उपत्यकामा बढ्दै क्यान्सरका बिरामी

|

काठमाडौं : नेपालमा नसर्ने रोगहरूको जोखिम बढ्दै गएको तथ्यांकले देखाइरहेको बेलामा क्यान्सरका बिरामी बढ्दै गएको पाइएको छ। काठमाडौं उपत्यकामा अन्य रोगभन्दा नसर्नेहरूमध्ये क्यान्सरका बिरामी धेरै फेला परेका छन्। काठमाडौं उपत्यकामा ६ महिनाको अवधिमा क्यान्सरका सात सय दुईजना नयाँ बिरामी फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धानले सो कुरा देखाएको हो। 

परिषद्ले गरेको अनुसन्धानमा  जनसंख्यामा आधारित क्यान्सर रजिष्ट्रीको पहिलो ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो। यो सन् २०१८ जनवरीदेखि जुन महिनासम्मको तथ्यांकले काठमाडौं उपत्यकामा नयाँ क्यान्सरका बिरामीहरु धेरै बढ्दै गएको देखिएको हो।

परिषद्का कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झाले  सात सय दुई नयाँ बिरामीमध्ये सबैभन्दा बढी ७० देखि ७४ वर्ष उमेरसमूहका रहेकोसमेत बताए। सन् २०१८ को जनवरीबाट कुन क्षेत्रमा  मा बसोबास गरिरहेका जनसंख्यामध्ये कतिमा बर्सेनि नयाँ क्यान्सर रोगी देखा परेका छन्, कुन क्षेत्रमा कति जनाको, कुन अंगको क्यान्सरले मृत्यु भएको छ भन्ने तथ्यांक निकाल्न क्यान्सर रजिष्ट्री  प्रणाली सुरु गरिएको थियो।

परिषद्ले इन्टरनेसनल एजेन्सी फर रिर्सच अन क्यान्सर (आइएआरसी)  सँग समन्वय गरी यो प्रणाली सञ्चालन गरिरहेको छ। यसका लागि क्यान्सरका बिरामी तथा मृतकको विवरण संकलनमा हालसम्म नेपाल तथा बाहिरका गरी ४८ किसिमका स्रोत प्रयोग भइरहेको समेत परिषद्ले बताएको छ।

बिरामीमा महिला बढी

यस्तै उपत्यकामा पुरुषको तुलनामा महिलामा धेरै क्यान्सर देखिएको समेत परिषद्को अनुसन्धानले देखाएको छ। जसमा गएको ६ महिनाको अवधिमा जसअनुसार तीन सय ७९ महिला र तीन सय २३ पुरुष रहेका छन्। यस्तै, तथ्यांकको आधारमा सबैभन्दा धेरै क्यान्सरका बिरामी फोक्सोको रहेको समेत पाइएको छ। पुरुषमा फोक्सो र दोस्रोमा ओठ तथा मुखको क्यान्सर सबैभन्दा बढी र महिलामा स्तन क्यान्सर पहिलो नम्बरमा र दोस्रोमा फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ।

यससँगै  पुरुषमा आन्द्रा, तथा गुदद्वारको क्यान्सर र  महिलामा पाठेघरको क्यान्सर पनि बढी मात्रामा भएको पाइएको छ। क्षेत्रअनुसार सबैभन्दा बढी काठमाडौंमा ६३ प्रतिशत, ललितपुरमा २१ र भक्तपुर जिल्लामा १६ प्रतिशत क्यान्सरका रोगी रहेको अनुसन्धानले देखाएको जानकारी दिए। प्रारम्भिक तथ्यांकअनुसार नेवार समुदायमा क्यान्सरको प्रकोप ३९ प्रतिशत, बाह्मणर क्षत्रीमा ३६ र जनजातिमा १९ प्रतिशतमा देखिएको उनको भनाइ छ। पूर्ण तथ्यांक आउन भने अझै केही समय लाग्ने परिषद्‌ले जनाएको छ। नेपालमा  जनसंख्‍यामा आधारित क्यान्सरको तथ्यांक हालसम्म छैन। तर, परिषद्ले  २००३ देखि अस्पतालमा आधारित क्यान्सरको रजिष्ट्री भने भइरहेको छ।  

हाल फरक-फरक भौगोलिक क्षेत्र समावेश हुनेगरी ९ जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, पश्चिम र पूर्वी रुकुममा) जनसंख्यामा आधारित रजिष्ट्री भइरहेको छ।

ती जिल्लामा बसोबास गने व्यक्तिको क्यान्सर रोगको निदान तथा उपचारबारे जान्न सम्भावित सबै स्वास्थ्य संस्था, अस्पताल, प्याथोलोजी, आयुर्वेद, सामाजिक स्वास्थ्य सुरक्षा शाखा लगायतबाट क्यान्सरका नयाँ तथा पुराना क्यान्सर रोगीको तथ्यांक संकलन भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.