|

काठमाडौं : नेपालमा पठन संस्कृतिको विकास  बढ्दै जाँदा पुस्तक प्रकाशन पनि तीव्र हुँदै गएको छ। विभिन्न विधामा कला चलाउने लेखकहरूले यस वर्ष पनि पुस्तकहरू प्रकाशन गरे। प्रकाशकहरूमा पनि पुस्तक प्रकाशन गर्ने होडबाजी नै चल्यो। आख्यान, गैरआख्यान, आत्मकथा, कविता, यात्रा संस्मरणमा, निबन्ध, कविता लगायतका विधामा  कृतिहरू प्रकाशन भए।  २०७५ सालमा सार्वजनिक भएका केही पुस्तकबारे चर्चा गरेका छौँ। 

‘७२ को विस्मय’

लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार वसन्त बस्नेतद्वारा लेखिएको पुस्तक यही वर्ष सार्वजनिक भयो। नेपालको २००८ सालदेखिको नेपाली लोकतन्त्रको विस्तार प्रक्रियाका क्रममा भएका राजनीतिक उतारचढावलाई समेटेर बस्नेतले कृति बजारमा ल्याएका थिए। पुस्तकमा संविधान निर्माण प्रक्रियासँग उठेका संघीयता, राज्यको पुनसंरचना, प्रतिनिधित्वको प्रश्न र पहिचानको राजनीतिको विषय पनि पुस्तकमा अटाएका छन्। पुस्तक फाइनप्रिण्टले बजारमा ल्याएको थियो।

बारुदमाथि उड्दा

क्याप्टेन रामेश्वर थापाद्वारा लिखित आत्मकथा बारुदमाथि उड्दा यही वर्ष बजारमा आयो। माओवादी ‘जनयुद्ध’ को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन थापाले युद्धस्थलका ताजा घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमगिएका बखतकाे उद्धारको वर्णन पुस्तकमा गरेका छन्। पुस्‍तकमा रामेछाप, सिन्धुली, रुकुम आक्रमणदेखि दैलेखलगायत विभिन्न ४० भन्दा बढी स्थानका घटनाको तात्कालीन परिवेश र उद्धारबारे लेखिएको छ। पुस्तक बुकहिलले बजारमा ल्याएको थियो।

धम्बोझी

मधेस राजनीति र पछिल्लो मधेस आन्दोलनको आरोह–अवरोहमाथि लेखिएको धम्बोझी पत्रकार तथा लेखक सरोजराज अधिकारीले लेखेका हुन्। अधिकारीले पुस्तकमा नेपालगञ्ज, बाँकेको सेरोफेरोलाई आधारमा बनाएका छन्। उपन्यासले मधेसमा राजनीतिक अधिकारको लागि भएको लामो संघर्ष र धोकाधडीलाई आफ्नो विषयवस्तु बनाएको छ। आञ्चलिक परिवेश र अवधि भाषिकाको प्रयोगसहितको संवादले देहातको मीठासपूर्ण भाव सञ्चार गरेको छ। पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको थियो।

बिपीको विद्रोह

प्रजातान्त्रिक समाजवादका प्रवर्तक एवं राजनेताको छवि बनाएका बिपीका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई समेटेर लेखक तथा पत्रकार जगत नेपालले विपिको विद्रोह यसैवर्ष सार्वजनिक गरे। प्रजातन्त्र स्थापना गर्नका लागि बिपीले गरेको संघर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहका क्रममा उनले झेल्नुपरेका अनेक संकटको मिहिन ढंगले समेटिएको छ। नेपाली साहित्यमा नयाँ चिन्तन, आयाम, परम्परा र शैलीका प्रवर्तकसमेत मानिएका बिपीका आफ्नै आत्मपरक लगायतका कृतिहरू लोकप्रिय छन्। ‘बिपीको विद्रोह’मा बिपीले आफ्नो कृतिमा उजागर गर्न बाँकी रहेका तथ्यलाई  चिरफार गर्ने प्रयास हो। पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो।

न्याय

नेपालकी प्रथम महिला प्रधानन्यायधीश सुशीला कार्कीको आत्मकथा न्याय पनि यसैवर्ष सार्वजनिक भयो। पुस्तकमा कार्कीले आफूले भोगेको महाअभियोगको प्रस्ताव, विभिन्न मुद्दामा आफूले सम्पादन गरेको न्याय र व्यक्तिगत भोगाइलाई समेटेकी छन्। पुस्तकमा लोकमानसिंह कार्कीको मुद्दादेखि 'फास्ट ट्रयाक' घोटालासम्मका १० वटा महत्त्वपूर्ण मुद्दाको फैसलाको सार पनि पुस्तकमा समेटिएका छन्। लेखक कार्कीले आफूले प्रथम महिला न्यायाधीश हुँदा देखेका, भोगेका र अनुभूत गरेका सबै कुरा पुस्तकमा उल्लेख गरेकी छिन्। नेपालको न्यायपालिकाको सुधारका लागि र नेपालको न्यायपालिकाबारे समग्रमा बुझ्नका लागि पुस्तक उपयोगी छ। पुस्तक बुक हिलले प्रकाशन गरेको हो।

छुटेका अनुहार

समाजको तल्लो तप्काको मर्मलाई आफ्ना कविता र निबन्धमार्फत प्रस्तुत गर्न रुचाउने कवि तथा लेखक रमेश सायनद्वारा लिखित निबन्ध संग्रह छुटेका अनुहार यसै वर्ष सार्वजनिक भयो। लामो समय कविता लेखनमा रमाइरहेका सायनले देशको सामाजिक असमानता र आफूले बाँचेको समाजमा हुने गरेको महिला पुरुष, धनी गरिब, तल्लो र माथिल्लो जातिबीचको विभेदलाई सूक्ष्म तरिकाले समेटेका छन्। समाजमा आफ्नो उपस्थिति जनाउन गरेको संघर्षदेखि वैदेशिक रोजगारीका लागि विदेशमा पुगेर भोगेका आफ्ना अनुभूति लेखक सायनले पुस्तकमा समेटेका छन्। पुस्तक लिपि बुक्सले प्रकाशनमा ल्याएको हो।

रणहार

नेपालयले बजारमा ल्याएको कृति हो 'रणहार'। यस कृतिभित्र अन्तिम मल्ल राजाको भोगाइमार्फत काठमाडौं उपत्यकाको एउटा कालखण्डलाई चित्रण गरिएको छ। कृतिमा मुख्यपात्रको रूपमा भक्तपुरका अन्तिम मल्ल राजा रणजित मल्ल छन्। उनको शासन कालमा पृथ्वीनारायण शाहले त्यसबेलाको सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए। इतिहासका अध्येता योगेशराजले लेखेको उक्त यो कृतिभित्र त्यसबेलाको कालखण्डमा भक्तपुरमा सत्तासीन कुलीन वर्ग र गोर्खालीसामु गरेको आत्मसमर्पण र संघर्षको लडाइँ देखाइएको छ।

सखी

‘ऐना’ कथासंग्रहबाट मदन पुरस्कार प्राप्त गरेका साहित्यकार रामलाल जोशीको पहिलो उपन्यास 'सखी' यसैवर्ष सार्वजनिक भयो। लामो समयसम्म राज्य र शासक समूहबाट मानवसरह नै नठानिएका थारू जातिको कथा समेटेका छन्। यो उपन्यासले सीमान्तकृत थारू जातिको जीवनको अभिलेखीकरण गरेको छ। सखीले सुदूरपश्चिमका थारू जातिको सिंगो कथा उतारेका छन्। कम्लहरी प्रथाको सूक्ष्म चित्रण उपन्यासले गरेको छ। समाजको वास्तविक चित्रण गर्ने प्रयास गरेको छ। पुस्तक बुक हिल पब्लिकेसनले प्रकाशन गरेको हो। 

मन परेका कविता

कवि सुमन पोखरेलद्वारा अनुदित कवितासंग्रह ‘मनपरेका केही कविता’ यसैवर्ष  बजारमा आयो। संग्रहमा कवि पोखरेलले चर्चित अन्तर्राष्ट्रिय कवि अन्ना आख्मातोभा, अन्ना स्विर, एलेन गिन्सबर्ग, ओक्टाभियो पाज, गाब्रिएला मिस्ट्रल, ज्याक प्रिभेर, डेलमिरा अगस्तिनी, नाजिक अल मलाइका, नाजिम हिकमत, निजार कब्बानी, पाब्लो नेरुदा, फरोग फारुखजाद, महमुद दरविस, येहुदा अमिसाई तथा सिल्भिया प्लाथका चर्चित ६४ कविताहरू समावेश गरेका छन्। पुस्तक शिखा पुस्तक प्रकाशनले बजारमा ल्याएको हो।

भूमिका

तेस्रोलिंग्री अधिकारकर्मी भूमिका श्रेष्ठले आत्मकथा यसैवर्ष  सार्वजनिक गरिन्। जन्मँदा पुरुष, हुर्कँदै बढ्दै जाँदा महिला स्वभाव एवं हाउभाउ भएकी भूमिकाको आत्मकथा सबै तेस्रो लिंगीको प्रतिनिधित्व गर्ने पुस्तक हो। यो किताब मात्रै नभएर सबै तेस्रो लिंग्रीको जीवनको पाना हो।  नेपालमा आफूहरूलाई अझै अपहेलित र तल्लो दर्जाको रूपमा हेरिएको छ। भूमिकाको कितावमा महाराभारत, रामायण, नेवारी संस्कृतिदेखि लिएर अन्तर्राष्ट्रिय विषयसमेत राखिएको छ। श्रेष्ठको आत्मकथामा ३५ वटा विषय समावेश छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.