीय वासिन्दाले बताएका छन्। अवलोकनपश्चात नगर प्रमुख खनालले स्मार्ट प्रविधिले प्रभावकारी सफलता पाएमा नगरपालिकाले पनि नगरको हात्ती प्रभावित अन्य क्षेत्रमा प्रविधि जडान गर्न आवश्यक गृहकार्य गर्ने बताए। त्यस्तै, अवलोकनको क्रममा उपप्रमुख लीलादेवी लामिछाने खनालले स्मार्ट प्रविधिको जडानसँगै स्थानीयवासीले सुरक्षाको अनुभूति गर्न पाएको बताइन्।

फास्ट ट्रयाकमा अन्डरपास 

निजगढ-काठमाडाैं फास्ट ट्रयाक (हात्तीको रुट मार्ग) मा अन्डरपास बनाउने भएको छ। पर्सा राष्ट्रिय निकुञ्जको सुझावमा नेपाली सेनाले फास्ट ट्रयाकको निजगढको १० किलो मिटर क्षेत्रमा दुई स्थानमा अन्डरपास बनाउन लागेको हो। पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  (वार्डेन) अमिर महर्जनले डिभिजन वन कार्यालयमार्फत सेनालाई ठाउँ–ठाउँमा जनावरलाई आवत–जावत गर्न सहज हुने गरी संरचना बनाउन आग्रह गरिएको बताए।

निर्माण स्थलको स्थलगत निरीक्षण गर्दै तत्कालीन पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जनावरका लागि आवातजावत गर्न हाइब्रिज वे अथवा अन्डर रोड निर्माण गर्न सुझाव दिएका थिए। 

निकुञ्जका रैथाने हात्तीले वषौंदेखि उत्तर–पूर्वतिर ओहोर-दोहोर गर्ने करिडोर भएकाले वन्यजन्तुको सहज आउजाउका लागि  प्रयोग गर्दै आएको रुटमा फास्ट ट्रयाक बन्न लागेपछि निकुञ्जले चासो देखाएको हो। हात्तीको रुटमा पर्ने बकैया नागमणि सामुदायिक वन समूहको वन क्षेत्रमा पर्ने गरी करिव एक किलो मिटर सडक हाइब्रिज वे बनाउन आवश्यक देखिएको सझाव आफूहरूले नेपाली सेनालाई दिएको र त्यसैअनुसार काम अघि बढेको पाइएका समूहका अध्यक्ष रवीराज दंगालले जानकारी दिए।

हाइब्रिज वे निर्माणपछि सडकको मुनिबाट जनावर सहज रुपमा आवत-जावत गर्न सक्नेछन्। हात्तीले नीजगढदेखि आधाभारसम्मको पुरानो रुट प्रयोग गर्दै आएकाले अवरोध नहोस् भनेर हाइब्रिज बनाउन आवश्यक रहेको अध्यक्ष दंगालको भनाई छ।

वर्सेनि ज्यान गुमाउँछन् स्थानीय

हात्तीको मुख्य बासस्थान रहेको पर्सा राष्ट्रिय निकुन्जसँग जोडिएको उक्त क्षेत्रमा हात्तीले वर्सेनि बालीनाली खाएर घर भत्काउनुको साथै मानवीय क्षतिसमेत गर्ने गरेको छ। गत जेठमा स्थानीय इन्द्रबहादुर थिङ कीर्तिपुरेको हात्ती आक्रमणबाट ज्यान गएको थियो। घरमै सुतिरहेको अवस्थामा नीजगढ ११ रतनपुरस्थित पश्चिम टोलका बस्ती नजिकैको पर्सा राष्ट्रिय निकुञ्जले आएको हात्तीले थिङलाई आक्रमण गरेको थियो।

जंगली हात्तीको आक्रमणबाट बाराको निजगढ नगरपालिकामा १  टाँगिया बस्तीमा ५  र बाराकै जितपुर सिमरा उपममहानगरपालिका अमलेखगन्जमा ३ कोहल्वीको भल्वाइखोरमा २ जनाले ज्यान गुमाएका छन्। जंगली हात्तीले बेला–बेलामा पूर्व–पश्चिम लोकमार्गमा घण्टौँसम्म अवरुद्ध पार्ने गरेको छ। 

हात्ती त्रासले रातभर जाग्राम 

हात्तीले प्रत्येक वर्ष धान भित्र्याउने र मकै बालीमा दाना लाग्ग्ने समयमा दुःख दिँदै आएको छ। जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय रातभर जाग्राम बस्ने गर्छन्। बालीनाली जोगाउन र आक्रमणबाट जोगिन जाग्राम बस्न बाध्य भएका हुन्। 

आक्रमणबाट मृत्यु हुनेलाई १० लाख

सरकारले वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेलाई १० लाख रुपैयाँ दिने छ। हात्ती र बँदेललगायत जंगली जनावरबाट मानवीय क्षति मात्र होइन्। बर्सेनि कराेडौँ रुपैयाँ बराबरको बालीनालीसमेत क्षति हुँदै आएको छ। निकुञ्ज विस्तार भएपछि अहाराको खोजीमा वन्यजन्तु बाहिर निस्कँदा घटना हुने गरेको संरक्षण अधिकृत महर्जनले बताए। तर स्थानीयले भने आरक्षले हात्तीसहितका जंगली जनावर आरक्षबाहिर जान नदिन कुनै गतिलो उपाय नअपनाएकाले बर्सेनि मानवीय क्षति हुने गरेको आरोप लगाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.