|

दैलेख : शुक्रवार राति परेको असिना पानीले दैलेखको पश्चिम क्षेत्रमा पर्ने ठाटिकाँध गाउँपालिका र चामुण्डा विन्द्रा सैनिक नगरपालिकामा लगाएको गहुँ र तरकारी बाली पूरै क्षति पुगेको छ। ठुलो मात्रामा परेको असिना पानीले किसानले लगाएका सबै बाली नष्ट गरेपछि यो क्षेत्रमा भोकमरि निम्तिने खतरा बढेको छ। 

४० मिनेटसम्मलगातार परेको असिना पानीले किसानले लगाएको गहुँ, बन्दा, सिमी, काउली सबै नष्ट गरेपछि भोकमरि सिर्जना हुनसक्ने अवस्था देखिएको स्थानीय बासीको भनाइ छ। आइतबार साँझा करिब ६ बज्न लागेको थियो पत्रकार टोली असिना प्रभावित क्षेत्रको रिपोटिङका लागि ठाटीकाध गाउँपालिकाको सदरमुकाम पुग्दा गाउँका जनता वडा कार्यालयमा भेला भएका थिए।

खाने अन्न नभएपछि राहतको लागी हारगुहार मागिरहेको सुनिन्थ्यो। गाउँपालिका अध्यक्ष धीरबहादुर शाही यथोचित राहत दिने आश्वासन दिइरहेका थिए। पीडितमध्येका एक खडके वडले आखाभरि आँसु भरेका थिए। पत्रकारसँग बोल्नसमेत उनलाई गाह्रो भइरहेको थियो।

गहभरि भरिएका आँसु तप्पतप्प भुईँमा खसाल्दै पीडा सुनाउन उनी अघि सरे। एक छिन रोकिए अनि पश्चिमेली लवजमै गीत सुनाए- 'दैखानु दैवले लैगो मैखानु हराई गो।' 

उनले जेनतेन छ महिना खान पुग्ने गहुँ लगाएको थिएँ। त्यो पनि असिनाले सखाप बनायो। उनले भने- 'हामी के खाएर बाँच्ने। आफू मात्र भए एक छाक टार्न बाहिर गएर मजदुरी गरेर खान्थेँ। घरमा १७ जना जहान परिवार छन्। तिनलाई म एक्लैले मजदुरी गरेर कमाएको पैसाले खान लाउन पुग्दैन। गाउँमा कसैकोमा काम गरेर खाऊ भने पनि सबै म जस्तै पीडामा छन्।' 

उनीमाथि आइलागेको विपदको पीडा सुनिरहँदा छेउमै आइन् जैसी नेपाली। उनले भनिन्- हाम्रो नाम पनि टिपेर लगिदिनुहोला।सरकारले केही सहयोग गर्छ कि?

यस्तै समस्या यहाँका करिब ४ हजार घरधुरीमा परेको छ। दैलेखको पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिका र टाँटीकाँध गाउँपालिकामा परेको विपदले करिब ३५ करोड रुपैयाँको क्षति भएको जानकारी स्थानीय तहका प्रमुखहरूले दिएका छन्। 

कहाँ कहाँ क्षति?

दुल्लु नगरपालिका २, ३ र ९ तथा चामुण्डाविन्द्रासैनी नगरपालिकाका ९ वटै वडामा बालीनाली, बोटबिरुवा र घरका छानामा क्षति पुगेको छ। यसैगरी असिना र हुरी बतासले ठाँटीकाँध गाउँपालिकाको १, २ र ६ वडामा धेरै क्षति पुर्‍याएको छ भने ३, ४ र ५ मा आंशिक क्षति पुगेको छ। आठबीस नगरपालिका ९ र गुराँस गाउँपालिकाको १, २ र ३ मा धेरै र वडा ४ मा पनि आंशिक क्षति पुगेको छ।

जिल्लाभर ३५ करोड क्षति भएको अनुमान

चामुण्डाबिन्द्रासैनी नगरपालिका क्षतिको विवरण सङ्कलन सुरु गरेको छ। ५० वर्षपछि यति ठुलो असिना पानी आएको हो। करिब २ फिटसम्म जम्ने गरी असिना पर्दा गहुँबाली केही बाँकी नरहेको स्थानीयले बताए चामुण्डाबिन्द्रासैनी नगरपालिकाले विज्ञप्ति जारी गर्दै सबैलाई धैर्य रहन आग्रह गरेको छ। विवरण सङ्कलन कार्यसँगै सहयोगका लागि विभिन्न निकायहरूसँग आशा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विपदपछि टाँठीकाँध गाउँपालिका, चामुडाबिन्द्रासैनी नगरपालिकालगायत पश्चिमका अधिकांश क्षेत्रमा तरकारी, फलफुल, गहुँ, जौं, सबै नष्ट भएपछि गाउँपालिकाले प्रारम्भिक क्षतिको विवरण निकालेका छन्। टाँटीकाँध गाउँपालिकामा प्रारम्भिक २० करोडको क्षति भएको गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिएकी छन्। चामुण्डाबिन्द्रासैनी नगरपालिकामा १५ करोड बढीको क्षति भएको प्रारम्भिक विवरण आएको नगर प्रमुख सूर्यबहादुर शाहीले बताए। 

स्थानीय सरकारले यो स्तरको क्षतिमा प्रदेश र केन्द्र सरकारबाट सहयोगको आशा गरेका छन्। किसानलाई यथोचित क्षतिपूर्ति र सहयोगका लागि सबै निकायमा अनुरोध गरेको स्थानीय तहहरूले जनाएका छन्।

तरकारीमा मात्रै ६ करोडको क्षति

दैलेखको टाँटीकाँध गाउँपालिकामा किसानहरूले उत्पादन गरेको तरकारी बाली सबैभन्दा बढी क्षति पुगेको छ। बन्दा, काउली, लसुन, प्याज, फर्सी, चिचिन्नालगायत सबै बाली मारेपछि किसानहरूको आर्थिक उपार्जनको महत्त्वपूर्ण पाटो बन्द भएको छ। टाँटीकाँध गाउँपालिकामा मात्रै ६ करोड बराबरको तरकारी बाली नष्ट भएको गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले जानकारी दिएन।

'स्थानीय सरकारको बसमा छैन'

किसानहरूले घरमा भित्र्याउने अवस्थामा रहेको गहुँबालीसँगै अन्य नगदे बाली नष्ट भएपछि क्षतिपूर्ति र व्यवस्थापन गर्न स्थानीय सरकार नसक्ने भएकोले प्रदेश र केन्द्र सरकारले पहल गर्नुपर्ने टाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए। उनले भने- 'हामी स्थानीय सरकारले गर्न सक्ने त गरौँला। तर गाँस मानिसको सबैभन्दा ठुलो विषय भएकोले यसको व्यवस्थापनका लागि केन्द्र र प्रदेश सरकारले पहल गर्नुपर्दछ।' उनले द्वन्द्वका बेलामा हटाइएको खाद्य डिपो पुनर्स्थापना गर्न पनि माग गरेका छन्।

फोटोमा हेर्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.