|

लोकतन्त्र निरन्तर गतिशील र परिवर्तनशील हुन्छ भन्ने बुझौँ। विश्व ब्रह्माण्ड, भौतिक जगत पनि परिवर्तनशील छ। चेतनाको जगत पनि परिवर्तनशील छ। त्यसैले लोकतन्त्र, समाजवाद, साम्यवाद, पुँजीवाद आदि अवधारणा हुन्। ती पनि इतिहासको खास कालखण्डमा विकसित हुँदै जान्छन् भन्ने मान्यता हामी राख्दछौँ।

प्रत्येक चिज विपरीतहरूको एकत्व हो। शाश्वत सत्य दुनियाँमा केही छ भने विपरीतहरूको एकत्व नै हो। राजनीति, सिद्धान्त र विचार पनि खास कालखण्डमा विकसित हुन्छ। समाज, भौतिक जगत र मान्छेको चेतनामा पनि जसरी विकसित हुँदै जान्छ प्रसंग र विचार प्रणाली त्यसरी नै विकसित हुँदै जान्छ।

त्यसैले नयाँ शक्ति पार्टी कसैप्रति आग्रह र पूर्वाग्रह राख्दैन। इतिहासको खास खास कालखण्डमा जो जसले मुलुकलाई अगाडि बढाउन योगदान पुर्‍याउनु भयो, ती सबैलाई सम्मान गर्दछ। प्रजा परिषद्, नेपाली कांग्रेस, एमाले, माओवादी, मधेसवादी, थरूहठ, जनजाति लगायतका आन्दोलनहरूलाई सम्मान गर्दछ।

अबको परिस्थिति के हुन सक्छ भन्ने विषयमा बहस आवश्यक छ।

एक्काइसौँ शताब्दीको सुरुवात सगँसगैँ भौतिक जगत, आर्थिक जगत, सामाजिक जगतले ठूलो फड्को हानेको छ। त्यसैलाई समात्दै हामीले सबैलाई समेटेर बहस, छलफल गर्दै पछिल्लो ज्ञान विज्ञानसँग सँगसँगै कसरी जान सकिन्छ? विश्वलाई कसरी लान सकिन्छ? मानवजातीलाई के योगदान दिन सकिन्छ? भन्ने विषयमा बहस आवश्यक छ।

अहिले देशको विद्यमान परिस्थितिमा राजनीतिक दलको भूमिका के त? भन्ने प्रश्न उठेको छ।

हामीले सरकारको एक वर्षको समीक्षा पनि गर्‍यौँ। हामीले अनुभव गरेको, देखेको र सरकार स्वयंले स्वीकार गरेको ६ महिनाको बजेटको कार्यान्वयनको समीक्षा गर्दा बजेटमा राखेको लक्ष्य पूरा हुन सकेन। राजश्वको लक्ष्य पूरा गर्न सकेन। व्यापार घाटा बढेर गयो। लगानी घट्यो।

एक वर्ष पहिले मात्र  संविधानसभाबाट बनेको संविधानअनुसार निर्वाचन भयो। त्यसमा लामो समयपछि नेपाल कम्युनिस्ट पार्टीले जित्यो। बहुमतको सरकार गठन भयो। सरकारबाट जनताले ठूलो अपेक्षा गरेका थिए। यो सरकारको 'साइज' ठूलो भए पनि विचार पुरानै छ। सोच र शैली पुरानै छ। त्यसैले यसले केही गर्न सक्दैन भन्ने हाम्रो बुझाइ थियो, तर आम जनताले त्यो बुझेका थिएनन्। जनताले बुझ्ने सरकारको व्यवहारबाट हो। तर, केही मान्छेले सैद्धान्तिक रूपमा बुझेका थिए। आम जनताले व्यवहारबाट बुझ्छन्।

नेकपा सरकारको एक वर्षको गतिविधिलाई आम जनताले के बुझिराखेका छन् भने सरकारको कामबाट जनता सन्तुष्ट देखिँदैनन्। भर्खर मात्र नेपालको पूर्वदेखि पश्चिमसम्म एउटा यात्रा गर्‍यौँ। सबै पक्षका साथीलाई हामीले भेट्यौँ। बढी  त सरकारमै रहेका कम्युनिस्ट पार्टीका र प्रतिपक्षी नेपाली कांग्रेसका साथीहरूसँग हाम्रो भेटघाट भयो। जनताले जुन अपेक्षा गरेका थिए- तीव्र गतिको आर्थिक, सामाजिक परिवर्तन, त्यो जनताले अनुभूति गरेका छैनन्।

यो वास्तविकताबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस के भन्छ? नेकपा भित्रकै नेताहरू के भन्नुहुन्छ? अन्य पार्टीका नेताहरूले के बुझ्नुभएको छ? यो विषयमा विचार र विमर्श गरौँ भनेर बहसको आयोजना गरिएको हो।

हामीले सरकारको एक वर्षको समीक्षा पनि गर्‍यौँ। हामीले अनुभव गरेको, देखेको र सरकार स्वयंले स्वीकार गरेको ६ महिनाको बजेटको कार्यान्वयनको समीक्षा गर्दा बजेटमा राखेको लक्ष्य पूरा हुन सकेन। राजश्वको लक्ष्य पूरा गर्न सकेन। व्यापार घाटा बढेर गयो। लगानी घट्यो। जुन कुरा स्वयं सरकारले स्वीकार गरिरहेको छ।

यी सबै हिसाबले हेर्दा सरकार आफैँ असफलतातर्फ उन्मुख भइरहेको अवस्था  छ। गम्भीर कुरा के भने अरू विकास, समृद्धिका कुराले समय लिन्छ तर, भ्रष्टाचार र लुटतन्त्र रोक्न समय लाग्दैन। एउटा सदासयता, सुशासन हुने बित्तिकै राजनीतिक नेतृत्वमा इमानदारिता हुन त सकिन्छ। यी विषयमा पनि सरकार असफल भयो।  हिजो पनि भ्रष्टाचार भइरहेको थियो। झन् त्योभन्दा ठूला भ्रष्टाचार भए। एनसेल प्रकरण पहिलेदेखि नै भए पनि यो यसमा सरकार मौन बस्यो। अहिले वाइडबडी प्रकरण लगायतका विभिन्न प्रकरण भए, यसले झन् लुटतन्त्र संस्थागत गर्‍यो।

शिक्षा र स्वास्थ्य क्षेत्रमा जस्तो खाले ब्रह्मलुट भइराखेको छ त्यसको विरुद्धमा सरकारले केही गर्न सकेन। यदि सरकारसँग इच्छाशक्ति हुन्थ्यो भने देशमा सुशासन, सदाचार कायम गर्न प्रतिबद्ध हुन सक्थ्यो। यो पक्षमा पनि सरकारले केही गरेन। यसअर्थमा यो सरकारबाट धेरै अपेक्षा गर्नुको कुनै अर्थ छैन।

नेपालको जटिल भूराजनीति छ। पछिल्लोक्रममा पश्चिमा शक्ति, खास गरी अमेरिका एकदमै सक्रिय भइरहेको छ। त्यसले परिस्थिति चाहिँ हामीले सोचे भन्दा तीव्र गतिमा परिवर्तन तिर लगेको छ। हालसालै अमेरिकी विदेशमन्त्रीले प्रधानमन्त्रीलाई पत्र पठाउनु भयो। जसले एकदमै गम्भीर संकेत दिइरहेको छ। अमेरिकाले नेपालबारेको चासो यो भन्दा अघि दुई पटक राखेको थियो। एक पटकमा खम्पा विद्रोह र दोस्रो पटकमा माओवादी युद्ध उत्कर्षमा पुगेको अवस्थामा। तेस्रो पटक अहिले अमेरिकाले नेपालमा चासो राखेको छ। यसले के देखाउँछ भने नेपाल त्रिपक्षीय द्वन्द्वमा पर्दै छ। यसलाई सही ढङ्गले कसरी समाधान गर्न सक्छौँ भन्ने विषयमा हामीले सोच्ने बेला आएको छ।

('देशको विद्यमान परिस्थितिमा राजनीतिक दलको भूमिका' सम्बन्धी कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको मन्तव्यको सम्पादित अंश।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.