श्रद्धाञ्जली सभाका लागि सभापति देउवा गुल्मी आउने

|

गुल्मी : बिहीबार बिहान करिब नौ बजेको समयमा मालिका गाउँपालिका २ दर्लिङबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका १ नेटा च्यानडाँडामा दुर्घटना हुँदा पूर्व सांसद रुद्रमणि भण्डारीसहित ३ जनाको निधन भयो।

नेपाली कांग्रेस घमिरका उपसभापति तथा नेपाल दलित संघका जिल्ला उपसभापति टेकबहादुर विकको मृत्यु भएकोमा श्रद्धाञ्जलि दिन पूर्वसांसद भण्डारी बुधबार आफ्नो घर धुर्कोट ५ वस्तुबाट घमिर पुगेका थिए। त्यहाँको श्रद्धाञ्जलि सकेर आफूले भूमिगत राजनीतिक जीवनमा पढाउने गल्कोट हटियास्थित अर्का एक मृतक साथीको तस्वीरमा श्रद्धाञ्जलि दिन अर्खवाङ हुँदै दर्लिङ पुगेर उक्त जीप चढीमा उनी गल्कोट जाँदै गर्दा दुर्घटनामा परेका थिए। 

को हुन पूर्वसांसद भण्डारी? 

धुर्कोट गाउँपालिका ५ वस्तुमा पिता उमाकान्त भण्डारी र माता कौशिला भण्डारीको कोखबाट २००४ साल कार्तिक १५ गते जन्मिएका थिए, शर्मा भण्डारी। संस्कृत शिक्षामा स्नातकसम्म अध्ययन गरेका शर्मा भण्डारी नेपाली कांग्रेसनिकट विद्यार्थी राजनीतिबाट सक्रिय राजनीति सुरु गरेका थिए। तत्कालीन शासकहरूले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि उनी गुल्मीबाट भूमिगत हुन बाग्लुङको गल्कोटतर्फ पुगेका थिए।

हटियाको एक विद्यालयमा पढाउँदै उनले राजनीतिक गतिविधिमा सामेल हुने गर्थे। नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठका अनुसार भण्डारी नेपाल विद्यार्थी संघ गुल्मीका संस्थापक जिल्ला सदस्यबाट खुल्ला राजनीतिक यात्रामा सक्रिय भएका हुन्। उनी २०५८ सालमा सो पार्टीको जिल्ला सभापति भएका थिए। २०४८ सालको निर्वाचनमा उनी गुल्मीको साविक क्षेत्र ३ बाट सांसदमा विजयी भए। पछिल्लो समय उनी महाधिवेशन प्रतिनिधि थिए। 

सभापति श्रेष्ठ लगायतका नेताहरूसँग उनी बुधबार घमिरमा पुगेर स्वर्गीय टेकबहादुर विश्वकर्माको श्रद्धाञ्जलि सभामा शोक मन्तब्य राखेका थिए। त्यही मन्तब्य नै उनको अन्तिम मन्तब्य बन्न पुग्यो। केही दिनअघि भेटमा अब त बूढो भइन र? भन्ने प्रश्नमा उनले राजनीतिमा कहिल्लै बूढो नभइने प्रतिक्रिया दिँदै तरुणको जस्तै जोस आफूमा रहेको बताएका थिए। 

नेपाली कांग्रेस मालिका गाउँपालिकाका छाया सरकार प्रमुख उपेन्द्र अर्यालले उनका बारेमा सम्झिए। ‘हिजो घमिरबाट आएर ठुलाचौरमा पार्टीका साथीसँग उहाँले बैठक राख्नुभयो। त्यसपछि मेरै घरमा आएर बस्यौं। पार्टी संगठनलाई चुस्त पार्न उहाँका सुझाव सल्लाह पायौँ। सादा खान खाने उहाँले दाल भात तरकारी खानु भयो। बिहान उठेर पानी र चिया पियौं', उनले भने,  'मैले उहाँलाई मोटर साइकलमा दर्लिङसम्म छाड्न गएँ। जाउँ उपेन्द्र गल्कोटसम्म भन्दै हुनुहुन्थ्यो। मेरो यहाँ जरुरी काम भएकोले जान सकिन। दर्लिङ पुगेर पनि चिया पियौं। उहाँ गाडीमा चढ्नु भयो। धुर्कोटमा आउनु र बसौला भन्दै हात हल्लाउनु भयो। जुन नै अन्तिम वाईवाईको हात बन्न पुग्यो। त्यही दृश्य मानसपटलमा घुमेको छ। त्यसैले धेरै बोल्न सक्ने अवस्थामा छैन।'

उनी सांसद रहँदा त्यस क्षेत्रका मोटरबाटो, खानेपानी, शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय काम भएका थिए। धुर्कोटको हिमालय माध्यमिक विद्यालय, त्यहाँको क्याम्पस स्थापनामा उनको ठूलो देन छ।  हरेकसँग नमुस्कुराई नबोल्ने र वोलीमा मिठास उनको भुल्नै नसक्ने स्वभाव रहेको अर्याल बताउँछन्।

हामीले अभिभावक गुमायौं : गाउँपालिका प्रमुख 

धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल भने, ‘उहाँसँग मेरो पछिल्लो भेट चैत्र २३ गते भएको थियो। हिजो मन्त्री वैजनाथ चौधरी धुर्कोट आउनु हुने भएकाले जसरी पनि आई दिनु हुन मैले उहाँलाई निमन्त्रणा गरेको थिएँ। हिजो उता नगएर यता आएको भए पनि यस्तो दु:खद् घटना हुने थिएन कि? हुन त उहाँ सिंगाे गुल्मीकै अभिभावक हो। त्यसमा पनि हामी धुर्कोटवासीका लागि घर कै खम्वा अभिभावक हो। जसलाई हामी गुमाउनु पुगेका छौं। धुर्कोटवासी शोकाकुल छौँ।’

सभापति श्रेष्ठ यसरी सम्झिन्छन् 

नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले हिजो घमिरमा भएको श्रद्धाञ्जलि सभामा पूर्व सांसद भण्डारी र आफूहरूसँगै गएको बताए। सभापति भुवनप्रसाद श्रेष्ठले हिजो उनले त्यस श्रद्धाञ्जलि सभामा बोलेका कुरा स्मरण गरिरहेको बताए। 'उहाँ बृद्ध उमेरमा पनि तरुण जति कै राजनीतिमा सक्रिय हुँदै आउनु भएका नेता हुनुहुन्थ्यो। उहाँमा कहिल्लै थकान आएन। उहाँको राजनीतिक इतिहास धेरै लामो छ। शोकको यस घडीमा ब्यक्त गर्न गाह्रो छ। हामी स्तब्ध छौं।' 

विकासप्रेमी नेता गुमायौँ : नेकपा गुल्मी 

नेपाल कम्युनिष्ट पार्टी गुल्मीले एक विज्ञप्ति निकाल्दै असल र विकासप्रेमी नेता गुमाउनु पर्दा दुःख लागेको बताएको छ। नेकपा गुल्मीका अध्यक्ष बालसिंह काउछाले गुल्मेली एक असल व्यक्तित्व, विकासप्रमी नेता र विकासप्रेमी नेता गुमाउनु पर्दा दुःख लागेको बताए। काउछाले भण्डारीबाट अन्य नेताहरूले धेरै पाठ सिक्नु पर्ने बताए। 'नेकपा गुल्मीले  एक विज्ञप्तिमा भनिएकाे छ नेता भण्डारीको निधनले पार्टी स्तब्ध भएको छ। जिल्लाको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको छ' उनले भने। 

श्रद्धाञ्जलि सभामा पाटी सभापति देउवा शुक्रबार गुल्मी आउने 

भण्डारीको श्रद्धाञ्जलि सभामा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माहामन्त्री शशांक कोइराला लगायतका केन्द्रीय नेताहरू गुल्मी आउने कार्यक्रम तय भएको नेपाली कांग्रेस गुलमाीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए। भण्डारीको शवलाई शुक्रबार धनार्जी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। उनका दुई श्रीमती, एक छोरा र  छोरी छन्।  


सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.