|

काठमाडौं :  कल्पना तामाङको मुक्तक संग्रह 'हिउँको आगो' सार्वजनिक भएको छ। मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले आयोजना गरेको विमोचन कार्यक्रममा ज्ञानुवाकर पौड्याल, निर्मोही व्यास, गोविन्द गिरी 'प्रेरणा', शितल गिरी, जीवन खत्रीलगायतले उक्त कृति सार्वजनिक गरेका हुन्।

पुस्तकबारे गजलमाली ज्ञानुवार पौड्यालले कल्पना तामाङ सम्भावनाका साथ मुक्तक क्षेत्रमा आएको बताए। 'नेपाली मुक्तकमा विकृति धेरै छ तर त्यसलाई चिर्न कल्पनाले सक्ने कुरामा म विश्वस्त छु,' उनले भने, 'किनकि उनका मुक्तकहरू सरल भएर पनि गम्भीर प्रकृतिमा छन्। यो ठूलो कुरा हो।' गोविन्द गिरी 'प्रेरणा'ले सुन्दर मुक्तकको संग्रह नेपाली साहित्य आकाशमा आएको भन्दै खुसी व्यक्त गरे।

त्यस्तै, साहित्यकार निर्मोही व्यासले पनि हिउँको आगो मुक्तक संग्रहमा रहेका मुक्तकहरू भिन्न, शक्तिशाली र राम्रो रहेको टिप्पणी गरे। नियमित रुपमा साहित्यिक गतिविधि गर्दै आइरहेको मधुवन साहित्यिक प्रतिष्ठान, नेपालका अध्यक्ष जीवन खत्रीले कृति प्रकाशन गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, 'यसअघि पनि हामीले विभिन्न कृतिहरू प्रकाशन गरिसकेका छौँ। यो तेह्रो कृति हो।' कार्यक्रम उद्धघोषिका तथा प्रतिष्ठानकी सदस्य सजना वाइबाले यो संग्रह बिक्रीबाट प्राप्त हुने रकम प्रतिष्ठानको अक्षयकोषमा जाने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.