|

ताप्लेजुङ : याम्फुदिनका फुजुङ लामालाई जिल्ला सदरमुकाम फुङलिङसम्म आइपुग्न दुईदिन लाग्छ। गाउँसम्म सडक पुगेपनि गाडी चढ्न भने करिव एक दिन आधा सडकै सडक पैदल हिँड्नुपर्छ।

याम्फुदिनबाट हिँडेर एक दिनमा खेवाङ आइपुगिन्छ। खेवाङबाट विहानै उठेर फेरि करिव ६ घण्टाको पैदल यात्रापछि हप्पूखोला पुगिन्छ। अनि मात्रै त्यहाँबाट गाडी चढ्न पाइन्छ। त्यो पनि सिट भन्नको लागि तीन दिन अघि नै टिकट काउण्टरमा फोन गर्नुपर्छ। हप्पूखोला सम्म त हिउँद याममा मात्र हो। २०७२ सालमा सिरिजंघाको खेवाङ र सिदिङवाको मेहेलेका बासिन्दाले मात्रै एक करोड ५० लाख रुपैयाँ सडकका लागि स्वतस्फुर्त रुपमा उठाए र तत्कालीन सांसद भुपेन्द्र थेवेले सांसद विकास कोषबाट २५ लाख रुपैंयाँ थपिदिएपछि गाउँसम्म सडक त आयो। तर गाडी भने नियमित हुन सकेको छैन।

खेवाङको केन्द्र साम्दिङ वजारमा एक घर एक ब्यक्तिको भेलाले पारिवारिक अवस्था हेरेर एक परिवारले ५ देखि २० हजार रुपैयाँसम्म सहयोग संकलन गरेको सिरिजंघा गाउँपालिका ६ खेवाङका भीमप्रसाद दाहाल बताउँछन्। गाउँलेको तन, मन र धनले आम्वेगुदिनको हप्पुखोलाबाट बाँकेटार हुँदै खेवाङ सडक र्पुयाएका २ हजारभन्दा बढी परिवारको खुसी रिजन भिरको घुम्तीले खोसिदिएको छ। सडक विस्तार भएर मेहेले–खोवाङ हुँदै याम्फुदिनसम्म पुगे पनि यातायात साधन चलेको छैन। 'हामीले के के न हुन्छ भनेर गाउँले सँग चन्दा उठाएर सडक खन्यौँ' दाहालले भने, 'त्यहि रिजन भिरका कारण गाउँसम्म गाडी आउन सकेको छैन। 

चालक तथा प्राविधिकहरू रिजन भिर नबनाएसम्म यातायात नियमित गर्न नसकिने बताउँछन। हप्पुदेखि खेवाङसम्म नियमित चल्नका लागि भने रिजन भिरको करिव ८०० मिटर सडक स्तरोन्नति गर्नुपर्छ। नाली काटेर पानी तर्काउने र सडकको माथिल्लो भागमा बायो इञ्जिनियरिङ गरेर बिरुवा रोप्नका लागि करिव १ करोड जति लाग्ने इन्जिनियर रञ्जन गौतमले बताए।

जनताले जागरुप भएर निमार्ण गरेको यस सडकलाई सञ्चालनमा ल्याउनको लागि स्थनीय सरकारले बेवास्ता गरेको कंचञ्नजंघा पर्यटकीय मार्ग निर्माण समितिका सचिव नेत्रकुमार आचार्यको आरोप छ। जनताले लगानी गरको वाटोलाई दुई स्थानीय सरकार (सिरिजंघा गाउँपालिका र सिदिङ्वा गाउँपालिका) ले चासो दिनुपर्ने आचार्यको माग छ। बिश्वको तेस्राे अग्लो हिमाल कञ्चनजंघा जाने यो सडकमा अहिलेसम्म दुइटा ट्याक्सी र बेला बेला ट्याक्टर चल्ने गरेको छ। दुइपाङग्रे मोटरसाइकल भने ठेलेर र तानेर कटाएर चलाउने गरेका छन्। यता हप्पुखोलामा भने मोटरेबल पुल निर्माणको काम भइरहेको छ। यो सडकले भेट्ने गरी सिदिङवा र सिरिजंघा गाउँपालिकाका दुइ/दुइटा वडा छन्।

सिदिङवाको मेहेले र सुरुमखिम तथा सिरिजंघाको खेवाङ र याम्फुदिनका बासिन्दा हिड्ने यो सडक भएर मामांखेका बासिन्दा पनि यात्रा गर्ने गरेका छन्। याम्फुदिनसम्म यातायात चले कञ्चनजंघा हिमाल जाने पर्यकटकका लागि सबैभन्दा वढी राहत हुन्छ। सडक सञ्चालनमा आए पर्यटकले बिर्तामोडदेखि सिधै याम्फुदिन जान पाउने थिए। उनीहरूलाई पैदल यात्रा गर्ने पाँचवटा क्याम्प छोटो हुने थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.