|

कञ्चनपुर : बालसखासँग चरा मार्न गुलेलीसहित घरबाट बिहानै हिड्ने कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका डुठ्ठा रानाले गिद्ध संरक्षणका लागि जीवनका ऊर्जाशील पलहरू खर्चिनु पर्ला भनेर सोचेका थिएनन्। उनी बालसखासँग नजिकको खेतबारी र जंगलमा पुगेर गुलेली चलाउन सानो छँदा निकै उत्सुकता देखाउँथेँ। 

चरा संरक्षणको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले गाउँका बासिन्दालाई चरा संरक्षण गरेपछि हुने फाइदाबारे जानकारी दिन गरेको कार्यक्रममा सहभागी भएपछि रानामा एकाएक परिवर्तनआएको हो। उनले भने,‘चरा मार्नु पर्ने रहेन छ। चरा त हाम्रा साथी पो रहेछन्। तरकारी बाली र अन्नबालीमा लाग्ने हानिकारक किरा फटयाङ्ग्रा खाएर जोगाउने रहेछन्। यो ज्ञान पाएपछि गुलेली घरकै कुनामा फालेर चरा संरक्षण गर्नुपर्छ भन्ने भावना आयो।’ 

पन्ध्र वर्षको उमेरमा पाएको ज्ञानले उनलाई चरा संरक्षणका लागि अरूलाई ज्ञान छर्ने अगुवा बनायो। लोपोन्मुख अवस्थामा रहेका गिद्ध संरक्षणका लागि मात्रै उनले दशक बिताएका छन्। जीवनका ४० वसन्त पार गरेका डुठ्ठालाई स्थानीयले गिद्ध संरक्षणका अभियान्ताका रूपमा चिन्ने गरेका छन्। ‘गिद्ध प्रकृतिका कुचिकारका रूपमा रहेको थाहा पाएपछि संरक्षणकै लागि एक दशक बिताएको छु’ उनले भने। 

सन् २००८ देखि राना निरन्तर रूपमा गिद्ध संरक्षणका लागि जनचेतना फैलाउने, गिद्धको अवस्थाबारे अवलोकन गरी सम्बन्धित निकायमा जानकारी दिने कार्य गर्दै आएका छन्। ‘वाइनाकुलर’ घाँटीमा झुन्डाएर उनी दैनिक गिद्ध संरक्षणकै लागि सम्भावित क्षेत्रमा घुम्ने गर्दछन्। 

गिद्धले खानका रूपमा सिनोलाई रुचाउने भएकाले दूषित वातावरणलाई स्वच्छ बनाउने भएकालेनै प्रकृतिको कुचिकार भनिएको हो। उनले भने,‘दूषित वातावरणका कारण हैजाजस्ता महामारीजन्य रोग समेत फैलिन नदिन गिद्धको ठूलो योगदान छ। गिद्धको संरक्षणमा सबैको हातेमाले हुनुपर्छ।’

गिद्धको वासस्थानका रूपमा रहेका बस्तीनजिकका सिमल,साजलगायतका ठुला रुखहरू काटिएर मासिएको उनी निकै चिन्तित छन्। गिद्धले गुँड लगाउने रुखहरू मासिन थालेका छन्। जोगाउनका लागि स्थानीय सरकार अघि सर्नुपर्छ', उनले भने, ‘त्यसो नगरिए गिद्ध त लोप हुन्छन्। मानव जाति पनि महामारीजन्य रोग झेल्नु पर्दछ।’ 

पशुको दुखाई कम गर्ने औषधि डाइक्लोफेनेकका कारण गिद्धहरू मर्ने गरेका थिए। पशुमा डाइक्लोफेनेक औषधिको प्रयोग गर्दा पशुको मृत्युपछि सिनो खाँदा गिद्धसमेत मर्ने गरेका छन्। 'एग्रोभेटहरूमा उक्त औषधिमा प्रतिबन्ध लगाउन निकै कसरत गर्नु पर्‍यो', उनले भने, ‘लामो प्रयासपछि कञ्चनपुर डाइक्लोफेनेक मुक्त भए पनि गिद्धको विशेषताबारे थोरैलाई मात्र जानकारी छ। त्यसैले गिद्धको वासस्थान सुरक्षित गर्न जनचेतनाको खाँचो छ।’

गिद्धको संख्या कञ्चनपुरमा ९५ प्रतिशतले घटेको थियो। डाइक्लोफेनेक प्रतिबन्धसँगै दशकपछि संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको छ।'गिद्ध हेर्न विरलै पाइन्थें' उनले भने, ‘हाल गिद्धको संख्यामा वृद्धि भएर पाँच सयभन्दा बढी पुगेको छ।’ गिद्धको संख्या पुरानै अवस्थामा फर्काएरै छाड्ने उनको धोको छ। 

गिद्ध तथा पशुपंक्षी संरक्षणमा काम गर्ने विसिएन, हिमाली नेचर, जेडएसएन जस्ता थुप्रै संस्थासँग जोडिएर उनले काम गरेका छन्। तर कसैले पनि संरक्षणमा खटिनका लागि आवश्यक पर्ने उपकरण क्यामरा, झोला, जुत्ता ड्रेससमेत नपाउँदा चित दुखाउनु पर्ने भएको छ' उनले भने, ‘गिद्ध जोगाउन ऊर्जावान समय खर्चेको छु। गिद्ध संरक्षणकै क्षेत्रमा काम गरेर आगामी दिन बिताउने सोच छ।’

काँधमा पुरानो झोला र दातृ संस्थाले दिएको पुराना वाइनाकुलर बोकेर पैदलै गिद्धको संरक्षणमा दशक बिते पनि अब स्थानीय सरकारबाट सहयोग पाउने उनको अपेक्षा छ। उनले भने, 'विगतमा सरकारी कार्यालयले गिद्ध संरक्षणका लागि कार्य अगाडि बढाउँदै आएका थिए। अब स्थानीय सरकारले लोपोन्मुख अवस्थामा पुगेका चरा र जनावरका लागि रकम लगानी गर्नुपर्छ।'

उनका अनुसार गिद्धले हाल यहाँका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तारापुर, कालापानी र लालझाडी मोहना संरक्षण क्षेत्रमा ६० बढी गुँड लगाएका छन्। उनले भने, ‘विश्वमा गिद्धका २३ वटा प्रजाति पाइने गरे पनि नेपालमा नौ वटा प्रजाति मात्रै पाइने गरेका छन्। जसमध्ये कञ्चनपुरमा डङ्गर, हाडफोर, सेतो र सानो खैरो जातका गिद्ध देखा परेका छन्।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.