|

बैतडी : यो वर्षको एसइई परीक्षामा बैतडीकी एक जना छात्राले घरबाटै परीक्षा दिने भएकी छन्। दशरथचन्द नगरपालिका २ देहीमाडौंकी करिश्मा बोहराले घरबाटै परीक्षा दिने भएकी हुन्।

अपांगता भएकी करिश्मा परीक्षा दिन परीक्षा केन्द्रसम्म जान नसक्ने भएकोले घरबाटै करिश्मालाई परीक्षा दिने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। निंङगलाशैनी मावी देहीमाण्डौंकी परीक्षार्थी करिश्माको परीक्षा केन्द्र मणिलेक मावी गुरुखोला रहेको छ। शारीरिक अपांगता भई हिँडडुल गर्न नसक्ने करिश्मालाई घरमै परीक्षा दिने वातावरण मिलाइएको हो।

परीक्षाका लागि एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था गरिएको प्रमुख अवस्थीले बताए। यस्तै सुर्नया गाउँपालिकास्थित केदार मावीमा अध्ययनरत छात्रा दीपा बोहराले पनि सहयोगीमार्फत परीक्षा दिने भएकी छन्। दृष्टीविहीन र शारीरिक अपांगता भएकी दीपाको कक्षा ९ मा अध्ययनरत सुमित्रा साउँदले परीक्षा दिने भएकी छन्। रौलेश्वर मावीमा परीक्षा केन्द्र रहेकी दीपाले परीक्षामा लेख्न नसक्ने भएकोले यो व्यवस्था गरीएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ। 

९०० जनशक्ति परिचालन

माध्यमिक शिक्षा परीक्षा (एसइई) को बैतडीमा सबै तयारी पूरा भएको छ। आइतबारदेखि सुरु हुने एसइई परीक्षाका लागि बैतडीमा ९०० जनशक्ति परिचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका विद्यालय निरीक्षक शंकर दत्त जोरीले जानकारी दिए। जसमा ३७५ सुरक्षाकर्मी, २५ केन्द्राध्यक्ष, ३५ सहायक केन्द्राध्यक्ष, २९१ निरीक्षक र ११७ सहयोगी परिचालन गरिएका छन्।  साथै जिल्लामा रहेका सबै २५ परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेका छन्। 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा माध्यमिक शिक्षा उतीर्ण परीक्षा समन्वय समितिले परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रुपमा सञ्चालन गर्न अनुगमन गर्ने प्रमुख नरेन्द्र अवस्थीले बताए।  साथै सबै सबै केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण दिनुका साथै आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। यो वर्षको एसईई परीक्षामा जिल्लाबाट ५ हजार ८१८ जना विद्यार्थीले सहभागिता जनाउने भएका छन्।

जिल्लामा रहेका ११९ सामुदायिक विद्यालय र ४ वाेटा निजी विद्यालय (बोर्डिङ स्कुल ) का गरी १२३ विद्यालयले एसइई परीक्षामा सहभागिता हुन लागेका हुन्। २०७३ साल अघिका एक्जाम्टेड र प्राविधिक धारका परीक्षार्थीका लागि शाहीलेकस्थित वीरेन्द्र मावीमा केन्द्र तोकिएको छ। यसका साथै ०७३ पछिका एक्जाम्टेड र नियमित तर्फका परीक्षार्थीका लागि साविककै केन्द्रहरू तोकिएका छन्। आइतबार बिहान ८ बजेबाट सुरु हुने एसइई परीक्षाको  पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुने छ।बीचमै विद्यालय छोडेका, परीक्षा शुल्क नबुझाएका र ७५ प्रतिशत हाजिरी नपुगेका ३० जना छात्रा र २० जना छात्र गरी ५० परीक्षाले यो वर्ष एसइई परीक्षा दिन नपाउने भएका छन्।   

एसइई परीक्षाका लागी सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा २३ लाख १३ हजार २२२ रुपैयाँ बजेट छुट्याएको छ।  राष्ट्रिय परीक्षा बोर्डले सातै प्रदेशमा कार्यालय खोली परीक्षा सञ्चालन गर्ने योजना लिए पनि एसइईका लागि विगतको परीक्षा नियन्त्रण कार्यालयकै संरचनामा व्यवस्थान गरिरहेको छ। यस वर्षबाट परीक्षाको व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.