|

जनकपुरधाम : जनकपुरधामको रामानन्द चोकमा ७ वर्षअघि भएको बमकाण्डमा पूर्वराज्यमन्त्री संजय ‘टकला’ भनिने संजयकुमार साहलाई जन्मकैद सजाय सुनाएको छ। रामानन्द चोकमा २०६९ साल वैशाख १८ गते भएको शक्तिशाली बम विष्फोट काण्डमा हत्या तथा हत्या प्रयासमा दर्ता गरिएको मुद्दाको फैसला सुनाउदै धनुषा जिल्ला अदालतले साहलाई जन्मकैदको फैसला सुनाएको हो।

हत्या मुद्दामा साहसँगै तत्कालीन भूमिगत समूहका नाइकेहरू अर्जुन सिंह भनिने मुकेश चौधरी र राजन मुक्ति भनिने रंजित झा, जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, मुकेशकुमार कर्ण र रिपेन्द्र झालाई जन्मकैद सजाय गरिएको छ। उनीहरू सबैमाथि ज्यान मार्ने उद्योगअन्तर्गत जनही १२ वर्षको सजाय कैद ठहर गरेको हो।

यसैगरी अन्य प्रतिवादी ओम प्रकाश यादवलाई हत्या अभियोगमा १० वर्ष र हत्या प्रयासमा ५ वर्ष कैद गरी १५ वर्ष सजाय गरिएको अदालतका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए। अर्का प्रतिवादी सुजितकुमार पाण्डेको हकमा भने अदालतले सफाई दिएको छ। अन्य फरार प्रतिवादी जितेन्द्रकुमार कर्ण, भूमिगत सशस्त्र समूहका नाइकेहरू राजन प्रताप प्रफुल्ल भनिने फूलकुमार भर्खेर, नागराज भनिने उमेश तिवारीको हकमा मुल्तवी गरिएको छ।

२०६९ साल बैशाख १८ गते गराइएको शक्तिशाली बमकाण्डमा परेर रन्जु झा, दीपेन्द्र दास कथबनियाँ, सुरेश उपाध्याय, विमल शरण गरी ५ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।

बमकाण्डको टेप रेकर्ड सार्वजनिक, २ वर्षपछि पक्राउ

भूमिगत समूहमा सक्रिय रहेका मुकेश चौधरीले बम विस्फोट गराउनबारे तत्कालीन सांसद संजयसँग भएको कुराकानीको टेप सार्वजनिक गरेपछि घटनामा उनको संलग्नता भएको खुलेको थियो। घटनाका नाइके भनिएका मुकेश चौधरी पक्राउ परेपछि तत्कालीन सांसद साहको समेत पोल खुलेको थियो। चौधरीलगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याका लागि रामानन्द चोकमा संजयले विस्फोट गराउन लगाएको बयान दिएका थिए। त्यस्तै ओमप्रकाश यादव पक्राउ परेको सूचना पाएलगत्तै तत्कालीन सांसद संजय कोठामै मोबाइल छाडेर काठमाडौं छोडेका थिए भने आफ्ना सहयोगीहरूमार्फत जनकपुरमा सम्पर्क गरिरहँदा संजयलाई विस्फोट भएको दुई वर्षपछि प्रहरीले दिल्लीबाट पक्राउ गरेको थियो।

उक्त घटनाको तत्कालीन प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्याल संयोजकत्वको समितिले प्रारम्भिक अनुसन्धान गरेको थियो। ‘रामा’ अप्रेशन दिइएको बम काण्डमा पछि सरुवा भएर जनकपुरधाम पुगेका प्रहरी उपरीक्षक उत्तम सुवेदीले बम विष्फोटको घटनामा संजय साहको हात रहेको प्रारम्भिक अनुसन्धान गरेको थियो।

को हुन् साह?

विस २०६४ सालको संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र दोस्राे संविधानसभाको निर्वाचनमा सद्भावना पार्टीबाट जनकपुरबाट प्रत्यक्ष चुनाव जितेका थिए। पहिलो पटक चुनाव जितेपछि विजय गच्छदार भौतिक पूर्वाधार मन्त्री हुँदा उनी भौतिक पूर्वाधार विकास राज्य मन्त्रीसमेत भएका थिए।

दोस्राे पटक चुनाव जितेको केही दिनमै उनीविरुद्ध संचार उद्यमी अरुणकुमार सिंघानियाको हत्या आरोप र जनकपुर बम काण्डको अभियुक्त बनाइएको थियो। साहलाई प्रतिवादी बनाइएपछि उनी सांसद पदमा बहाल रहेकै बेला भारतको दिल्ली फरार भएका थिए। साह पक्राउ परेपछि उनलाई तत्कालीन सभामुख शुभाषचन्द्र नेम्वाङले सभासद पदबाट निलम्बन गरेका थिए।

फोरमबाट पहिलो पटक सांसद बने पनि फोरम विभाजित हुँदा उनी विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकमा आवद्ध भए। पछि गच्छदारको पार्टी पनि छोडेर उनले आफ्नै नेतृत्वमा मधेसी क्रान्ति फोरम गठन गरेका थिए। अन्त्यमा उनी राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीमा आबद्ध भएका थिए। केन्द्रीय सहसंयोजक बनेर उनले दोस्राे संविधानसभामा धनुषा निर्वाचन क्षेत्र ३ बाट टिकट पाएका थिए।

विस २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा साहले जेलबाटै नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई समर्थन गरेका थिए भने राजेन्द्र महतोलाई हराउन भन्दै आफ्ना समर्थकहरूलाई परिचालित गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.