|

हेटौंडा : हेटौंडा १ र २ नम्बर वडामा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा डढेलो लागेको बारे उपभोक्तालाई जानकारी गराउन साइरन जडान गरेको छ।

हेटौंडा–२ चौकीटोलको डाँडामा राखिएको साइरन मेसिनको शनिबार डिभिजन वन कार्यालय हेटौंडाका निमित्त प्रमुख राधिका शर्माले उद्घाटन गरेकी हुन्। साइरनको स्वीच कोषाध्यक्ष आनन्द ढकालको घरमा राखिएको छ। डढेलो लागेको जानकारी पाउने वित्तिकै कोषाध्यक्षको घरमा रहेको स्वीच थिच्दा सबै उपभोक्ताले सुन्ने गरी साइरन बज्ने छ। 

साइरन बजेसँगै सबै उपभोक्ताले अनिवार्य डढेलो निभाउन जानुपर्ने नियम बनाइएको समूहका अध्यक्ष कमल लामाले जानकारी दिए। समूहमा २६० जना उपभोक्ता रहेका छन्। वनमा डढेलो लागेको साइरन सुनेपछि निभाउन नजाने उपभोक्तालाई वनबाट प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित गरिने लामाले बताए। समूहले शनिबार वन डढेलो नियन्त्रणसम्बन्धी जनचेतनामूलक गोष्ठीको पनि आयोजना गरेको छ। डिभिजन वन कार्यालयका निमित्त प्रमुख राधिका शर्मा र समूहका पूर्व अध्यक्ष बुद्धिप्रसाद पौडेलले डढेलो नियन्त्रणसम्बन्धी सचेतना प्रदान गरेका थिए। गोष्ठीमा करिब ६० जना उपभोक्ताको सहभागिता थियो। 

समूहका अध्यक्ष कमल लामाको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालयकी प्रमुख शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सव डिभिजन वन कार्यालयका फरेष्टर यदुनाथ घिमिरे, सल्लाहकार विष्णुप्रसाद ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.