|

वास्तवमा जब कोही यसो घोत्लेर सोच्न थाल्छ आफ्ना बारेमा, अनि एक छिन अलमलमा पर्छ। अहिलेको बारेमा सोच्दा केही अतीतका बारेमा सोच्ला, केही दुःखका बारेमा सोच्ला, केही सुख र खुसीका बारेमा सोच्ला  र केही आफ्ना अपेक्षाका बारेमा घोत्लेला तर जब जीवन र  जगतका बारेमा सोच्दासोच्दै आफ्नै बारेमा सोच्न थाल्ला, अनि एउटा अचम्मको क्षण आउने गर्छ। कम्तीमा मलाई त जब म मेरो प्रादुर्भावका बारेमा सोच्न थाल्छु, त्यतिबेर अवश्यम्भावी मृत्युको भन्दा पनि अचम्मको रहस्य देख्न थाल्छु। सायद यही भएर कवि शिरोमणि लेखनाथ पौड्यालले आफ्नो बुद्धि विनोदको पहिलो कवितामा नै यसरी एउटा खुला प्रश्न तेर्‍स्‍याउनुभयो। 

कहाँ थियो बास अघि म को थिएँ

कसो हुँदा यो पिँजडा लिँदो भएँ

कहाँ छ जानु कुन साथ लीकन 

तँलाई मालुम छ कि कुरा भन? 

वास्तवमा यसको उत्तर प्रत्येक व्यक्तिपिच्छे फरक आउन थाल्छ किनभने आफूले जति जीवन र जगतको अध्ययन गरेको हुन्छ, त्यतिसम्ममात्र छिचोल्न सकिन्छ। हुन त सहरको भित्री भागको बाटो , धेरै मोड भएको बाटो र उस्तै उस्तै ठाउँको घरको ठेगाना पत्ता लगाउन रैथानेलाई सजिलो हुन्छ तर एकदुई पटक गएको व्यक्तिलाई ठम्म्याउन अप्ठेरो परेजस्तै हो। कसैले देखेको छैन तर अनुमान र तथ्यका आधारमा भन्नुपर्ने हुन्छ। जस्तो कि भगवानलाई पहिले त देख्न सकिन्थ्यो रे तर कलियुगमा देख्न सकिँदैन भनेर भनेपछि कसैले देखेको पनि भनेको छैन र जसजसले देखेको कुरा गरे , कसैले पनि एकैप्रकारको स्वरूपका बारेमा भन्न सकेका छैनन्। अझ हामीजस्ता सामान्य मानिसहरूलाई त के गाह्रो हुन्छ भने भगवानको अस्तित्व स्वीकार गरौँ भने देखेको छैन, अस्वीकार गरौँ भने आम जनता मन्दिर , मस्जिद र चर्चमा लाम लागेर बसेको छ। भावविह्वल भएर भगवभक्तिमा लाग्नेलाई भगवान् छैन कसरी भन्नू , अनि भगवानको अस्तित्वको पहिचान माग्नेलाई कसरी भगवान् यहीँनेर छ भनेर भन्नू। देखा भन्दा कसरी देखाउनू अनि छ भन्नेलाई कसरी छैन भनेर मुखमुखे लाग्नू। 

कस्तो हुन्छ भने —भगवानको अस्तित्व छैन भनौँ भने यो सृष्टि कसले गर्‍यो भन्दा त्यस्तो कोही पनि छैन  जसले यो सबै सृष्टिको जिम्मा लेओस् कि मैले यसरी बनाएको हो। अनि सृष्टिकर्ताको स्वरूप नदेखेपछि कुनै त्यस्तो अदृश्य शक्तिको कारणले बनेको होला भनेर त्यो अदृश्य शक्तिलाई भगवान् मान्दा पनि केही यस्ता प्रमाणहरू पनि छन् जसले सृष्टिलाई निरन्तरता दिएको देखिन्छ। अनि के हो त ईश्वर अनि उसको सत्ता? कि छैन भनाँै या छ भनौँ? 

पूर्वीय मान्यतामा धेरै तर्कहरू छन् ईश्वरीय सत्ताका पक्षमा। त्यसको खण्डन गर्न पनि कसैले सकेको छैन किनभने त्यसको खण्डन गर्न त्यस्तै तर्क चाहियो जसले त्यहाँ भनेका प्रमाणहरूलाई निरन्तररुपमा प्रमाणित भइरहेका छन्। खास गरी खगोलीय विज्ञानको पूर्वीय प्रणालीको प्रामाणिकताले ईश्वरको सत्तालाई अझ बल पुर्‍याएको छ। पश्चिमी जगतमा पनि ईश्वरीय सत्ताका पक्षमा ठुलो जमात देखिएको छ र इस्लाम जगतको ईश्वरीय सत्ताप्रतिको मोहले त झन् भक्तहरूको सङ्ख्या दिनानुदिन बढेको पाइन्छ। विश्वासको कुरा हो , आस्थाको कुरा हो। पूर्वीय साहित्यले विश्वास र आस्थाको पक्षमा यसो भन्छ—मन्त्र, तीर्थ, ब्राह्मण अर्थात् धर्म नियामक व्यक्तित्व, देवता अर्थात् आस्थाको आधार, ज्योतिषी, औषधि गर्ने व्यक्ति, गुरु। यिनीहरूप्रति जस्तो भावना राख्यो, त्यस्तै परिणाम देखिन्छ। अर्थात् विश्वासका आधारमा यिनीहरूसँगको सम्बन्ध अगाडि बढ्छ अनि यी यथार्थमा त्यस्तै प्रमाणित हुन्छन् जस्तो आस्था राखिन्छ। विश्वासका आधारमा यिनको परख हुने गर्छ।

वेदलाई अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक र प्राकृतिक ज्ञानको श्रोत मानिएको छ। यो धर्म मान्ने वा नमान्ने भन्ने भेदसँग सम्बन्धित छैन। यो जीवनसँग सम्बन्धित देखिन्छ। त्यसैले पश्चिमाहरूले वेदको उत्पत्तिलाई नै एउटा अभूतपूर्व देनको रूपमा मानेका छन्। त्यसैले वेदले त्यस्ता धेरै जटिलतम प्रश्नहरू तयार गर्दै उत्तरको पनि व्यवस्था गरेको पाइन्छ। यहाँ अथर्व वेद निहित प्रश्नोपनिषदको प्रसङ्गमा एउटा धारणा राखिने छ। 

प्रश्नोपनिषद् अथर्व वेदको पिप्पलाद शाखीय ब्राह्मण भाग अन्तर्गत पर्दछ। केही प्रश्नहरू छन् जीवनमा, जगतमा , त्यो बेलामा पनि जुन बेला यो वेदको प्रादुर्भाव भएको थियो हजारौँ वर्ष पहिले। अर्थात् जीवनक्रममा केही गुजुल्टिएका , केही स्पष्ट नभएका कुराहरूको प्रश्न र तिनको जटिलतम अवस्थाको खुकुलो उत्तर यसमा निहित छ। धर्मसिद्धि र कर्मसिद्धिका लागि शरीर आवश्यक छ। विना शरीर केही पनि हुन सक्दैन। नश्वर शरीरको अत्यधिक प्रयोगबाट मात्र यो संसारमा अमर हुन सकिन्छ। शरीरलाई यो लोकको साधनको रूपमा मात्र होइन , यो लोकभन्दा पर अर्थात्  सुदूर भविष्यको समेत चिन्ता गर्दै मोक्षको साधन पनि बनाउनु पर्छ। मोक्ष भनेको मुक्तिको अवस्था। मरेर गए पनि नाम रहन्छ, काम रहन्छ। त्यसले पार्ने परिणामलाई प्रश्न गर्न सकिन्छ , त्यो अवस्था कसरी सृजना भयो भनेर आफैँमा सोध्न सकिन्छ र यो ठिक , यो बेठीक भनेर आफैँले बनाउने स्वधर्मको पहिचान गर्न सकिन्छ भनेर केही प्रश्नहरू कुलबुल कुलबुल पानीमा फोका उठेझैँ उठ्ने गर्छन्? म को हुँ, अहिले कहाँ छु र किन यहाँ म अहिले छु , अनि म अवश्यम्भावी मृत्युपश्चात् कहाँ जानेछु? अनि मृत्यु किन अवश्यम्भावी छ? जब यी प्रश्नहरू आफैँमा अनुत्तरित हुन्छन् , अनि म को हुँ भनेर उठ्ने प्रश्नको उत्तर सधैँ अनुत्तरित हुनेछ। 

भारद्वाज मुनिका पुत्र सुकेशा, शिवि ऋषिका पुत्र सत्यकाम, गर्ग मुनिका पुत्र सौत्रायणी, अश्वलायन ऋषिका पुत्र कौशल्य, विदर्भ मुनिका पुत्र भार्गव तथा कथ्य ऋषिका पुत्र कबन्धी ( अर्थात् ती यथा यथा भारद्वाज, शिवि, गर्ग र अश्वलायनका कुलमा जन्मिएका किशोरहरू जो अभिभावकको आज्ञामा महर्षि पिप्पलादसँग व्यावहारिक शिक्षा प्राप्त गर्न पुगेका थिए)। यी ६ जना ऋषिकुमारहरूले पिप्पलाद महर्षिलाई गुरु वरण गरेर शिष्यत्व ग्रहण गरे , गुरुकुलको नियमअनुसार एकवर्षसम्म अनुशासनमा बसेपछि मात्र प्रश्न सोध्न पाइने भएपछि मात्र आफ्ना केही जिज्ञासाहरूको उत्तर माग्न थाले। ती ६ जना  ऋषिकुमार शिष्यहरू सबै असाधारण ज्ञान भएका र ज्ञान पिपासु पनि उस्तै थिए। उनीहरूका विशेषताका बारेमा प्रश्नोपनिषदमा भनिएको छ—ब्रह्मपरा ब्रह्मनिष्ठाः परं ब्रह्मान्वेषमाणाः। अर्थात् वेदप्रति आस्था भएका ब्रह्म परायण रहँदै ब्रह्मनिष्ठाका  साथ ब्राह्मी नीतिको अनुष्ठान गरेका परब्रह्मको खोजमा अनवरत निरत ती ऋषिकुमारहरू गुरुसँग केही प्रश्न सोध्नका लागि यज्ञमण्डपमा गए। तिनीहरूलाई किन पनि एक वर्षको समय दिइएको  थियो भने ती शुद्ध होउन्। महर्षि पिप्पलादले उनीहरूलाई पहिले नै भन्नुभएको थियो—भूय एवं तपस्या ब्रह्मचर्येण श्रद्धया संवत्सरं संवत्स्यथ। अर्थात् एक वर्षसम्म तपस्या, ब्रह्मचर्य तथा श्रद्धा पालन गरेपछि अन्तःस्करण शुद्ध हुनेछ , त्यसपछि जे सोध्नु छ सोध्नू ,अनि म सबै प्रश्नहरूको उत्तर आफूले जानेअनुसार  दिनेछु। यसरी गुरुकुलको नियम पालनाले शिष्यहरूमा अभिमानको अंश नरहने र सिक्ने तत्परता रहने बुझिन्थ्यो।  

१. पहिलो प्रश्न— कुतो ह वा   इमाःप्रजाः प्रजायन्त इति।

साधनामय एक वर्ष पूरा भएपछिका प्रश्नहरूमध्ये पहिलो प्रश्न कत्यका सन्तान कबन्धीले गरे। कतै उनलाई ऋषि कत्यका नाति भनिएको छ, कतै पुत्र भनिएको छ, तर उनी जे भए पनि कत्यका सन्तान थिए। प्रश्न यस्तो थियो—भगवन् १कुतो ह वा इमाः प्रजाः  प्रजायन्त इति। अर्थात् हे गुरुदेव १ यो शरीरको निर्माता को हो?( यहाँ प्रजा भनेको जो जन्म लिन्छ, त्यो प्रजा हो प्रजायन्ते इति प्रजाः।) अनि महर्षि पिप्पलादले स्पष्ट र सिधा अनि छोटो उत्तरमा भन्नुभयो—प्रजाकामो वै प्रजापतिः। अर्थात् शरीरको निर्माता त स्वयं सकल प्रजाका पति, अधिपति एवं नियामक परमात्मा स्वयं हुनुहुन्छ। परमात्माले इच्छा व्यक्त गर्नुभयो, अनि कोही न कोही निमित्त भएर यो संसारमा शरीरको उत्पत्ति भयो। उत्पत्ति मात्र होइन, शरीरको रचना,  पालन पोषण सबै परमात्माबाटै हुने गर्छ। परमात्माले नै सृष्टिमा उत्पत्ति भएको शरीरलाई रक्षा गर्न सूर्य र चन्द्र समान विविध उपयोगी वस्तुको निर्माण गर्नुभयो  । सूर्य र चन्द्रआदिबाट औषधि वनस्पतिआदिको पोषण हुन्छ अनि मनुष्यबाट तिनको सेवन गरिन्छ र पोषण सम्भव हुन्छ। त्यसैले सर्जक परमात्मा नै हुन् र पालक पनि उनै हुन्। विशेषतः दिन रात, शुक्लपक्ष, कृष्णपक्ष,उत्तरायण , दक्षिणायन तथा संवत्सर आदि कालमानकद्वारा समय विभाजन तथा निर्धारण गर्दै शरीर यात्रालाई अगाडि लैजाने काम हुन्छ। 

यसरी कबन्धीको प्रश्नमा महर्षि पिप्पलादले दिएको उत्तरबाट ऋषिकुमार सन्तुष्ट भए। 

२. दोस्रो प्रश्न— कत्यैव देवाःप्रजां विधारयन्ते कतर एतत्प्रकाशयन्ते कः पुनरेषां वरिष्ठ इतिः।

जीवनको अनुशीलनमा आएका ऋषिकुमारहरूले सायद प्रश्न सोध्न पनि आफूहरूलाई विभाजन गरेका थिए। गुरुदेवको उत्तरका आधारमा जिज्ञासा राख्ने हुनाले यी प्रश्नहरू एकअर्काका परिपूरक देखिन्छन्। 

लगत्तै त्यही प्रश्नको उत्तर सुनेर बसेका अर्का विदर्भ कुलरत्न ऋषिकुमार भार्गवले सोधे—भगवन्१कत्यैव देवाःप्रजां विधारयन्ते कतर एतत्प्रकाशयन्ते कः पुनरेषां वरिष्ठ इतिः। अर्थात् हे गुरुदेव१ कति देवताहरू यो शरीरलाई जीवित राख्नका लागि सहायक हुन्छन्? शरीरलाई कसले प्रकाशित  वा संरक्षण गर्छन् र ती देवताहरूमध्ये सर्वश्रेष्ठ कुन देवता हुन्? यसमा भार्गव ऋषिले सोधेका कुराहरू हुन् —प्राणीहरूले शरीर धारण गर्दा कुन कुन देवताहरू सक्रिय हुन्छन्?ती मध्ये कुन कुन देवता सक्रिय हुन्छन् वा दायित्वबोध गरिरहेका हुन्छन्?देखिने देवताहरू कुन कुन हुन्? र ती मध्ये कुन सर्वश्रेष्ठ हुन्? या धेरै महत्त्वपूर्ण मानिन्छन्?

यसको उत्तर पनि सटिकरुपमा नै महर्षि पिप्पलादले दिनुभयो—तस्मै स होवाचाकाशो ह वा एष देवो वायुरग्निरापः पृथिवी वाङ्मनुश्चक्षुः श्रोत्रं च। ते प्रकाश्याभिवदन्ति वयमेतद्बाणमवष्टभ्य विधारयामः। अर्थात् शरीरको निर्माणको मुख्य देवता , आधार देवता,  भनेका आकाश नै हुन्। तर आकाशबाट उत्पन्न हुने वायु,अग्नि,जल र पृथ्वी, यी चारैओटा महाभूतले पनि सँगै शरीरलाई धारण गरिरहेका हुन्छन्। यो स्थूल शरीर तिनैबाट बनेको हुन्छ। त्यसैले धारक देवतामा ती सबै पर्छन्। वाणी आदि पाँच कर्मेन्द्रिय, नेत्र तथा कान आदि ज्ञानेन्द्रिय पाँच अनि मनसहितका चार  अन्तस्करण गरी १४ देवता यसका प्रकाशक हुन्। शरीर यी सबैको सम्मिलित स्वरूप हो। यिनै देवताहरू धारक र प्रकाशक भएकाले धारक तथा प्रकाशक देवता मानिन्छन्। कुनै बेलामा यिनीहरूका बीचमा को ठुलो भन्ने विवाद परेकोले सबैभन्दा विशिष्ट त प्राण नै हो भनेर  भनिएको छ किनभने आफ्नो आफ्नो  अहङ्कार गर्दा प्राणले भनेको थियो—यो विशिष्ट शरीरलाई धारण गर्न र प्रकाश गर्नका लागि म नै मुख्य हुँ भन्दै सोदाहरण प्राणविनाको शरीरको कल्पना गर्न चुनौती दियो। त्यसपछि प्राणवायु नै सबैभन्दा विशिष्ट देवता मानिए।  

३. तेस्रो प्रश्न— कुत एष प्राणो जायते कथामायात्यस्मिन् शरीर आत्मानं वा प्रविभज्य कथं प्रतिष्ठते। 

दुईओटा प्रश्नहरूको उत्तरबाट शिष्यहरूमा सन्तुष्टि देखियो र तेस्रो प्रश्न  ऋषिकुमार कौशल्यले सोधे—भगवन्१कुत एष प्राणो जायते कथामायात्यस्मिन् शरीर आत्मानं वा प्रविभज्य कथं प्रतिष्ठते। अर्थात् हे गुरुदेव१ शरीरमा मुख्यरुपमा पदासीन प्राण अर्थात् प्राणवायुको उत्पत्ति कहाँबाट हुन्छ?उसको यो शरीरसँग कसरी सम्बन्ध रहन्छ? अनि समग्र शरीरमा कसरी विभाजित भएर प्राणवायुले काम सम्पन्न गरिरहेको हुन्छ? 

महर्षि पिप्पलादले भन्नुभयो—आत्मन एष प्राणो जायते। अर्थात् परामात्माले नै प्राणको उत्पत्ति गर्नुहुन्छ। समग्र शरीरलाई धारण गर्न सक्ने बनाउनका लागि शरीरभित्र प्राणको प्रवेश हुन्छ गर्भमै। अनि बाँचुन्जेलसम्म त्यो प्राण शरीरमा नै रहन्छ। शरीर पनि प्राण हुन्जेल मात्र सजीव रहन्छ। परमात्माले नै शरीरसँग प्राणको सम्बन्ध राखेकाले नै प्राणवायु सर्वश्रेष्ठ देवताको रूपमा रहे। 

फेरि एउटा पूरक प्रश्न कौशल्यले सोध—त्यसो भए त्यो प्राणवायु कसरी शरीरका अवयवहरूमा बाँडिएर काम गर्छ  त? महर्षिले एउटा उदाहरण दिँदै राजाले या राज्यले  विभिन्न प्रदेशमा या टाढा टाढाका प्रान्तमा आफ्ना प्रतिनिधि नियुक्त गरेर पठाएझैँ प्राणवायुले पनि प्राण , अपान , समान, व्यान र उदान नामक पञ्चप्राणलाई शरीरका महत्त्वपूर्ण भागको जिम्मा दिएर पठाएको हुन्छ र तिनले आप्mना जिम्मेवारी समालेका हुन्छन्। 

४. चौथो प्रश्न— एतस्मिन् पुरुषे कानि स्वपन्ति कान्यस्मिन् जाग्रति कतर एष देवः स्वप्नान् पश्यति कस्यैतत् सुखं भवति कस्मिन्नु सर्वे समप्रतिष्ठिता भवन्तीति।

तीनओटा प्रश्नहरूबाट शिष्यहरूका केही जिज्ञासाहरू शान्त हुँदै थिए। त्यसपछि चौथो प्रश्न ऋषिकुमार सौत्रायणीले सोधे—भगवन्१एतस्मिन् पुरुषे कानि स्वपन्ति कान्यस्मिन् जाग्रति कतर एष देवः स्वप्नान् पश्यति कस्यैतत् सुखं भवति कस्मिन्नु सर्वे समप्रतिष्ठिता भवन्तीति। अर्थात् भगवन् जब मनुष्य निद्राधीन हुन्छ, अनि कुन शक्तिले उसलाई सुषुप्तअवस्थामा सक्रिय राख्छ? त्यो बेलामा पनि कुन शक्तिले मनुष्यलाई जाग्रत बनाई राख्छ? निद्राको समयमा मनुष्यले कसरी सपना देख्छ? कोही निद्रावस्थामा रहने, कोही सपना देखिरहने, कोही जाग्रत रहिरहने, कोही स्वप्नसुख लिइरहने, कोही निद्रासुख लिइरहने के आधारमा कसले गराउँछ? गुरु यो वारेमा मलाई स्पष्ट पारिदिनु होस्।  

अनि महर्षि पिप्पलादले भन्नुभयो—प्राणाग्नय एवैतस्मिन् पुरे जाग्रति। अर्थात् निदाएको बेलामा पनि प्राणाग्निहरू जाग्रत अवस्थामा नै हुन्छन्। उहाँले अरु सम्झाउँदै भन्नुभयो—बाबु, जसरी सूर्य अस्ताउने बित्तिकै सूर्यका किरणहरू संकुचित वा शिथिल देखिन्छन् , ठीक त्यसैगरी मनुष्य निद्रावस्थामा त्यसैगरी संकुचनमा रहन्छ या उसका अवयवहरू तत्काललाई आराम गर्नका लागि शिथिल हुन्छन्। मानिस अङ्गहरू शान्त हुन्छन्। दृश्यमा ती सबै शान्त हुन्छन् तर निद्रावस्थामा ती आफैँ सक्रिय रहेका हुन्छन्। आफ्ना आफ्ना कामहरू गरिरहेका हुन्छन् आराम गर्दा पनि। त्यसैलाई निद्रा भनिएको हो। इन्द्रियहरूले आराम गरेको बेलालाई नै निद्रावस्था भनिएको हो। निद्रावस्थामा सबै इन्द्रियहरू विश्राम गरिरहेका हुन्छन्। त्यो बेलामा पनि पञ्च प्राण जाग्रत नै हुन्छ। कार्यशील हुन्छ। सास फेर्ने काम हुन्छ र प्राणवायु सक्रिय नै हुन्छ जसले गर्दा शिथिल अवयवहरू विस्तारै सचेत भएर आफ्ना कामहरू गरिरहेका हुन्छन्। मनमा रहेका विचारहरूलाई ती अवयवहरूले सुषुप्तावस्थामा नै अनुभूत गर्छन्, त्यही नै सपना हो। सास फेर्ने प्रक्रिया नै प्राणायाम हो र जीवनलाई प्राणको रुपमा त्यही सासको आहूतिले जीवित राखेको हुन्छ। निद्रा सक्रियता भनेको नै सपना हो। सपनामा पनि मानिस हिँडिरहेको हुन्छ, कुरा गरिरहेको हुन्छ, काम गरिरहेको हुन्छ। अवयवहरू मानसिकरुपमा सक्रिय हुन्छन्। सपना देख्ने र सपनालाई अमूर्तरुपमा मूर्तता दिने हाम्रो आत्मा हो। सपनामा के देखिन्छ भने पहिले देखिएको वा नदेखिएको वा देख्न चाहेको कुरा, ठाउँ, मानिस आदि,सुनेको वा नसुनेको वा सुन्न चाहेको कुरा,अनुभूत गरिएको वा अनुभूत गर्न नपाइएको कुरा देखिन्छ, सुनिन्छ र अनुभूत गरिन्छ। सपनामा पनि सुँघिन्छ, बास्ना आउँछ, स्वाद पाइन्छ,छलफल हुन्छ, वार्ता गरिन्छ, गोप्य गरिन्छ,सुनिन्छ, बोलिन्छ आदि। जे पहिले अनभूत गरिएको हो वा अनुभूत गर्न बाँकी हो, त्यही देखिन्छ, सुनिन्छ , अनुभूत गरिन्छ। मनमा चाहेको कुराहरू जो विपनामा पूरा हुन नसकेको अवस्था हुन्छ, ती सपनामा पूरा गर्न सकिन्छ तर योजनाबद्ध तरिकाले होइन, अचानक पूरा हुन्छ किनभने मनुष्यको भावनामा त्यो अमिटरुपमा रहेको हुन्छ। परमात्माले नै आत्मालाई ती कुराहरूको अनुभूत गर्नका लागि सपनाको उत्पत्ति गरेको हुन्छ अनि सुषुप्तभन्दा पहिलको अवस्थामा झँै सचेतना जाग्रत भएर सपना देखिन्छ। त्यो बेलामा विपनाको स्मृति, ज्ञान, विज्ञान र अनुभव  नै जाग्रत हुन्छ।

५.पाँचौँ प्रश्न — मनुष्येषु प्रायणान्तमोङ्कारमभिध्यायीत। कतमं वाव स तेन लोकं जयतीति।

ती प्रश्नहरू र उत्तरले ऋषिकुमारहरूमा सन्तुष्टि देखिन्थ्यो। अनि त्यसपछि ऋषिकुमार ऋषिकुमार सत्यकामले सोधे—गुरु शरीर उत्पत्ति, शरीरका देवताहरू , सर्वश्रेष्ठ देवताको रुपमा प्राणवायुको काम ,सपनाका वारेमा सुनेर म गदगद भएँ तर अब मलाई ध्यानका वारेमा , त्यो पनि ओमकारको वारेमा बताउनुहोस्—स यो ह वै तद्भगवन१  मनुष्येषु प्रायणान्तमोङ्कारमभिध्यायीत। कतमं वाव स तेन लोकं जयतीति। अर्थात् यदि कोही मनुष्य ओमकारलाई आधार बनाएर ध्यान गर्‍यो भने उसले कुन लोक प्राप्त गर्छ? र कस्तो फल उसलाई प्राप्त हुन्छ? 

महर्षि पिप्पलादलाई पनि यो प्रश्न अत्यधिक दार्शनिक र आध्यात्मिक लाग्यो किनभने यो तहको ज्ञान पाउने गरी प्रश्न सोध्न आफ्ना शिष्यहरू लायक भएछन्। ओमकारको वारेमा ध्यान गर्ने सम्मको ज्ञानमा पुगेछन्। अनि भन्नुभयो—एतद् वै सत्यकाम१परं चापरं च ब्रह्म यद् ओमकारः। अर्थात् हे सत्यकाम, यो ओमकारको दुई अर्थ हुन्छन्। एक पर ब्रह्म अर्थात् परमात्मा अनि अर्को अपर ब्रह्म अर्थात् परब्रह्मभन्दा फरक तथा न्यून अक्षर ब्रह्म।  यदि ओम शब्दको आधारमा ध्यान गर्ने हो भने र अनुष्ठान गर्न थाल्ने हो भने दुईओटैको फरकलाइ ध्यानमा राखेर ध्यान गर्नुपर्छ। एउटै ओमको दिव्य  अर्थ हुन्छ र त्यसको अनुसन्धान गरेर मात्र ध्यान गर्नु जरुरी छ। केबल आमको शब्दलाई मात्र आधार बनाएर ध्यान गर्ने हो भने चिताएको फल प्राप्त नहुन सक्छ। त्यसैले ओम शब्दको आवाज निकालेर गरिने ध्यानले इच्छित प्रतिफल प्राप्त गर्न सकिन्छ। अर्थात् यो शरीरलाई स्वच्छता प्रदान गर्न ओमको ध्यान आवश्यक छ। महर्षिले सर्पको उदाहरण दिँदै भन्नुभयो—जसरी सर्पले आफ्नो काँचुली फेरपछि ताजा महसुस गर्छ , त्यसरी नै मनुष्यले पनि ध्यानबाट आफूलाई नयाँ जीवन प्राप्त भएको महसुस गर्छ। त्यसैले सबैभन्दा माथि रहेको अक्षर ब्रह्म अनि त्योभन्दा पनि माथि रहेको अक्षरधाममा रहनु भएको परमात्माको प्राप्तिका लागि नै ओमकारको ध्यान जरुरी छ। यसरी सत्यकामले पनि अध्यात्म साधनाको खास रहस्य पत्ता लगाए र गुरुसँग सन्तुष्ट भए। 

६. छैटौँ प्रश्न— तं त्वा पृच्छामि , क्वासौ पुरुष इति।

अन्तिम प्रश्नको रुपमा ऋषिकुमार सुकेशाले एउटा आख्यान भन्दै गुरुसँग प्रश्न सोधे—गुरुदेव, एकपटक राजकुमार हिरण्यनाभले मलाई सोह्रकला भएको पुरुषका वारेमा थाहा छ कि भनेर सोधेका थिए , त्यसबारे मलाई केही पनि थाहा थिएन र मैले थाहा छैन भनेँ र अहिले पनि मलाई यसवारेमा केही पनि थाहा छैन। तं त्वा पृच्छामि , क्वासौ पुरुष इति। अर्थात् गुरुले मलाई भन्दिनु पर्‍यो कि त्यो सोह्रकलाले युक्त पुरुष को हुनुहुन्छ र कहाँ हुनुहुन्छ?  

महर्षि पिप्पलादले भन्नुभयो—षोडशकलाः पुरुषायणाः। अर्थात् सोह्रकला भएको पुरुष त परमात्मा नै हुनुहुन्छ। जुन शरीरमा पृथ्वी, जल , तेज,आकाश, प्राण आदि सोह्रकला विद्यमान हुन्छ, ती सबैको पालक, नियन्त्रक र नियामक परमात्मा नै हुनुहुन्छ। जसरी एउटा रथको पाङ्ग्रोको बीचको नाभि भागमा चक्रकण्डिकाहरू नियन्त्रण गरेर  सबै रथलाई सञ्चालन गरेको हुन्छ, त्यसैगरी शरीरमा पनि परमात्मा अवस्थित हुनुहुन्छ। यी सर्वाधार परमात्माका वारेमा यदि तिमीहरूले जानकारी राख्न सक्यौ भने तिमीहरू सबै खालको त्रास र डरबाट मुक्त हुनेछौ र बारम्बार यो पृथ्वीमा हुने जीवन र मृत्युबाट पनि मुक्त हुनेछौ। 

यसरी जीवन र जगतका वारेमा अत्यन्त सहज तरिकाले सम्झाए पनि महर्षि पिप्पलादले आफ्ना प्यारा शिष्यहरूलाई भन्नुभयो—एतावदेवाहमेतत् परं ब्रह्म वेद नातः परमस्तीति। अर्थात् हे शिष्यहरू१पर ब्रह्म परमात्माको विषयमा मेरो ज्ञान यत्तिकै हो। परब्रह्मभन्दा श्रेष्ठ केही तत्व पनि यस संसारमा छैन। 

यसरी छओटै प्रश्नका उत्तर पाएर सन्तुष्ट भएका ऋषिकुमारहरूले गुरु पिप्पलादलाई भने —त्वं हि नः पिता। नमः परमऋषिभ्यो नमः परम ऋषिभ्यः। अर्थात् यस्तो उपदेश दिएर तपाईँ पितासरह हुनुभयो र तपाईँ जस्तो महान ऋषिलाई सदैव नमस्कार छ , सदैव नमस्कार छ। 

यसरी नितान्त अज्ञात अतीतमा पनि, पूर्वीय दर्शनमा जीवनलाई यसरी व्याख्या गरिएको थियो र म को हुँ भनेर शिष्यलाई उसको परिचय यसरी दिइएको थियो। हुन त वेदका ऋचाहरूले परमात्माको विषयमा शरीरलाई तादात्म्यता देखाएका छन् तर जसको वारेमा अहिलेसम्म पनि दार्शनिक प्रश्नहरू उठिरहेका छन् , त्यो बेलामा यसरी सहज तरिकाले शरीर, प्राणवायु र परमात्माका वारेमा , एउटा अदृश्य शक्तिका वारेमा प्रश्नका रुपमा सम्झाइएको उदाहरण कति सरस र सहज छ, त्यही नै उपनिषदको जीवन्तता प्रमाणित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.