|

दाङ : बंगलाचुली गाउँपालिका दाङका १० स्थानीय तहमध्ये एक हो। जुन अलि विकट र पहाडी भेगमा पर्छ। पहाडी भूभागमा पर्ने यस गाउँपालिकाको स्थापना साबिकका स्युजा, काभ्रे, लोहारपानी र हाँसिपुर गरी ४ वटा गाविस समावेश गरिएको हो। यस गाउँपालिकाको क्षेत्रफल २४५.१४ वर्ग किलोमिटर रहेको छ। गाउँपालिकाको पूर्व र उत्तरमा प्युठान जिल्ला, पश्चिममा घोराही उपमहानगरपालिका, दक्षिणमा राप्ति गाउँपालिका र लमही नगरपालिका पर्दछ। यस गाउँपालिकाको जनसङ्ख्या २४,२४५ रहेको छ।

गाउँपालिकाका अध्यक्षमा तत्कालीन माओवादी केन्द्रबाट भक्तबहादुर वली निर्वाचित भएका हुन्। वलीले २०४९ सालमा साबिकको तत्कालीन संयुक्त जनमोर्चाबाट र २०५४ सालमा तत्कालीन एमालेबाट लोहारपानी गाविसको अध्यक्षमा निर्वाचित भई काम गरेका थिए। वली १२ वर्षसम्म शिक्षण पेसामा आवद्ध थिए। बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीसँग थाहाकर्मी विकास डाँगीले गरेका कुराकानी:

करिब २ वर्षको कार्यकाल कस्तो रह्‍यो?

निर्वाचित भएर आइसकेपछि सुनौला अवसरको अनुभूति भएको छ। त्यसैगरी केही चुनौती पनि देखिएको छ। हामी निर्वाचित हुनुअघि गाउँपालिकाको बारेमा धेरै सम्भावना देखेका थियौँ। तर निर्वाचित भएको दुई वर्ष हुँदा ती सम्भावनाअनुसार काम गर्न नसकेको अनुभूति भएको छ।

चुनावका बेला गरेका प्रतिबद्धता कार्यान्वयन कति हुन सके? कति बाँकी छन्? 

पहिलो समस्या भौगोलिक विकटता नै हो। त्यसैगरी स्वास्थ्य, शिक्षा, बेरोजगारीलगायतका समस्या छन्। त्यसैले यी समस्याको समाधान गर्न हामी निर्वाचित भएदेखि लागिपरेका छौँ।

चुनावको बेला जनतासामु गरेको प्रतिबद्धताहरू क्रमिक रूपमा पूरा गर्दै छौँ। हामीले यहाँका नागरिकसँग निर्वाचनको बेला गर्न नै नसकिने प्रतिबद्धता गरेको थिएनौँ। तर कतिपय विषय हाम्रो संस्कार, संस्कृति र विकास निर्माणको गति जस्ता कुरामा हामी सयौँ वर्ष पछाडि छौँ। गाउँपालिकाका जनताका धेरै आवश्यकता छन्, तर हामीसँग स्रोत र साधनको कमी छ। त्यसले गर्दा पनि कतिपय कुराहरू पुरा गर्न सकेका छैनौँ। त्यसैगरी गाउँपालिका पहाडी क्षेत्रमा पर्ने भएकाले पनि यहाँका नागरिकको चेतनास्तर, शैक्षिकस्तर, जनस्वास्थ्य र आर्थिक हिसाबले पछाडि परेका समुदायहरू भएका हुनाले उहाँहरूको इच्छा आंकाक्षाहरू धेरै छन्।त्यसलाई पुरा गर्न सहज छैन। त्यति मात्र नभई हामीलाई स्थानीय तह सञ्चालन गर्न काननुहरू बाझिएका कारणले गर्दा पनि हामीलाई काम गर्न गाह्रो भएको छ। गाउँपालिकामा राम्रो काम गर्न खोज्दा अदालतमा मुद्दासमेत खेप्नुपरेको छ। त्यसले गर्दा पनि हामीले प्रतिबद्धता पूरा गर्न सकेका छैनौँ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेकै छ त?

यहाँका नागरिकले पहिलेभन्दा सुविस्ता महसुस गरेका छन्। अझै हामीलाई केही अधिकार दिन जरुरी छ। जग्गा खरिद बिक्री गर्दा स्थानीय तहले  लालपुर्जा वितरण गर्न पाउने भन्ने संविधानमा उल्लेख छ। तर अझै धेरै अधिकार हामीले पाएका छैनौँ। त्यसैगरी नागरिकताको विषय पनि छ, जसले गर्दा नागरिकहरूले सिंहदबारको अधिकार अनुभूत गर्न बाँकी नै छ। केही पक्षमा अझै काम नभए पनि समग्रमा यहाँका नागरिकले सानोतिनो कामका लागि शहर जानुपर्ने अवस्था छैन।

दुईपटक गाविस अध्यक्ष भइसक्नुभएको छ। पहिले र अहिलेमा के फरक पाउनुभयो?

म पहिलोपटक गाविस अध्यक्ष हुने बेला ५० हजार रुपैयाँ पनि बजेट आउँदैनथ्यो। विकास निर्माणका काममा बजेट एकदमै न्यून थियो। तर अहिले गाउँपालिकाको अध्यक्ष भइसकेपछि करोडौँको बजेट आउँछ। हामीले धेरै विकास योजना अघि बढाउन सक्छौँ। अहिले पहिलेको तुलनामा अधिकार सम्पन्न पनि छौं। हिजो त्यो बेला विद्यालय स्वीकृत गर्न हामीलाई जिल्ला शिक्षा कार्यालय हुँदै मन्त्रालयसम्म धाउनुपर्ने बाध्यता थियो। आज ती काम गर्न हामीले नै अधिकार पाएका छौँ। त्यसैले पनि अहिले धेरै सजिलो भएको छ।

तपाईंहरू सुविधाभोगी भएको आरोप लागेको छ नि?

कुरा काट्नेहरूले काट्छन्। तर मलगायत गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरू आफ्नो स्वार्थमा लागेको जस्तो लाग्दैन। हामीले सरकारले दिएको सेवा-सुविधाबाहेक अरू कुनै सुविधा लिएका छैनौँ। त्यो हामीमाथि लगाएको आरोप मात्र हो। हामीलाई सधैँभरि बाहिर हिँड्न पर्छ, हामी सधैँ घरमा गई आटो, ढिँडो खाएर पुग्दैन। तर हामीलाई राज्यले दिएको थोरै सेवा-सुविधाले पनि जनमानसमा जनप्रतिनिधिहरूले तलब-सुविधा खाए भन्ने पर्न सक्छ। त्यो पर्नु पनि स्वाभाविकै हो। तर हामीले त्यो बाहेक बढी सेवा सुविधा लिएका छैनौँ। आफ्नो स्वार्थको काम गरेका छौँ जस्तो मलाई लाग्दैन। 

कर बढाउनु भएको छ कि?

हामीले गाउँपालिकामा कर बढाएका छैनौँ। जुन पहिला गाविस हुँदा नागरिकहरूले तिर्नु हुन्थ्यो। त्यसैअनुसार गरिएको छ। कर बढाएका छैनौँ। 

जुनसुकै काम गर्दा बहुमतबाट पारित हुन्छ। हाम्रो कुरा सुनिँदैन भन्ने प्रतिपक्षीको आरोप छ नि?

हाम्रो गाउँपालिकामा हामीले कुनै काम गर्दा होस् वा कानुन बनाउँदा बहुमतको आधारमा अगाडि बढ्ने गरेका छैनौँ। मेरो करिब दुई वर्षको कार्यकालमा हामीले बहुमत र अल्पमत भनेर कुनै पनि निर्णय गरेका छैनौँ। बरु हामी सर्वसम्मतिबाट अघि बढेका छौँ। 

बंगलाचुली गाउँपालिका समस्याहरू चाहिँ के के हुन्?

पहिलो समस्या भौगोलिक विकटता नै हो। त्यसैगरी स्वास्थ्य, शिक्षा, बेरोजगारीलगायतका समस्या छन्। त्यसैले यी समस्याको समाधान गर्न हामी निर्वाचित भएदेखि लागिपरेका छौँ।

तपाईंको पाँच वर्षे कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ?

हाम्रो कार्यकालको दुई वर्ष बित्न लाग्यो। अबको तीन वर्षमा हामीले स्तरीय स्वास्थ्य सेवासहितको अस्पतालको स्थापना गर्ने छौँ। त्यसैगरी शिक्षातर्फ गाउँपालिकाका प्लस २ सम्मको विद्यालय सञ्चालन गरी यहाँका विद्यार्थीलाई आफ्नै गाउँठाउँबाट उच्च शिक्षा लिने व्यवस्था गर्ने योजना बनाएको छौँ। त्यसैगरी गाउँपालिकामा धेरै बस्तीहरू छन्। ती बस्तीहरूमा खानेपानी, सडक, बिजुलीलगायत सुविधाहरू उपलब्ध गराउने र एकीकृत बस्ती विकास गर्ने हाम्रो योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.