|

काठमाडौं : परीक्षा भन्नेबित्तिकै धेरैलाई हाउजुजी लाग्ने गर्छ। साथमा डर लाग्ने र कस्तो नतिजा आउला भन्ने चिन्ताले पनि सताउने गर्दछ। आइतबारदेखि शुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको परीक्षामा सहभागी हुने तयारीमा रहेका परीक्षार्थीलाई पनि अहिले यस्तै भएको होला! 

परीक्षार्थी परीक्षा हलमा प्रवेश गर्दैगर्दा डराउने, आत्तिने, हतोत्साहित हुने सम्भावना बढी हुन्छ। मेरो एक वर्षको मेहनतअनुसार परीक्षामा लेख्न सक्छु कि सक्दिन भन्ने डरले पनि पिरोल्ने गर्छ। तर, केन्द्राध्यक्ष, शिक्षक र सुरक्षागार्डले विद्यार्थीसँग कुराकानी गर्ने र सहज वातावरण बनाइदिने काम गर्‍यो भने विद्यार्थीको मनोबल बढ्ने शिक्षाविद् बताउँछन्।

शिक्षविद् प्राडा. विद्यानाथ कोइरालाका अनुसार परीक्षा सुरु हुनुपूर्व केन्द्राध्यक्ष, शिक्षक, सुरक्षागार्ड र विद्यार्थीले एकअर्कासँग सम्वाद र सहकार्य गरेर परीक्षामा सहज र सौहाद्र वातावरण बनाउनु पर्छ। केन्द्राध्यक्षले परीक्षा शुरु हुनुअगाडि विद्यार्थीसँग सामूहिक छलफल गर्ने र परीक्षालाई सहज रूपमा लिन आग्रह गरे भने पनि विद्यार्थीको डर कम हुने गर्दछ। अर्कोतर्फ सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले पनि आफूहरू परीक्षा केन्द्रको बाहिरी वातावरणको सुरक्षाको लागि आएको भनेर विद्यार्थीलाई जानकारी गराए उनीहरूमा सुरक्षाकर्मी प्रतिको डर हट्ने कोइरालाले बताउँछन्। विगतमा आफू केन्द्राध्यक्षका रूपमा सिन्धुपाल्चोकमा खटिँदा त्यही प्रक्रिया अबलम्बन गर्दा वातावरण सौहार्दपूर्ण बनेको अनुभव सुनाए।

शिक्षाविद् कोइरालाले प्रश्नपत्र हातमा परेपछि पहिले सबै प्रश्नहरू राम्रोसँग पढ्नु पर्ने बताए। प्रश्नपत्र पढेपछि सजिलो प्रश्नबाट उत्तरदिन शुरुवात गर्नुपर्ने उनको सुझाव छ। कति समयको परीक्षा हो, कतिवटा प्रश्नको उत्तर लेख्नु पर्नेछ र एउटा प्रश्नको लागि कति समय छुट्याउनुपर्छ भन्ने बारेमा विद्यार्थीले विशेष ध्यान दिनु पर्ने कोइरालाको सुझाव छ। उत्तरमा किताबको घोकन्ते वा हुबहुभन्दा पनि आफ्नो मौलिकता र शिक्षकको ध्यानाकर्षण गर्ने खालको नयाँ शैली समावेश गरेमा जाचँकीको ध्यान जाने र राम्रो नम्बर पाउने सम्भावना बढी हुन्छ।

विद्यार्थीको परीक्षा तयारीलाई सहज र उच्च प्रतिफलमुखी बनाउन यी टिप्सहरू प्रभावकारी हुनसक्छन्।


विद्यार्थीलाई टिप्स

  • परीक्षालाई हाउगुजीको रूपमा नलिई सहजरूपमा आत्मसाथ गरेर सकरात्मक सोचले परीक्षा दिने मनस्थिति बनाउनुपर्छ।
  • परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउँछ भन्ने दृढ विश्वास एवं उच्च मनोबलका साथ परीक्षा हलमा प्रवेश गर्नुपर्छ।
  • विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिँड्नु अगाडि राम्रोसँग चेकजाँच गर्नुपर्छ।
  • प्रवेश-पत्र तथा उत्तरपुस्तिकामा लेखिएका निर्देशन परीक्षा सुरु हुनुअगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ।
  • प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर गर्दै मैलिकता झल्किने गरी बुँदागतरूपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्छ।
  • सबै प्रश्नका उत्तर लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरलाई पुनः सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.