|

आफ्नी पत्नीको रक्षा गर्न नसक्ने पनि भगवान्! भगवान् भएर पनि रामले सीताको हरण कसले गर्‍यो भन्ने किन थाहा पाउन सकेनन्? रावणको राज्य लंका पत्ता लगाउन नसकेर किन धुइँधुँइ खोज्नुपर्यो? रावणसामु पुग्न किन बाँदरहरूको सहयोग खाँचो पर्‍यो? रावणलाई मार्ने सूत्र किन भाइ विभीषणले बताउनुपर्‍यो? देवता भएर पनि रामले किन पतिव्रता पत्नी त्यागे?  यस्ता प्रश्नहरू सनातन समाजमा समयसमयमा उठछन्।

विष्णुजस्ता त्रिलोकका स्वामीले अयोध्याको राज्यको कामना गर्नुपर्ने वा राज्य नपाएर लुरुलुरु वनवास जानुपर्ने थियो र! दुष्टले छक्याएको चाल नपाई लहलहैमा सुनको मृगपछि दौडिएर पत्नी गुमाउनु पर्ने थियो र! त्रिकालदर्शी भगवानलाई रावणको राज्य पत्ता लगाउन भौँतारिहनु पर्ने वा उनीसामु पुग्न बाँदरहरूको सहयोग लिइरहनुपर्ने थियो र! श्रीमद्भागवतको नवम स्कन्ध एघारौँ अध्यायको २०औँ श्लोकमा भनिएको छ, देवताहरूको प्रार्थनाका कारण उनीहरूको काम सिद्ध गर्नमात्र लीलाले विष्णुले मानव शरीर धारण गरेका हुन्। अर्थात् निश्चित उद्देश्य पूरा गर्न र लोकलाई मार्गदर्शन गर्न नारायणले मानव रूपमा जन्म लिएका हुन्। 

रावणलगायत असत् पक्षको अत्याचार बढेपछि भगवान् विष्णुले सातौँ अवतार लिनुपरेको थियो, मर्यादापुरुष रामका रूपमा। खट्वाङ्गका नाति र दीर्घबाहुका छोरा महायशस्वी रघुको नाम पुराणमा प्रख्यात छ। उनै रघुका छोरा अज र अजका छोरा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ।

भागवत् गीताको चौथो अध्यायको सातौँ र आठौं श्लोकमा एउटा सन्दर्भ छ, जबजब धर्ममा संकट आउँछ, अधर्मको बृद्धि हुन्छ, दुष्टको संहार गरी सज्जनको रक्षा गर्न भगवानले विभिन्न रूप लिन्छन्। ब्रह्माण्डमा असत्य हाबी हुँदा भगवान् विष्णुले विभिन्न अवतार लिएको पौराणिक ग्रन्थमा उल्लेख छ। भगवान्ले जीवजन्तुदेखि मानिससम्मको अवतार लिई अधर्म नाश गरेका प्रसंग आउँछन्।

रावणलगायत असत् पक्षको अत्याचार बढेपछि भगवान् विष्णुले सातौँ अवतार लिनुपरेको थियो, मर्यादापुरुष रामका रूपमा। खट्वाङ्गका नाति र दीर्घबाहुका छोरा महायशस्वी रघुको नाम पुराणमा प्रख्यात छ। उनै रघुका छोरा अज र अजका छोरा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ।

भगवानको अवतार निश्चित उद्देश्य पूरा गर्नु त हुन्छ नै, कसैको इच्छापूर्ति गरिदिनु पनि रहेको हुन्छ। कश्यप ऋषि र अदितिले ‘तपाइँजस्तै छोरा पाऊँ’ भनी भगवान् विष्णुको आराधना गर्दा कुनै कालमा छोरा भइ जन्मिने वरदान दिएका थिए। यही वचन पूरा गर्न दशरथ र कौशल्यालाई पुत्रसुख दिन आइपुगेका थिए, राम। कैकेयीबाट जन्मेका भरत, सुमित्राका छोरा लक्ष्मण र शत्रुघ्न पनि भगवानकै अंशावतार हुन्, रामलाई सघाउन आएका। 

रामायणअनुसार रावण आदि राक्षसका कारण पृथ्वी नै पीडित भएकी थिइन्। पृथ्वीको पीडा देख्न नसकेर ब्रह्मादि ऋषिहरूले यसबाट मुक्ति दिन भगवान् विष्णुसामु आग्रह गरेका थिए। भगवान् विष्णुले आफू अयोध्यामा जन्मिने र भगवती लक्ष्मीले सीताका रूपमा जनकपुरमा जन्म लिने बताएका थिए।

यस्तै भगवानको अवतारको उद्देश्य लोकलाई कर्तव्यको मार्ग देखाउनु पनि हुन्छ। ‘करियर’ वा आफ्नो भविष्यको निर्धारण आफैँ गर्ने नाममा बाबुआमा त्याग्ने वा उनीहरूलाई हेलाँ गर्नेको कमी छैन हाम्रो समाजमा। अलिकति धनको आश देखाउने हो भने बाबुआमाको ‘नामोनिशान’ मेटाउन लागिपर्ने हाम्रै समाजमा छन्। आफूले पुरुषार्थ गर्न नसक्ने पितृधनमा दागा धरेर बस्नेको पनि बाहुल्य छ। आफूलाई जन्माएर, हुर्काएर उचित शिक्षादीक्षा दिने मातापिताप्रति गर्नुपर्ने कर्तव्यको ख्याल थियो रामलाई। हातमा आउन लागिसकेको राज्य त्याग गदै वनवास बस्न पिताको एक वचनमा। राम वनवास गएर के भो? दरबारमा हुर्केकी सीता रामको पछि लाग्दिन भन्न सक्थिन् तर उनी पत्नीधर्मको आदर्शबाट चुक्न चाहिनन्। 

भाइ लक्ष्मण पनि दरबारको आरामको जीवन बिताउन छोडेर दाजु र भाउजुको सेवकका रूपमा पछि लागे। दाजुको सुखलाई नै अफ्नो सुख र उनको दुःखलाई आफ्नो दुःख बनाएर हिँडे। आमाको त्यत्रो परिपञ्चबाट हातमा आइलागेको राजगद्दी पनि त्याग्नसक्ने भरतको महानताबाट ठूलो पाठ सिक्न सकिन्छ। भौतिक सुखसुविधाभन्दा कर्तव्य ठूलो हो भन्ने उनको त्यागले दिएको शिक्षा हो। दाजुलाई फर्काउने उद्देश्य पूरा नभएपछि १४ वर्षसम्म दाजुको खराउलाई गद्दीमा राखे। दाजुभाउजु फर्केपछि ससम्मान राजगद्दी सुम्पे।

रावणको अन्त्य गरी लक्ष्मण र सीतासहित राम जन्मभूमि फर्किए। लंकाजस्तो वैभवशाली राज्यको राजा भई बस्न पनि सक्थे तर उनले त्यसो गरेनन्। भरतलाई दिएको वचन पूरा गर्नु थियो नै 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' भन्ने सन्दर्भ पनि यहाँ जोडिएको छ। अर्थात् जति नै वैभव र सुखसुविधा पाए पनि जन्मदिने आमा र जन्मभूमिभन्दा ठूलो केही हुन सक्दैन।

वनबासका क्रममा रावणले रिसिइबी साँध्न सीताहरण गर्‍यो। मानिसको रूपमा जन्म लिएपछि सुखदुःखको आरोह अवरोहको अनुभव त हुने नै भयो। रावण र उनको राज्यसम्म पुग्न रामले निकै कष्ट गर्नुपरयो। उनको यस कार्यमा सुग्रीवलगायतका बाँदर र दूत हनुमानले ठूलो सहयोग गरे। बाँदरबाट समुद्रमा पुल बनाउने काम त कर्मको महत्त्व देखाउन गरिएको थियो। रावणसम्म पुग्न अन्य धेरै राक्षसको सामना गरे, राम र लक्ष्मणले। भनिन्छ, रावण पनि रामजस्ता अंशावतार पुरुषको हातबाटै मर्न चाहन्थे। देवताबाट मर्न नसक्ने वरदानका लागि नै भगवान् मानिसको रूपमा जन्म लिएको कुरा रावणजस्ता विद्वानले थाहा नपाउने कुरा थिएन।

रावणको अन्त्य गरी लक्ष्मण र सीतासहित राम जन्मभूमि फर्किए। लंकाजस्तो वैभवशाली राज्यको राजा भई बस्न पनि सक्थे तर उनले त्यसो गरेनन्। भरतलाई दिएको वचन पूरा गर्नु थियो नै 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' भन्ने सन्दर्भ पनि यहाँ जोडिएको छ। अर्थात् जति नै वैभव र सुखसुविधा पाए पनि जन्मदिने आमा र जन्मभूमिभन्दा ठूलो केही हुन सक्दैन। रावणका भाइ विभीषणलाई लंकाको राजा बनाई अयोध्या फर्किए। गुरु बशिष्ठलाई आचार्य बनाएर ठूलो यज्ञ गरे।

राम राजा भएको बखतको रोमाञ्चक वर्णन भागवतमा छ। त्रेतायां वर्तमानायां कालः कृतसमोऽभवत्। रामे राजनि धर्मज्ञे सर्वभूतसुखावहे। (भागवत९–११–५२) अर्थात् राम राजा हुँदा त्रेतायुग भएपनि सत्यगुग नै हो कि भन्ने भान परेको थियो। प्रकृतिका सम्पूर्ण अवयव  प्रजाका निम्ति अनुकूल थिए। प्रजालाई मानसिक चिन्ता, शारीरिक रोग, बुढ्याइँ, ग्लानि, दुःख आदि कष्ट थिएन। एक पत्नीव्रतधारण गरेका थिए, रामले। प्रजाको दुःख कष्टको बारेमा सदा ख्याल गर्थे। आफ्ना नागरिकको पीरमर्का बुझ्ने क्रममा पठाइएका गुप्तचरले ‘सीतालाई रानी बनाएकोमा केही नागरिक रुष्ट भएको’ सन्देश ल्याए।

लोकापवादबाट बच्न त्याग गरे पनि रामको हृदयमा सीताबाहेक कोही थिएन। सीताको त्यागबाट राम खुशी हुन सकेनन्। तैपनि प्रजाहरू सुखका निम्ति आफ्ना खुशीको त्याग गरेका थिए। शोकमा रहँदा पनि रामले कर्म त्याग गरेनन्। तिनै कर्मकै कारण रामचन्द्र मर्यादापुरुषका रूपमा पुजनीय बनेका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.