|

धनकुटा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध र सुखी बनाउने बेलामा एउटा सानो शक्तिले हत्या हिंसा मच्चाइरहेको आरोप लगाएका छन्।

धनकुटाको हिलेमा शनिबारबाट सुरु भएको नेपाल अलैँची व्यवसायी महासंघको छैटौं साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई इंगित गर्दै सरकारले वार्ताको आह्वान गरी सकेकाले त्यो शक्ति वार्तामा आउने विश्वास गरे।

उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अगाडि नै बनाउनुपर्ने कानुनी आधारहरू अहिले बनाउनु परेकाले प्रदेश सरकारलाई गति लिन समय लागिरहेको बताए। स्थानीय तह तथा केन्द्र संरचना भएको ठाउँमा रहेकाले उनीहरूको गति बढेको र प्रदेश सरकार सबै तवरले नयाँ भएकाले गति लिन समय लागेको मुख्यमन्त्री राईको भनाई थियो।

उनले फरक प्रशंगमा बोल्दै कृषिजन्य वस्तु निर्यात गर्न भारत, भुटान र बंगलादेशमा पहल थालिएको बताए। उनले प्रदेशसभाको यही अधिवेशनले केही नीति बनाएपछि प्रदेशस्तरीय अलैँची विकास बोर्ड बनाउने तयारी रहेको बताए।

आइतबारसम्म चल्ने महासंघको छैटौँ साधारण सभा तेस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ। कार्यक्रममा सहभागीले कालो सुन भनेर चिनिने अलैँचीको उत्पादन र निकासीमा भोग्दै आएका समस्या समाधानका लागि तीनै तहको सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.