|

काठमाडौं : यसवर्ष नेपाली सांगीतिक क्षेत्रका लागि सफल गीतहरू बजारमा आए। सर्जकले आफ्ना गीतका लागि भरपुर मिहिनेत गरे। धेरैजसो गीतहरूले श्रोताको मन जित्न सफल भए। नेपाली लोकदोहोरी क्षेत्रमा युवापुस्ताको संख्या बढ्ने क्रम जारी छ। उत्कृष्ट शब्द सिर्जना र लयले एकपटक फेरि नेपाली लोकदोहोरी जुर्मुराएको छ। कुनैबेला लोक गीत भनेर नाक खुम्च्याउने पुस्ता अहिले लोकगीतको असल श्रोता बनेका छन्। चलचित्रमा पनि यसपटक लोक लयका गीतहरू बढी मात्रामा समावेश गरिए। जुन चलचित्रलाई चर्चामा ल्याउन सफल पनि भए। श्रोताको राय र युट्युवबाट सबैभन्दा धेरै हेरिएका चलचित्र र लोक दोहोरी क्षेत्रका दश गीतबारे चर्चा गरेका छौँ।

बोल माया

बोलमाया गीतबाट यसवर्ष सबैभन्दा धेरै चर्चामा आए गायक प्रकाश सपूत। नारायण रायमाझी, प्रकाश सपूत र शान्ति श्री परियारको आवाजमा रहेको यस गीत यो वर्षभरि नै चर्चामा रहन सफल भयो। गीतमा शब्द र संगीत गायक सपूतकै रहेको छ। संगीत संयोजन कमल सौरागले गरेका थिए। गीतमा प्रकाश सपूत र अंजली अधिकारी लगायतको अभिनय रहेको छ।  यो गीतलाई यो समाचार बनाउदाँसम्म १ करोडभन्दा बढीपटक हेरिएको छ।

सालको पात

यो वर्ष चर्चामा रहेको अर्को लोकगीत हो सालको पात। नवराज पन्तको शब्दमा, वसन्त थापाको संगीत रहेको उक्त गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको आवाज रहेको छ। यो वर्षभरि नै चर्चामा रहेको गीतमा नायिका सरिस्मा पोखरेल, कुलेन्द्र विश्वकर्मा र वसन्त थापाको नृत्य देख्न सकिन्छ। जसलाई चार करोडपटक हेरिएको छ।

लालुमै

विष्णु माझी र सन्दीप न्यौपानेको आवाज रहेको लालुमै यसैवर्ष बजारमा आयो। यो गीतले पनि दर्शकको माया पायो। शिव हमालको शब्द र संगीतमा रहेको उक्त गीतमा सृष्टि खड्का र सन्दीप न्यौपानेको अभिनय रहेको छ। गीतलाई एक करोडपटक हेरिएको छ।

लुट्न सके लुट

पशुपति शर्माले बजारमा ल्याएको लुट्न सके लुट कान्छाले सबैभन्दा धेरै चर्चा कमायो। विशेष गरी नेकपामाथि लक्षित गरियो भनेर यो गीतलाई बन्द गराइएको समाचारहरू प्रकाशन भए। पशुपति शर्माको आवाजमा रहेको यस गीतले नेपालको राजनितिमा समेत हलचल मच्चाइदियो। सडकदेखि संसदसम्म यो गीतको चर्चा भएको थियो।

मलाई देखेर

कुलेन्द्र विश्वकर्मा र मेलिना राईको स्वरमा रहेको 'मलाईदेखेर' बोलको गीतले पनि बजारमा राम्रो चर्चा कमायो। शब्द र संगीत ध्रुव शर्मा रहेको छ। यस गीतलाई पचास लाखपटक हेरिएको छ। अभिनय भने ध्रुव शर्मा र जुना सुन्दासले गरेका छन्।

पहिलो नम्बरमा

यस वर्षको हिट फिल्मको रूपमा रहेको छक्का पन्जा-३ मा रहेको गीत पहिलो नम्बर बोलको गीतले यसपटक खुबै चर्चा कमायो। दीपकराज गिरि, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहेको उक्त फिल्मको  यस गीतमा डेभिड शंकर र बिन्दु परियारको स्वर रहेको छ। राजेन्द्र थापाको शब्दमा रहेको उक्त गीतमा दीपक शर्माको संगीत रहेको छ। गीतलाई ३ करोड ५६ लाखपटक हेरियो।

गोजीमा दाम छैन

चंगाचेट चलचित्रमा रहेको गीत गोजीमा दाम छैन बोलको गीतले पनि आम दर्शक श्रोताको मन जित्न सफल भयो। राजनराज शिवाकोटी र मेलिना राईको आवाजमा रहेको उक्त गीतमा हरिहर तिमिल्सिनाको शब्द थियो भने संगीत राजनराज शिवाकोटी नै रहेको छ। ४ करोड पटक हेरिएको छ।

फूल होइन

नेपाल आइडलबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका प्रताप दास यसपटक चर्चामा रहे। उनको स्वरमा  रहेको फूल होइन भन्ने गीतले पनि युवापुस्ताको रोजाइमा पर्‍यो। प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको उक्त गीतमा संगीत एलिस कार्कीको रहेको छ भने शब्द भने राजेश कुमार श्रेष्‍ठको रहेको छ। यो गीतलाई २ करोड ५८ लाख पटक हेरिएको छ।

बनकी चरी

नेपाली चलचित्रप्रसाद फिलममा रहेको वनकी चरी बोलको गीतले पनि यसपटक बजार तात्यो। रूपक डोटेल र अन्जु पन्तको स्वरमा रहेको उक्त गीतलाई सुवास भुषालले संगीत गरेका थिए। शब्द संकलन भने बि पाण्डेले गरेका हुन्। जसमा निश्चल बस्नेत र अन्जली अधिकारीले नृत्य गरेका छन्। गीत १ करोड ७० लाखपटक हेरिएको छ।

रहर छ सँगै

युवापुस्तामाझ लोकप्रिय नायक हुन् अनमोल केसी। उनले अभिनय गरेको क्याप्टेन यसैवर्ष रिलिज भयो। फिल्मलाई दर्शकले माया नगरे पनि यसमा समावेश गरेको गीत रहर छ सँगै बोलको गीतलाई दर्शकले मन पराए। अन्जु पन्त र सुगम पोखरेलको स्वरमा रहेको यस गीतमा संगीत अर्जुन पोखरेलले गरेका हुन्। शब्द भने दिग्गज धौरालीको रहेको छ। यस गीतलाई १ करोडपटक हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.