|

सल्यान : जिल्लामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गइरहेको बेला मौरी पालन किसानले बजार अभाव भएको गुनासो गरेका छन्। आफूहरूले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसानले उत्पादन गरेको मह बेच्न बजारको खोजी गरी रहेका हुन्।

कालिमाटी गाउँपालिका २ झिँगानेका ३० भन्दा बढी घरधुरीले व्यावसायीक रूपमा उत्पादन गरेको मह बिक्री गर्ने ठाउँ नहुँदा समस्या भएको हो। साविकका वर्षहरूभन्दा यो वर्ष मह उत्पादन अत्याधिक भएकाले बजारको अभाव भएको किसान लोकेन्द्र वलीले बताए। स्थानीय बजारको मागभन्दा बढी मह उत्पादन भएपछि घरैमा भण्डार गर्न बाध्य भएको वलीले बताए। उनले भने, ‘गतवर्ष मैलै ८ क्विन्टल मह उत्पादन गरेको थिएँ। घरमा एक किलो पनि बचेको थिएन। तर यस वर्ष १४ क्विन्टल मह उत्पादन भयो। गाउँका अन्यको पनि उत्पादन बढी भएपछि बजार पाउनै समस्या भएको छ।’

बजारका लागि काठमाडाैंसम्म धाए पनि मह बिक्री गर्न नसकिएको उनको भनाई रहेको छ। १५० भन्दा बढी घारमा मौरी पाल्दै आएका वलीले आफूसँगै अझै ४ क्विन्टल मह रहेको बताए। गत वर्ष गाउँघरबाटै जति पनि मह बिक्री भए पनि यस वर्ष स्थानीय बजारको मागभन्दा धेरै उत्पादन हुँदा समस्या भएको अर्का किसान दलवीर वलीले बताए। यस वर्ष उत्पादन भएको ६ क्विन्टल मह जसोतसो गरेर बिक्री गरे पनि अझै क्विन्टल मह अझै घरमा थन्किएर बसेको उनको भनाई छ। उनले भने, ‘यो वर्ष मौरीका लागि फूल र मौषम राम्रो भएकाले होला यति धेरै मह उत्पादन भएको छ।’ 

गाउँमा अझै १० देखि २० क्विन्टलसम्म मह भण्डार भएकाले बजारको खोजी गरी दिन जयराम वलीले स्थानीय सरकार,विभिन्न संघ संस्थालाई आग्रह गरे। उनले भने, ‘व्यावसायीक मौरी पालन किसानले उत्पादन भएको मह बिक्री भएन भने किसान निरुत्साहित हुने अवस्था आउँछ। त्यस्तो अवस्था आउन नदिन गाउँपालिकाले विशेष पहल लिन म आग्रह गर्दछु।’ कालिमाटी गाउँपालिका मह उत्पादनको पकेट क्षेत्रका रूपमा चिनिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.