|

काठमाडौं : मौसममा आएको परिवर्तनले अहिले विश्वलाई नै चिन्तित बनाउँदै छ। पृथ्वीको तापमान बृद्धि तथा मौसमी घटनामा वृद्धि हुँदै जाँदा त्यसप्रतिको चासो पनि बढिरहेको छ।तिनै चिन्ता र चासोहरूलाई सम्बोधन गर्दै शनिबार विश्व मौसम दिवस मनाइएको छ।

विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सर्जुकुमार बैद्यले नेपालको सन्दर्भमा मौसम परिवर्तनको प्रभाव अझ व्यापक रहेको बताएको खबर गोरखापत्र दैनिकमा छ।

मौसममा आएका परिवर्तनका कारण हिमाल हिउँविहीन बन्दै गएका छन् भने हिम नदीको विचलन देखिएको छ। हिमताल फुटेर अचानक ठूलो बाढी आउनु, लामो समयसम्म पानी नपर्नु, बेमौसममा धेरै पानी पर्नु तथा मौसममा पानी नपर्नुजस्ता घटना बढिरहेका छन्। त्यस्तै अधिकतम तथा न्यूनतम तापक्रमको नयाँ नयाँ रेकर्ड कायम हुनुजस्ता विषम मौसमी घटनाहरूमा बृद्धि हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विषम् मौसमी घटनाहरुमा भएको वृद्धिसँगै विश्वव्यापी रुपमा नै मानिसको जनधनमा ठूलो क्षति पुर्‍याउनुका साथै यसले पर्यटन क्षेत्र तथा अर्थतन्त्रमा नै प्रतिकूल प्रभाव पारिरहेको मौसमविद्हरू बताउँछन्। विषम मौसमी घटनामा भएको बृद्धिसँगै मौसमको पूर्वानुमान कार्य दिनका दिन चुनौतीपूर्ण बन्दै गएको बैद्य बताउछन्। 

सन् १९७१ देखि यता हरेक वर्ष मौसम ०.०५६ डिग्री सेल्सियस अधिकतम र ०.००२ डिग्री सेल्सियस न्यूनतमका दरले तापक्रम फरक आइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार, त्यसैगरी, पानी पर्ने दरमा हरेक वर्ष माइनस १.३३३ मिलिमिटरका दरले तथा पूर्व मनसुनको अवस्थामा प्रतिवर्ष माइनस ०.०८१ मिलिमिटरका दरले कमी आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.