विज्ञापन खुलाएर डाक्टर राख्ने प्रदेश सरकारको दाबी

|

धनगढीः दैनिक चहलपहल भइरहने सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल सेती अञ्चल अस्पताल अहिले सुनसान छ। कारण सरकारी चिकित्सकको हडतालले आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेर डाक्टर आन्दोलित भएपछि अस्पताल परिसरमा बिरामीहरू छट्पटाउँदै डाक्टरको पर्खाइमा थिए। तर, डाक्टरले भने उपचार गर्न मानेनन्।

आकस्मिक सेवा पनि प्रभावित

सेती अञ्चल अस्पतालको इमर्जेन्सी कक्षबाहिर दुई महिने शिशुलाई आफ्नै काखमा राखेर एक महिला एकटकले हेरिरहेकी थिइन्। आफ्नै स्तन चुसाउन खोज्दा शिशुले मानिरहेको थिएन। डोटीको पूर्वचौकी गाउँपालिका ३ गैरागाउँबाट दुई महिने शिशु लिएर सेती अञ्चल अस्पताल आएकी गायत्री खडायत मलिन अनुहारमा अस्पताल बाहिरै बसेर डाक्टर कुरिरहेकी थिइन्।

बच्चाले दूध खान मानिरहेको छैन, मलीन अनुहारमा उनले भनिन्, ‘चिसो पसेको छ निमोनिया भयो कि खै डाक्टरले हेर्दिनुभएकै छैन।' मंगलबार इमर्जेन्सीमा भर्ना गराए पनि अहिलेसम्म विशेषज्ञ चिकित्सकहरूले चेक नगरिदिएको उनले गुनासो गरिन्। ‘नर्सहरूले हेर्नुभयो अहिलेसम्म डाक्टर आउनुभएकै छैन’ उनले फेरि बिलौना गरिन्। 

कञ्चनपुरको बेतकोट नगरपालिका ८ गैलनदीबाट छोरालाई लिएर आएकी पर्वती बोहरा पनि खडायतसँगै बसेर डाक्टर आउने बाटो हेरिरहेकी थिइन्। निरन्तर बेवास्ता गर्न थालेपछि  बोहराले छोरालाई महाकाली अञ्चल अस्पताल लगेकी थिइन्। महाकाली अस्पतालले सेती अञ्चल अस्पताल 'रेफर' गरेपछि उनी यहाँ आएकी हुन्। ‘सेतीमा राम्रो हुन्छ जानुहोस् भनेर हामीलाई पठाए तर यहाँ झन् समस्या भयो’ उनले भनिन्।

छोरालाई निकै समस्या भए पनि इमर्जेन्सीमा भर्ना गराएकी बोहराको गुनासो पनि खडायतको जस्तै छ। उनले भनिन्, ‘इमेरजन्सीमै अहिलेसम्म डाक्टरहरू आएनन् सायद आफ्नै क्लिनिकमा चेक गर्दै होलान्। उनले सरकारी अस्पतालमा सेवा प्रभावित गरेर निजीमा डाक्टर व्यस्त भएको आरोप लगाइन्।

सेती अञ्चल अस्पतालको इमरजेन्सी कक्षमा २० बेड छन्। बुधबार बिहान ९ बजे १९ बेड खाली थिए। सधैँ भिडभाड रहिरहने अस्पतालको इमरजेन्सी कक्ष चिकित्सकको आन्दोलनमा थप बिरामीको चाप हुनुपर्ने हो तर, इमरजेन्सी कक्षमा पनि सरकारी डाक्टरले समय नदिन थालेपछि बिरामीहरू समस्यामा परेका हुन्। अस्पताल बन्द छ भन्ने हल्लाले इमरजेन्सी कक्षमा बिरामीको चाप कम भएको कुमार विष्टले बताए। उनले भने, ‘आकस्मिक सेवा अवरुद्ध छैन तर बिरामीहरू भने कम छन्।’

सरकारी अस्पतालको अवस्थाले निजी जान बाध्य बिरामी

चिकित्सकको आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालको रूपमा रहेको सेती अञ्चल अस्पालमा आएका सैयौं बिरामीहरू मर्कामा परेका छन्। संघीय सरकारले गरेको कर्मचारी समायोजनको विरोधमा सरकारी चिकित्सकहरूले सेवा बहिष्कार गरेसँगै हजारौँ बिरामी मर्कामा परेका हुन्।

सहजै उपचार पाउने आसमा प्रदेशका दूरदराजबाट आएका बिरामीहरू अलपत्र परेका छन्। केही उपचार नपाएर अस्पतालमै छटपटाइ रहेका छन् भने केही निजी क्लिनिकमा जान बाध्य भएका छन्।

दार्चुलाको दुर्गम क्षेत्र व्यास गाउँपालिका-४ सन्सेराबाट हजुरबुवालाई लिएर आएका तेजबहादुर मल्लले ३ दिनसम्म पनि डाक्टरले नहेरेको भन्दै बुधबार बिहान निजी क्लिनिकमा लगेका छन्। ‘हजुरबुवाको खुट्टा भाँचिएर आएको तीन दिन भयो तीन दिनसम्म एक जना डाक्टरले पनि चासो देखाएनन्, रिफर रिपोर्ट बुझ्दै गरेका मल्लले भने, ‘आज अप्रेसन गर्ने भनेर कुरेका थियौँ, डाक्टरले नगर्ने भनेपछि अन्यत्रै लैजाँदै छौँ।’

दार्चुला अस्पतालले सामान्य उपचार गरेर सेती पठाएपछि त्यही अस्पतालले लेखिदिएको औषधी खाएर बस्नु परेको उनले गुनासो गरे। उनले भने, ‘सबै चेक गर्नु भने मैले गरे तर अहिलेसम्म अप्रेसन भएन।’

सरकारी अस्पतालमा सरल, सहज र सुलभ उपचार पाइने भनेर आएकाहरू चिकित्सकको आन्दोलनका कारण निजीमा जान बाध्य भएका छन्। तर, आर्थिक अभावले केही भने अस्पतालको सैयामै छटपटाइरहेका छन्। मंगलबार देब्रे हात भाँचिएपछि अस्पताल आएका कैलालीको चुरे गाउँपालिका ३ सहजपुरका मेघराज आचार्य अहिले पनि डाक्टरको पर्खाइमा छन्। आर्थिक अभावले निजी अस्पताल जान नसक्ने उनका दाजु ऋषिराम आचार्यले बताए। उनले भने, ‘हुनेहरू त यहाँ नभएपनि अन्तै गएर उपचार गराउलान् हामीलाई यही उपचार कसरी गर्ने भएको छ यस्तो अवस्थामा महँगो अस्पताल कसरी जानु र?’

बुधबार सेती अञ्चल अस्पतालको कार्यसूचीअनुसार अप्रेसन गर्नुपर्ने भए पनि डाक्टरहरूले नगरेपछि कोही निजी अस्पताल गएका छन् भने कोही अस्पतालकै शय्यामा छटपटाइरहेका छन्।

चिकित्सकको चेतावनी

सरकारी चिकित्सकहरू समायोजनमा विमति जनाउँदै ६ दिनदेखि आन्दोलनमा छन्। आकस्मिक सेवा नै प्रभावित हुने गरी आन्दोलनमा उत्रिएका चिकित्सकहरू सरकारलाई घोडा टेकाएरै छोड्ने बताउँछन्। चिकित्सकको अवमूल्यन हुने समायोजन नसच्याइए आन्दोलनका थप संघर्षमा उत्रिने चिकित्सकहरूले चेतावनी दिएका छन्।

आफूहरूका माग सम्बोधन नगरे सामूहिक राजीनामा दिने सेती अञ्चल अस्पतालमा कार्यरत डाक्टर कपिल गौतमले चेतावनी दिए। ‘अहिलेलाई हामीले अनिश्चितकालीन आन्दोलन गरेका हौँ’ गौतमले भने, ‘सरकार यस विषयमा गम्भीर नभए हामी संयुक्त रूपमा राजीनामा बुझाउँछौँ।’ 

समायोजनको विरोध गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पार्ने गरेका सरकारी डाक्टरहरूको आन्दोलनमा नेपाल चिकित्सक संघ सुदूरपश्चिमले पनि समर्थन जनाएको छ। चिकित्सक संघका अध्यक्ष प्रमोद जोशीले भने, ‘हामी देशका कुनै पनि कुना काप्चामा गएर काम गर्न तयार छौँ, त्यसैको लागि सरकारी जागिर खाएका हौँ तर जहाँ काम सुरु गर्‍यौँ। त्यहीँ काम सम्पन्न हुने अवस्था सृजना हुनु हुँदैन। त्यसैको लागि हाम्रो आन्लोलन हो।’

संघले डाक्टरको दरबन्दी संघ अन्तर्गत राख्दै आवश्यकता अनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग चिकित्सकको छ। सरकारले चिकित्सकहरूको वृद्धि विकासको वातावरण सृजना गर्नुपर्ने उनले बताए। ‘कुनै पनि स्थानीय तहमा गएका नयाँ डाक्टरहरूलाई वृद्धि विकासको लागि सरकारले माहौल बनाउनुपर्छ, जोशीले भने, ‘हामीलाई सरोकारवाला निकायले बोलाएर अब के गर्नुहुन्छ भन्ने प्रश्न पनि गर्नुभएको छैन।’

सरकारी चिकित्सकको आन्दोलनका कारण ७७ जिल्लाका जिल्ला अस्पताल, १० अञ्चल अस्पताल, ४ वटा क्षेत्रीय र उपक्षेत्रीय तथा ५ वटा केन्द्रीय अस्पतालको सेवा प्रभावित बनेको छ। देशभर झन्डै १ हजार ४ सय सरकारी चिकित्सक छन्।

विज्ञापन खुलाएर डाक्टर राख्ने प्रदेश सरकारको दाबी

सुदूरपश्चिम प्रदेशलाई चिकित्सकविहीन हुन नदिने सामाजिक विकास मन्त्रालयले दाबी गरेको छ। कर्मचारी समायोजनमा सुदूरपश्चिम प्रदेशमा कार्यरत विशेषज्ञ डाक्टरहरूले संघ रोजेपछि अहिले प्रदेशमा चिकित्सकको अभाव हुने चिन्ता बढेको छ।

रेफरल अस्पतालका रूपमा रहेको सेती अञ्चल अस्पतालमा पनि २ जना कन्सल्टेन्ट फिजिसियनबाहेक अरू विशेषज्ञ डाक्टरहरू नरहने भएका छन्। तर, सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले यस्तै अवस्था सृजना भइरहे मन्त्रालयले आफैँ विज्ञापन आह्वान गरेर भए पनि डाक्टर नियुक्त गर्ने दाबी गरेका छन्। ‘सुदूरपश्चिम प्रदेशका कनै पनि अस्पताल डाक्टर विहीन हुने छैन’ सामाजिक विकास मन्त्री सुबेदीले भने, ‘हामी विज्ञापन खुलाएर डाक्टर राख्ने छौँ। सेवा सुचारु गर्ने छौँ।’

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले मन्त्रालयले डाक्टर राख्ने विषयमा छलफल भइरहेको जनाए। उनले भने, ‘विज्ञापन रोकिएकाले मात्रै हामीलाई समस्या थियो अब तुरुन्तै विज्ञापन खुल्यो भने हामी २/३ महिनाभित्रै चिकित्सकको भर्ना प्रक्रिया अगाडि बढाउँछौँ।’ प्रदेश सरकारले आफैँ चिकित्सक भर्ना गरेपछि यस्तो समस्या नहुने र सरकारी अस्पतालबाट पनि सहजै सर्वसाधारणले सेवा पाउने उनले बताए।

सुदूरका अस्पतालहरूमा चिकित्सक शून्य हुने अवस्था

समायोजनमा सुदूरपश्चिम भर रहेका १३ वटै अस्पतालमा ८७ जना डाक्टर मध्ये ७९ जना डाक्टरले संघ रोजेका छन्।  सुदूरपश्चिम प्रदेश भरी रहेका झन्डै ९० प्रतिशत डाक्टरले संघीय सरकारमा समायोजन रोजेपछि प्रदेशका अस्पतालहरूमा चिकित्सक शून्य हुने अवस्था आएको हो।

सेती र महाकाली अञ्चल अस्पताल प्रदेश मातहत छन्। यस्तै अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला र डोटी जिल्ला अस्पताललगायत अन्य ४ वटा गरी १२ वटा अस्पताल प्रदेश सरकारको मातहतमा रहेका छन्। १२ वटा अस्पतालमा २ विशेषज्ञ र ४ मेडिकल अधिकृत तोकिएका हुन्। प्रदेशमा हाल विशेषज्ञ चिकित्सक ७४, मेडिकल अधिकृत ७१, जनस्वास्थ्य अधिकृत ६९, मेडिकल रेकर्डर ४, अहेब, अनमी ४ सय १९, नर्स १ सय ३० लगायत ३ हजार १ सय ७७ पद छन्। जसमध्ये ६ सय ३२ पद रिक्त छन्। ठुलो सङ्ख्यामा दरबन्दी खाली हुँदा र भएकाहरूले पनि आन्दोनका नाममा सेवा अवरुद्ध गर्दा बिरामीहरू मारमा परेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.