'डा. सा'बले औषधि खाएर एक हप्ता पछि आउनू भने, आज भेटिनुभएन'

|

जनकपुरधाम : सरकारी चिकित्सकले समायोजनको विषयलाई लिएर गरेको आन्दोलनले जनकपुर अञ्चल अस्पतालको ओपिडी सेवा ठप्प थियो। तर, आन्दोलनबारे थाहै नभई नियमित चेक जाँच गर्न आएको सर्वसाधारण उपचारको आशामा बिहानै अस्पताल परिसरमा पुगेका थिए। स्वास्थ्य उपचार गर्न आएका सर्वसाधारण र बिरामीले १० बजेपछिसमेत बहिरङ्ग विभाग (ओपिडी) टिकट काउन्टर नखुलेपछि सेवा बन्द भएको जानकारी पाए।

चिकित्सकको हडतालका कारण आकस्मिक बाहेक अन्य सेवा बन्द गरिएको जानकारी पश्चात कोही उपचार नपाई घर  फर्किए भने कोही पुनः खुल्ला कि भन्ने आसमा अस्पतालको चौरमा कुरिरहे। त्यसरी बस्नेहरू निजी क्लिनिकमा गएर चेक जाँच गराउने कि भन्ने मनसायमा पनि थिए। उनीहरू अन्यौलतामा थिए।

महोत्तरीको रामगोपालपुर नगरपालिका १ का कृष्णा महतो ट्रयाक्टरबाट लडेर हात भाँचिएर र ढाडमा गम्भीर चोट लागेर उपचारका लागि अञ्चल अस्पताल ल्याइएको थियो। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि अञ्चल अस्पतालमा ल्याइएको थियो। तर, अस्पतालका सेवा बन्द थिए। 

बिहान झन्डै ८ बजे अस्पतालमा ल्याउने उनका आफन्तले ३ घण्टासम्म अस्पतालको वातावरण नै बुझ्नै सकेनन्। आइतबार राति समयमा ट्रयाक्टरबाट लडेर पिठ्युँ र ढाडमा चोट खाएर उठबसमा समेत गाह्रो भएका उनलाई उपचारका लागि ल्याए पनि उपचार हुन सकेन। यसरी ओपिडी सेवा बन्द भएपछि अन्ततः जनकपुर अञ्चल अस्पतालको आकस्मिक कक्ष देखाए।

यस्तै, धनुषाको शहीद नगर नगरपालिका ८ का बिन्देश्वर पण्डित जनकपुर अञ्चल अस्पतालमा नियमित चेकजाँचको लागि आउने गर्छन्। उनलाई एलर्जीको समस्या थियो। पछिल्लो हप्ता चिकित्सकसँग चेक जाँच गराएका थिए। तर, आज आएर चेक जाँच गर्न खोज्दा चिकित्सकको आन्दोलनले बन्द भएको सुनेपछि उनी निराश भए। उनले भने, ‘सदरमुकामदेखि झन्डै ३० किलोमिटर मेरो गाउँ पर्छ। यहाँ आउन ८ बजे बस चढेर आए। तर यहाँ आउँदा डाक्टरले चेक जाँच नगर्ने रे! कस्तो बिजोग भयो। घरको अन्य सबै काम छोडेर आएँ। डाक्टर सा'बले औषधी खाएर एक हप्ता पछि आउनु भनेर भनेका थिए। तर, यहाँ चेक जाँच गर्ने कोही पनि पाइएनन्।'

जनकपुर अञ्चल अस्पताल त्यसै पनि बदनाम छ। त्यसमाथि डाक्टर आन्दोलनमा उत्रिएपछि बिरामीको बिचल्ली भएको छ। नेपाल चिकित्सक सङ्घले गरेको आन्दोलनको कारण जनकपुरधामको एक मात्र सरकारी अस्पतालमा उपचारका लागि आएका बिरामी मारमा परेका छन्। अञ्चल अस्पतालमा सेवा ठप्प हुँदा धनुषासहित आसपासका जिल्लाहरूका बिरामी उपचार नपाएरै फर्किनु पर्ने बाध्यता रहेको छ। यसरी चिकित्सकले स्वास्थ्य सेवा भन्दा पनि आन्दोलनलाई प्राथमिकता दिन थालेपछि बिरामी पटक-पटक मारमा परेका छन्।

यता जनकपुर अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जामुन सिंहले शुक्रबार र आइतबार अस्पतालमा सम्पूर्ण सेवा चलाए पनि सोमबारबाट ओपिडी सेवा बन्द गरिएको जानकारी दिए। उनले कर्मचारी समायोजनको विषयमा सरकार र नेपाल मेडिकल काउन्सिल तथा चिकित्सक संघबीच कुरा नमिल्दा बाध्यात्मक अवस्थामा आएर सेवा ठप्प गर्नु परेको बताए। उनले भने, ‘हामीले पूर्ववत सम्पूर्ण सेवाहरू दिइरहेका छौँ। तर आजदेखि ओपिडी सेवा चिकित्सकले बहिष्कार गरेपछि बन्द भएको हो।’

बिरामीले सेवा पाउनुपर्छ : अस्पताल प्रशासन 

चिकित्सकको आन्दोलनले देशभर स्वास्थ्य संस्था ठप्प हुँदा अस्पताल प्रशासन भने सेवा सुचारु हुनु पर्ने पक्षमा छन्। अस्पताल प्रशासन सेवा सुचारु हुनुपर्छ भन्ने पक्षमा लागे पनि सेवा प्रदान गर्ने चिकित्सकहरू आन्दोलनमा उत्रिँदा प्रशासनले चाहेर पनि पूर्ण रूपमा सेवा सुचारु गर्न सकेनन्।

देशकै एक मात्रै रिफरल सेन्टरको सेवा प्रभावित हुँदा सयौँको संख्यामा बिरामी सेवा पाउनबाट वञ्चित भएका छन्। यस्तै अञ्चल अस्पतालका प्रशासन प्रमुख राजकिशोर राउतले अस्पताल सेवा बन्द गर्ने पक्षमा नभएको तर पनि सेवा दिने चिकित्सक आन्दोलनमा भएको हुँदा सेवामा समस्या आएको बताए। आज सोमबार अस्पतालमा ओपिडी नै डाक्टरले बहिष्कार गरेपछि बिरामी संख्या कम भए पनि सेवा नपाएको स्वीकार गरे।

निजी खुल्ला, सरकारी बन्द

आन्दोलनको बहाना देखाएर सरकारी अस्पतालमा काम गर्न छोडेर चिकित्सकले भने आफ्नो निजी क्लिनिकमा बिरामी चेक जाँच गरिरहेका छन्। आन्दोलनको बहानामा जनकपुर अञ्चल अस्पतालको सेवा बहिष्कार गरेका चिकित्सकले भने सँगै रहेको क्लिनिसकमा नियमित चेक जाँच गर्न व्यस्त देखिएको छ।

जनकपुर अञ्चल अस्पतालकै वरिपरि खोलिएका सयौँ निजी क्लिनिक तथा नर्सिङ होममा सेवा दिँदै आएका छन। यसरी सरकारी अस्पताल बन्द हुँदा चेकजाँचका लागि आएका बिरामी भने निजीमा गएर शुल्क तिरेर जाँच गराएको धनुषाको जनकपुरधाम उप–महानगरपालिकाका ८ का बिल्टु साहले बताए। उनले भने, ‘सरकारीमा चेक जाँच गर्ने डाक्टरको एउटा बहाना भयो। तर फेरि त्यही डाक्टरले आफ्नो निजी क्लिनिकमा बिरामीबाट महँगो शुल्क लिएर उपचार गर्छन। आखिर जताबाट पनि जनता नै मर्छन।’ 

सरकारी अस्पतालमा एक दुई घण्टा मात्र समय दिएर बाँकी समय निजी क्लिनिक तथा निजी अस्पतालमा काम गर्ने डाक्टरको आन्दोलनमा झनै रजाई भएको साह बताउँछन्। विभिन्न सरकारी अस्पतालमा पूर्णकालीन सरकारी सेवामा रही राज्यकोषबाट तलब, भत्ता तथा सेवा सुविधा खाइरहेका चिकित्सक जिल्लाकै विभिन्न मेडिकल हल, औषधी पसल तथा निजी अस्पतालमा निर्वाचन रूपमा काम गरिरहेको पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.