'धर्मनिरपेक्षता भएपछि बौद्ध धर्मावलम्बी घटेका छन्'

|

राप्रपाले हिन्दु राष्ट्र स्थापनाको कमान्डर बनाएको छ वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई। पाका जनजाति नेता तामाङ अहिले हिन्दु राष्ट्रको अभियानमा जुटेका छन्। उनी आफैँ भने बौद्ध धर्म मान्छन्। तामाङको नेतृत्वको कार्यदलले आइतबारदेखि हिन्दु राष्ट्र स्थापनाका लागि हस्ताक्षर अभियान सुरु गरेको छ। यो सँगसँगै अब हिन्दु राष्ट्र स्थापनाका लागि जिल्ला जिल्लामा धर्ना, सभालगायत दबाबमूलक कार्यक्रम गर्दैछ। यो अभियान किन? लगायतका विषयमा राप्रपा नेता तामाङसँग थाहाखबरले गरेको कुराकानी।

तपाईँ किन हिन्दु राष्ट्र पुनर्स्थापनाको अभियानमा लाग्नुभएको हो?

यहाँ किन भन्ने प्रश्नै छैन। यो देशमा ८१ प्रतिशतभन्दा बढी हिन्दु छन्। ९४ प्रतिशतभन्दा बढी ओमकार परिवार छन्। सबै मिलेर बसोबास गर्दै आएका थिए। धार्मिक सहिष्णुताको उदाहरण थियो नेपाल। सबैले हिन्दु राष्ट्र स्वीकारेका थिए। यो मुलुकको पहिचान थियो। पहिचान मेटाउने काम गरियो। त्यही पहिचान फर्काउन म लागेको हो। मेरो पार्टीले मलाई जिम्मेवारी दियो। अहिले म त्यही काम गर्दै छु।

अहिले मुलुकमा धार्मिक तथा जातीय सदभाव खलबलिन थालेको छ। धर्म निरपेक्ष रहिरहे धार्मिक युद्धको खतरा देखिन थालेको छ। त्यसो भएमा जित कसैको हुने छैन। मात्र सबैको हार हुने हो। मैले ७७ जिल्लाको अनुभव तपाईँलाई सुनाएको हो। लोकतन्त्र भनेको बहुमतको कदर पनि हो। बहुसङ्ख्यक हिन्दु भएकोले हिन्दु राष्ट्र बनाउँदा बिग्रने केही छैन। फाइदा नै हुने हो। देशको पहिचान पनि स्थापित हुने हो।

धर्मको आधारमा पनि राष्ट्रको पहिचान हुन्छ र?

हुन्छ नि! किन नहुनु। संसारका कति देश क्रिश्चियन छन्। कति मुस्लिम छन्। उच्च ओहदाको शपथ गर्दा देख्नु भएकै छ नि! भुटान र कम्बोडिया बुद्धिष्ट राष्ट्र हुन्।
विश्वको करिब ६ भागको एक भाग हिन्दु छन्। विश्वभर एक अर्ब ८ करोड हिन्दु छन्। तर एउटा मात्र हिन्दु राष्ट्र नेपाल हुनु सबैका लागि गौरवको विषय हो।  नेपाल एक मात्र हिन्दु राष्ट्र बन्न सक्नु सानोतिनो पहिचान होइन। यसबाहेक गौतम बुद्ध र सगरमाथालाई हाम्रो पहिचान बनाउने हो। यति तीन कुरा हुन सके नेपाल निक्कै माथि पुग्नेछ।विश्वमा भएका हिन्दुमध्ये २ प्रतिशतलाई नेपाल ल्याउन सकेमात्र यो देश बनाउन कहीँ जानु पर्दैन। वार्षिक २ करोड जना हिन्दुलाई यहाँ टेकाउनेमा अब सबैले ध्यान दिनुपर्छ।

यो नसकिने कुरा होइन। मुस्लिमहरू आफ्नो पवित्र स्थल मक्कामदिना जान्छन्। नेपाल सरकारको सहयोगमा पनि त्यहाँ पठाइने गरिएको छ। किश्चियनहरू भ्याटिकन सिटी र जेरुसलम जान्छन्। हिन्दु राष्ट्र कायम गरेर हिन्दुलाई नेपाल ल्याउनु पर्छ। धार्मिक पर्यटन नेपालका लागि विशेष महत्वको छ। सँगसँगै गौतम बुद्धको जन्मभूमिमा बुद्धिष्टलाई भित्र्याउन पनि विशेष योजना बनाउनु पर्छ। यति गरे देशमा कायापलट हुन सक्छ।

हस्ताक्षर अभियान चलाउनु भएको छ। त्यसबाट फर्कन्छ त हिन्दु राष्ट्र?

हामीसँगको भेटमा ९० प्रतिशतभन्दा बढी नेताहरू तपाईँहरूले लिएको हिन्दु राष्ट्रको एजेन्डा ठिक हो भन्छन्। हामी त फसिहाल्यौ, निस्कन गाह्रो भइरहेको छ भन्छन्। तर तपाईँहरू सही ठाउँमा हुनुहुन्छ, उठाउनुस् यो एजेन्डा, सफल हुनुहुन्छ भन्छन्। कार्यकर्ता पनि नेताहरूले गल्ती गरे भन्छन्। जनतालाई पनि यस्तै भइरहेको छ। अहिले सबैले बुझ्दै गएका छन्।

यो बुझाइमा भर पर्ने कुरा हो। तपाईँ बुझ्नु हुन्छ हस्ताक्षरबाट हिन्दु राष्ट्र फर्कँदैन। तर मलाई लाग्छ- फर्कन्छ। यथार्थ के हो भने यो आगो सल्काएजस्तो हुर्र बल्ने पनि होइन। यो त अभियान हो। यसले क्रमिक रूपमा सार्थकता पाउँछ। यति भन्छु कि यो हिन्दु राष्ट्र फर्कन धेरै समय कुर्नु पर्दैन।

यो आस्थाको विषय हो। भावनाको कुरा हो। यो संविधान परिवर्तनशील छ। नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानबाहेकका विषयमा जहिले पनि परिवर्तन गर्न सक्ने बाटो त संविधानले नै खोलिदिएको छ। तीबाहेकका विषयमा सबैले शान्तिपूर्ण बाटोबाट अघि बढ्न पाउँछन्। त्यसका लागि दल खोल्न पाउँछन्। विचार र सिद्धान्तको आधारमा दलमाथि प्रतिबन्ध लगाउन पाइँदैन। त्यसैले हेर्दै जानुस् हामी लक्ष्यमा पुग्ने छौँ। अहिले हिन्दु राष्ट्रको एजेन्डा सबैले बुझ्न थालेका छन्।

कसले बुझेका छन्?

धेरैले बुझेका छन्। हामीसँगको भेटमा ९० प्रतिशतभन्दा बढी नेताहरू तपाईँहरूले लिएको हिन्दु राष्ट्रको एजेन्डा ठीक हो भन्छन्। हामी त फसिहाल्यौ, निस्कन गाह्रो भइरहेको छ भन्छन्। तर तपाईँहरू सही ठाउँमा हुनुहुन्छ, उठाउनुस् यो एजेन्डा, सफल हुनुहुन्छ भन्छन्। कार्यकर्ता पनि नेताहरूले गल्ती गरे भन्छन्। जनतालाई पनि यस्तै भइरहेको छ। अहिले सबैले बुझ्दै गएका छन्।

बुझ्न थालेको भए त सतहमा आउने थियो होला नि?

सतहमा आउन थालेको छ। काँग्रेसको महासमिति बैठक हेर्नु भएन। त्यहाँ के भयो। झन्डै बहुमतले हिन्दु राष्ट्रमा जानुपर्ने भनेर लबिङ गरेका थिए। पाँच वर्षअघि काँग्रेसमा यस्तो कल्पना गर्न सकिन्थ्यो? खुमबहादुजीलगायतका केही नेता हुनुहुन्थ्यो तर निकै सानो समूह थियो यसमा। अहिले हेर्नुहोस् काँग्रेसका महामन्त्री शशांक कोइराला स्वयं हिन्दु राष्ट्रको पक्षमा लाग्नुभएको छ। अबका दिनमा काँग्रेसलाई हेर्नुहोस्। अरू शक्तिहरू पनि क्रमशः हाम्रो एजेन्डामा आउँछन्।

तपाईँहरूको एजेन्डा जनताले रुचाउने भए संसद् र स्थानीय तह निर्वाचनमा भोट पनि त दिने थिए नि। तर पत्याएनन्?

हो। हामीले गत निर्वाचनमा धेरै गुमायौँ। तर यो यथार्थ भुल्नु हुँदैन कि जनता स्थिर छैनन्। २०४८ सालको जनमत २०५१ सालमा अडिएन। पहिलो संविधानसभामा माओवादी कति ठुलो भयो। दोस्रोमा के भयो? पहिलोमा एमाले समाप्त जस्तै भएको होइन? तर पछिल्लो निर्वाचनमा शक्तिशाली भयो। त्यस्तै हो। भर्खरै हामीले मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्‍यौँ। देशभर उत्साजनक सहभागिता भयो। जनता हाम्रो पक्षमा उर्लिएका छन्। जनताले अब उचित निर्णय लिनेछन्। उनीहरूले सबै कुरा बुझिसकेका छन्। जनता कुनै वाद भनेर अब बस्ने छैनन्। आगामी चुनाव हुन दिनुस्। परिणाम देखिने छ।

कस्तो हिन्दु राष्ट्र बनाउन खोज्नुभएको हो?

हामीले सर्वधर्म सापेक्ष र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र बनाउन खोजेको हो। यसमा सबै नेपालीको भलो हुने देखेको छु मैले। हामीले एउटा धर्म विशेषलाई च्याप्न खोजेको होइन। पहिचानका लागि हिन्दु राष्ट्र भए पनि सबै धर्मावलम्बीहरूलाई धार्मिक स्वतन्त्रता हुनेछ। राज्यले सबै धर्मका प्रमुख चाडपर्वहरूलाई महत्त्व दिनेछ। गैरहिन्दुका लागि आफ्नो धर्मकर्म गर्ने स्वतन्त्रतामा आँच आउने छैन। सबै धर्मलाई बराबर अधिकार हुने छ। सबैलाई प्रोत्साहन हुने छ।

तपाईँ आफैँचाहिँ बुद्ध धर्मावलम्बी भएर किन हिन्दु राष्ट्रको पक्षमा लाग्नुभएको?

म बुद्ध धर्म मान्ने मान्छे हो। २०५८ सालमा १० प्रतिशत बुद्धिष्ट थिए। २०६८ सालको जनगणनाले ९ प्रतिशत देखायो। धर्मनिरपेक्ष हुनासाथ हामी एक प्रतिशत घट्यौँ। धर्म निरपेक्षबाट के पाइयो? त्यही एक प्रतिशत गुमाएको मात्र हो। देशमा महामारी आएको होइन। जनसंखया बढेकै छ। हामी चाँहि किन घट्यौँ। यो प्रश्नको जवाफ हिन्दु राष्ट्रको विरोध गर्नेहरूले दिनुपर्छ। यसै गरी घट्दै/गुमाउँदै गयौँ भने हामी कहाँ पुग्छौँ। धर्म निरपेक्ष भएपछि हामीले के पायौँ? पाएको केही छैन। पहिले लामाहरूको देश दर्शनका कार्यक्रम हुन्थ्यो। बुद्ध दर्शन अध्ययनका लागि लामाहरू देशभरका गुम्माहरूमा जाने गरेका थिए। सरकारले सहयोग गर्थ्यो। गुम्बाहरूमा सहयोग जान्थ्यो। गुम्बा व्यवस्थापनमा सहयोग थियो। तर म सुन्दै छु अहिले त्यस्तो सहयोग जान छोडेको छ। हामीले पाएको केही छैन। बुद्ध धर्मावलम्वीले पहिले पाएका सेवा सुविधा गुमाएका छन्। जनसंख्या नै घट्दै गएको छ। भोलि हामी कहाँ पुग्छौँ, टुंगो छैन। 

अर्को विषय, अब तपाईँहरूले राजतन्त्रको मुद्दा चाहिँ छोड्नु भएको हो?

होइन। यो मुद्दा छोड्ने कुरै आउँदैन। यो त हाम्रो प्राण हो। मुलुकलाई राजासहितको प्रजातन्त्र चाहिएको छ। राजा नरहँदा मुलुकको के हविगत भयो देख्नु भएकै छ नि! नेपालमा राजसंस्था अनिवार्य छ। राष्ट्रिय एकताको प्रतीकको रूपमा राजसंस्था चाहिन्छ। यहाँ १३० जाति र १२५ भाषाभाषी छन्। १० वटा धर्म मान्ने मानिस छन्। ती सबैलाई एकताको सूत्रमा बाँध्न राजा हुनु आवश्यक छ। राजाले नै नेपालको एकीकरण र विस्तार गरेका हुन्। राजगद्दी बाजी लगाएर प्रजातन्त्र ल्याउन पनि राजाले नै योगदान दिएका हुन्। अभिभावकको रुपमा राजा चाहिएको छ। हामीले खोजेको सबैलाई मान्य हुने राजसंस्था हो। 

नेपालको भूबनोटले पनि राजसंस्थाको अपरिहार्यता ठानेको छ। दुईतिर विशाल भूभाग, जनसङ्ख्या र तीव्र आर्थिक उन्नति गरेका अर्थतन्त्र भएका मुलुक छन्। नेपालमा छिमेकी र विश्व समुदायको चासो बढ्दै गएको छ। यस्तो अवस्थामा राजनीतिक दल र त्यसका नेताहरूलाई विदेशीले आफ्नो प्रभावमा राख्ने कोसिस गर्छन्। दल तथा नेताहरू प्रभावित पनि हुन सक्छन्। यस्तो अवस्थामा नेपालले राष्ट्रिय हित प्रवर्द्धन गर्न सक्दैन। राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतामा खलल पुग्न सक्छ। यो अवस्था आउन नदिन राजसंस्था अनिवार्य छ। 

खर्चिलो राजसंस्था नेपालीलाई किन चाहियो?

राष्ट्रपति आएपछि राजसंस्थाभन्दा बढी आर्थिक भार मुलुकले ब्यहोर्नु परिरहेको छ। यो बढ्दै जाने हो। लेखाजोखा गर्नु होला। पूर्व राष्ट्रपति तथा उपराष्ट्रपतिको सुरक्षा, घर, सचिवालय तथा तलबभत्ता हेर्ने हो भने मुलुकलाई धेरै भार पर्नेछ। अर्को पक्ष शासन प्रशासनमा हस्तक्षेप हुँदैन भनेर राजा हटाइयो। तर केही समय पहिले पूर्वसभामुख ओनसरी घर्तीको अन्तर्वार्ता पढ्न पाएको थिएँ। उहाँले भन्नुभएको थियो संसद् सचिवालयमा एक जना सचिव नियुक्तिका लागि गरेको सिफारिस राष्ट्रपति पार्टीको दबाबमा एक वर्षसम्म थन्काइदिइन्। एउटा सानो कर्मचारी भर्तीमा राष्ट्रपति जस्तो संस्था राजनीतिक दलको प्रभावमा पर्छ भने अलि ठुला र महत्त्वपूर्ण विषयमा के होला?

तपाईँले लामो व्यख्या गरे पनि राप्रपाले त राजाको मुद्दा उठाउन छोडेको छ नि?

त्यस्तो होइन। राजा सहितको प्रजातन्त्र हाम्रा दस्ताबेजहरूमा छदै छ। हामीले राजाको मुद्दा छोडेको पनि होइन। नउठाएको पनि होइन। भर्खरै सकिएको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा मैले धेरै जिल्लामा बोलेको थिए। राजासहितको प्रजातन्त्रको पक्षमा साथ पाएको थिए। हाम्रो अध्यक्ष कमल थापाज्यूले पनि सबैतिर बोल्नु भएको थियो। काठमाडौँमै भएको समापनको भिडियो हेर्नु भयो भने अध्यक्षज्यूले राजसंस्थाबारे लामो र स्पष्ट अभिव्यक्ति दिनुभएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.