नाता प्रमाणित गर्ने नहुँदा समस्या

|

कालिकोट : राष्ट्रियसभाका सांसद जीवन बुढाकी १०६ वर्षीया हजुरआमा माया बुढा अहिलेसम्म पनि नागरिकताविहीन छन्। कालिकोटको नरहरिनाथ गाउँपालिका-३ कुमालगाउँमा रहेकी बुढाले अहिलेसम्म नेपाली नागरिकता पाएकी छैनन्।

बुढाले नेपाली नागरिकता नपाउँदा सरकारी सेवासुविधाबाट वञ्चित भएकी छन्। बुढाका श्रीमान र छोराछोरीको मृत्यु भइसकेका कारणले नाता प्रमाणित गर्ने कुनै आधार नहुँदा नागरिकताविहीन भएकी हुन्।

विगतमा महिलाले नागरिकता बनाउने चलन नभएका कारणले उनी अहिलेसम्म पनि नागरिकताविहीन भएको स्थानीय वीरेन्द्रबहादुर बुढाले बताए। ‘पहिला महिलाहरूले खासै नागरिकता बनाउने चलन थिएन्’ उनले भने, ‘नागरिकताको आवश्यकता नपर्ने भएका कारणले पनि नागरिकता नबनाएको होला।’ बुढा भन्छिन्, : ‘गाउँगाउँमा सिंहदरबार आएपछि सेवाबाट वञ्चित भएँ’

नेपालमा २०६३/०६४ सालमा आन्दोलनपछि आफूले सेवासुविधा पाएको भएता पनि स्थानीय तहको निर्वाचनपछि भने सुविधाबाट वञ्चिन हुनु परेको गुनासो गरिन्। ‘देशमा गणतन्त्र आएपछि सरकारी सेवा सुविधा पाएकी थिएँ’ उनले भनिन्, ‘अहिले गाउँगाउँमा सिंहदरबार आए पनि सेवासुविधाबाट वञ्चित छुँ।’

२०६४ सालको संविधानसभाको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका कारणले मतदान गरेको बुढाले बताइन्। तीन तहको निर्वाचनमा नागरिकताका आधारमा मतदाता परिचय पत्र बनाएका कारणले मतदान गर्न नपाएको उनको भनाइ छ। उनले आफूसँग नागरिकता नभएका कारणले मतदानबाट वञ्चित हुनुपरेको गुनासो गरिन्।

२०६४ सालको संविधान सभाको निर्वाचनपछि सामाजिक सुरक्षाभत्ता समेत लिने गरेकोमा अहिले नागरिकता नभएकै कारण आफू उक्त सुविधाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ। स्थानीय तहले वृद्धभत्ताका लागि नागरिकता खोजेपछि त्यो सुबिधाबाट पनि वञ्चित हुनुपरेको बुढाले बताइन्। ‘पहिला पहिला हाम्रो जमानामा महिलालाई नागरिकता आवश्यकता थिएन्’ उनले गुनासो गरिन्, ‘अहिले नागरिकता नभएका कारणले भत्ता पनि पाइन। नागरिकता बनाउने कुनै आधार पनि छैन्।’

देशको नीति निर्माण तहमा आफ्नो नाती भए पनि आफूले नागरिकतासमेत पाउन नसकेको बुढाले गुनासो गरिन्। ‘देशको नीति नियम मेरो नातीले बनाउछ भन्ने सुनेकी छु’ उनले भनिन्, ‘त्यो नीति नियम भनेको के हो ? मलाई थाहा नै छैन्।’

बुढाले आफूले पनाति पनातिनी देखेको भए पनि आफ्नै देशको नागरिकता देख्न नपाएको गुनासो गरिन्। ‘हामी यही देशमा परापूर्वकालदेखि बस्दै आएका छौँ’ उनले भनिन्, ‘मैले आफ्ना सन्तानका सबै नाता देखिसकेँ। तर, आफ्नै देशको नागरिकता देख्न पाएको छैन्।’

नाता प्रमाणित गर्ने नहुँदा समस्या

नाता प्रमाणित गर्ने आफ्नो परिवारमा कोही नहुँदा हजुरआमाको नागरिकता बनाउन नसकिएको सांसद जीवन बुढाले बताए। ‘हजुरबुबा पहिले नै बित्नुभयो। बुबाका भाइहरू बितिसके’ उनले भने, ‘अहिलेको नियमअनुसार नातिले नाता प्रमाणित गर्न नमिल्दो रहेछ।’

हजुरआमालाई सदरमुकाम बोकेर ल्याउँदा पनि समस्या हुने भएकाले नागरिकता बनाउन नसकिएको सांसद बुढाले बताए। ‘हामीले नागरिकता शिविर गाउँमा चलाउन पहल थालेका छौँ’ उनले भने, ‘त्यही बनाउने तयारी गरेका छौँ।’

नरहरिनाथ गाउँपालिका सडक सञ्जालले नछोएको र हिड्न नसक्ने हजुरआमालाई बोकेर लैजादा बिरामी हुने समस्या रहेको सांसद बुढाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.