चर्चामा रेशम चौधरीको फैसला र सुनकाण्ड पनि

|

धनगढी : साउन १० गते भीमदत्त नगरपालिका १८ निम्बुखेडामा साथीको घरमा गएकी किशाेरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटियो। घटनाको ८ महिना बितिसक्दा पनि बलात्कार र हत्यामा संलग्नहरू पक्राउ परेका छैनन्।

बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा भदौ ८ गते प्रहरीको गोली लागी १४ वर्षीय किशोर सनी खुनाको ज्यान गयो। निर्मला बलात्कार र हत्या प्रकरणले सुदूरपश्चिम मात्रै होइन मुलुक नै तरंगीत बनायो। केही अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले पनि यस घटनालाई प्राथमिकता दियो। बलात्कार र हत्या पछि महिनौँसम्म अपराधी पक्राउ नपर्नुले घटनलाई थप रहस्यमय बनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैयौँ व्यक्तिलाई पक्राउ परेपछि अझैसम्म बलात्कार र हत्या कसले गरेको हो भन्ने विषय रहस्यमै रहेको छ। 

बरु घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै दर्जन बढी प्रहरी अधिकारीहरूले कारबाही झेल्नु पर्‍यो। कयौले यातना पाएपछि घटना स्वीकार गरे पनि डिएनए रिपाेर्ट नमिलेर रिहा भए। प्रमाण नष्ट गरेको र निर्देशलाई यातना दिएको भन्दै तत्कालीन एसपी दिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटी लिई रिहा भए। निर्मला हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दाका आरोपी निलम्बित प्रहरी नायव उपरीक्षक अंगुर जिसी ९ लाख धरौटीमा रिहा भएका थिए।

हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका ८ प्रहरीमध्ये ६ प्रहरीलाई धरौटीमा रिहा गर्न फागुन ३० गते कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको थियो। सुदूरपश्चिम मात्रै नभइ मुलुक नै तरंगीत बनाएको उक्त घटनाका दोषीलाई पक्राउ गर्न नसक्दा नेपाल प्रहरी पनि यस वर्ष केही अलोकप्रिय बन्यो।

बलात्कार र हत्या 

निर्मला पन्तको बलात्कार र हत्याले चर्चा पाएपनि सुदूरपश्चिम प्रदेशमा यस वर्ष दर्जन बढी बलात्कार र हत्या भएको छ। असार १२ गते कार्यालय जान भनेर घरबाट निस्केकी कैलालीको गौरिगंगा नगरपालिका ११ की माया विक कार्यालय पुगिनन्। सामाजिक परिचालनको जिम्मेवारीमा रहेकी माया कहाँ गइन् भनेर सोध खोज भयो। राति अबेरसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारका सदस्य अतालिए र प्रहरीमा हराएको उजुरी दिए। धेरैले आफन्तका घरमा गएको अनुमान लगाए तर १५ गते उनको शव भेटियो। उनको सामूहिक बलात्कारपछि बीभत्स हत्या भएका अवस्थामा शव भेटिएको थियो। घटनाको एक साता हत्यामा संलग्न पाँचै जनालाई प्रहरीले पक्राउ गर्‍याे। 

माया विक

असार २६ गतेदेखि घरबाट बेपत्ता भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ आमखैयाकी १७ वर्षीया कविता विष्टको छ दिनपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। 

पारिवारिक हत्या 

सुदूरपश्चिम प्रदेशमा यस वर्ष पारिवारिक हत्या श्रृंखालामा वृद्धि भएको छ। कैलालीको गोदावरी नगरपालिका १० ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरिन्। वैशाख १६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका २ का २४ वर्षीय बिस्टसँग उनको मागी विवाह भएको थियो। 

प्रहरीको अनुसन्धानअनुसार विवाहपूर्व गोदावरी नगरपालिका १२ खमौराका २४ वर्षीय दीपकसँग प्रेम सम्बन्ध थियो। यसै कारण बिहे भएको दुई महिना नपुग्दै प्रेमीसँग मिलेर उनले श्रीमानलाई भासु भिरबाट खसालेकी थिइन्। घटनाको पाँचौँ दिन असार १२ गते बिस्टको शव कैलालीको चुरे गाउँपालिका ८ भासुभीरमा सडेको अवस्थामा फेला पर्‍याे। त्यसै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरे। ३७ वर्षीय केशवले ३६ वर्षीया सरस्वतीलाई खेतमा हतियारले हिर्काएर हत्या गरे। सशस्त्र प्रहरीका हवल्दार कार्की श्रीमती हत्या अभियोगमा अहिले कारागारमा छन्। 

कैलालीको भजनी नगरपालिका ९ भुरुवामा निर्मला राजीले प्रेमी दीलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरिन्। राजी साउन ४ गते हराएका थिए। उनको शव घर नजिकैको जंगलमा खाल्डोभित्र फेला परेको थियो। मृतकका आफन्तले निर्मला र दिलिपबीच लामो समयदेखी प्रेम सम्बन्ध रहेको बताएका थिए। भदौ ५ गते कैलालीको लम्की चुहा नगरपालिका ९ प्रतापपुरमा धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमानले श्रीमती को हत्या गरे।

भीमदत्त नगरपालिका ९ टुँडिखेल सिङ्गापुरका अन्दाजी ४५ वर्षीय चन्द्र पुन मगरले ३५ वर्षीया श्रीमती विमला पुन मगरको बन्चरो प्रहार गरी हत्या गरेका गरे। माघ ६ गते कैलालीको जानकी गाउँपालिका ७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरे।

विवाद र हत्या

कार्तिक ३० गते राति धनगढीको उत्तरबेहेडीमा विजय थापाको हत्या भएको थियो। थापाको हत्यामा उनकै साथी आशिस सेठी संलग्न रहेको भन्दै प्रहरीले मंसिर १७ गते सेठीलाई सार्वजनिक गर्‍यो। थापाको हत्या भएकै दिन अभियुक्त सेठीलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले दुई सातापछि  सेठीलाई सार्वजनिक गर्‍यो। थापालाई भर्‍याङमा ठोकेर हत्या गरेको प्रहरीले जनाएको थियो।

विजय थापाको हत्या

माघ ५ गते  सुदूरपश्चिम प्रादेशिक महोत्सवबाट घर फर्कने बेला गोदावरी नगरपालिका १ का २० वर्षीय अरुण भट्टको हत्या भएको थियो। भट्टको हत्या भएको ३ दिन पछि प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो। चौथो दिन थप दुई जना पक्राउ परे। चैत्र २ गते कैलालीको खैराना पुल नजिकै मृत भेटिएका हर्क भण्डारीको हत्या आरोपमा प्रहरीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा बस्दै आएका पुन्टु भनिने धिरज भाट र कैलालीको गोदावरी नगरपालिका घटनास्थलनजिकै रहेको लालपुर गाउँ बस्ने गोविन्द आउँजीलाई पक्राउ गरेको थियो। 

अत्तरिया बसपार्कमा सँगै रक्सी खाएर हत्याको योजना बनाएको खुलासा भएको थियो। सामान्य कुटपिट गरी पैसा लुटिकसेपछि घटना बाहिरिने डरमा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुन बरामद

मुलुकभर ३३ किलो सुनको चर्चा भइरहँदा यस बर्ष कञ्चनपुरबाट प्रहरीले साढे तेइस किलो सुन बरामद गर्‍यो। फागुन २ गते पुनर्वास २ दशरथ बस्तीबाट सीआइबी, अपराध अनुसन्धान महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको संयुक्त प्रहरी टोलीले १८ किलो सुन बरामद गरेको थियो। सोही टोलीले अर्को दिन फागुन ३ गते ५ किलो ६ सय ग्राम सुन बरामद गरेको थियो।

साढे तेइस किलो सुन प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले प्रहरी जवान सुरज तिरुवालाई १० लाख धरौटी र लक्ष्मण तिरुवालाई जेल चलान गरेको भए पनि सुरज तिरुवाले धरौटी तिर्न नसक्दा उनी पनि जेल चलान भएका थिए।

रेशमको फैसला

टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेसमलाल चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। फागुन २२ गते कैलाली जिल्ला अदालतले गरेको उक्त निर्णयले राजनीतिक बृत्तमा यस वर्ष चर्चा पायो। यति सम्म कि सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी राजपाले सरकारको समर्थन फिर्ता लियो।

अदालतले सांसद चौधरीसहित हरि नारायण चौधरी, राजकुमार कठरीया, सुन्दर लाल कठरीया, बृज मोहन डगौँरा, राजेश चौधरी, वीर बहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलमा १३ ९३० बमोजिम जन्म कैदको फैसला सुनाएको थियो।

घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई रिहा गर्न अदालतले आदेश दिएको थियो। लक्ष्मण चौधरी, लाहुराम चौधरी, राम कुमार कठरीया, सन्तराम चौधरी, बिसराम भनिने जितराम डगौँरा, प्रेमबहादुर चौधरी, किशनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष थारु चौधरी र रामप्रसाद चौधरीलाई रिहा गर्न अदालतले आदेश दिएको हो। अदालतले पक्राउ परेका नुरुल अलि जागा भन्ने तहाँवर अलि जागा, बिसराम चौधरी (कुस्मी) र रमा नरेश चौधरीलाई निर्दोष रहेको ठहर गरेको हो।

पक्राउ परेनन् अपराधीहरू, वर्षौदेखि रहस्यमै घटना

निर्मला पन्त बलात्कार र हत्यामा संलग्नहरू ८ महिनादेखि पक्राउ परेका छैनन्। २६ असारमा घरबाट हराएर छ दिन पछि कंगाल भेटिएको कविता बिस्टका हत्याराहरू पनि पक्राउ पर्न सकेका छैनन्। यस भन्दा पहिलेका केही ठूला घटनाहरूमा संलग्नहरू पनि अझैसम्म पक्राउ पर्न सकेका छैनन्। २०७४ जेठ ७ गते राति धनगढी उपमहानगरपालिका ७ छात्रावास टोलका ७२ वर्षीय बद्रीप्रसाद जोशी र उनकी ६५ वर्षीया श्रीमती कुन्तादेवी जोशीको रहस्यमय ढंगबाट हत्या भयो। वृद्ध दम्पति घटनाको दुई वर्ष पुग्नै लाग्दा पनि घटनामा संलग्न सबै पक्राउ पर्न सकेका छैनन्।

छ वर्षअघि २०६९ मङ्सिर २५ गते हत्या गरिएका ओमप्रकाश पन्तका परिवारले पनि अझैसम्म न्याय पाउन सकेका छैनन्। हत्याबारे प्रहरी प्रशासनले प्रभावकारी रूपमा अनुसन्धान प्रक्रिया अघि नबढाएको पीडित परिवारको गुनासो छ। केही वर्षअघि अत्तरियास्थित खाने पानी ट्यांकीनजिक बझाङबाट आएका शिक्षक धर्म जोशीको हत्याका दोषीहरू यस वर्ष पनि पक्राउ पर्न सकेनन्। अत्तरिया गोदावरी पुलनजिक अज्ञात महिलाको बलात्कारपछि भएको बीभत्स हत्या लगायतका कुनै पनि घटनामा प्रहरीले अपराधीलाई कानुनको दायरामा ल्याउन सकेको छैन। 

लोक सेवा आयोगका तत्कालीन क्षेत्रीय प्रमुख नवराज चौलागाई बेपत्ता भएको वर्षौसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। २०७० साल मंसिर २६ गते कञ्चनपुरको महेन्द्रनगरस्थित नेबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न लगिएको २ करोड ३० लाख ६० हजार नेपाली रुपैयाँ र २०० अमेरिकी डलर पूर्व-पश्चिम राजमार्गस्थित मालाखेती जंगलमा दिउँसै लुटिएको थियो। ५ वर्षमा दोषी पक्राउ पर्ने त परैको कुरा भयो प्रहरीले सुराकसम्म पनि हात पार्न सकेको छैन। 

अपराध नियन्त्रणमा चुनौती

केही महिना पहिले कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलस्थित महाकाली नदीको तटबन्धमा पनि स्थानीयको जग्गा अधियाँ गरी काम गर्दै आएका दार्चुलाको लेकम गाउँपालिका ३ का ४५ वर्षीय नैनराम सार्कीको पनि शंकास्पद अवस्थामा शव भेटिएको थियो। उक्त घटनाको छानबिनका लागि प्रहरीले छानविन समिति गठन गरे पनि घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन। सार्कीको टाउको र हातमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो।

एक पछि अर्को घटना बढ्न थालेपछि सरोकारवालाहरूले अपराध न्यूनीकरणमा समस्या भएको बताएका छन्। मुलुकका तीनै तहका सरकारहरूले चासो नदिन यस्ता अपराधिक गतिविधि बढेको महिला अधिकारकर्मी गोमा आचार्यले बताउँछिन्। ‘सरकार मात्रै होइन। महिला अधिकारकर्मी मानव अधिकार आयोग र अन्य सरोकारवालाहरू पनि गैरजिम्मेवार भए’ आचार्यले भनिन्। 

कानुन कार्यान्वयनको अवस्था फितलो बनेका कारण प्रदेशमा घटना घट्ने क्रममा रहेको प्रदेश सांसद पूर्ण जोशीको भनाइ छ। ‘युवाबाट यस्ता अपराध भएको पाइयो यस विषयमा छानविन हुनुपर्छ। कहीँ कसैलाई कसैले उन्मुक्ति दिन हुँदैन। हामी संसद्मा कुरा उठाउँछौँ’ सांसद जोशीले भनिन्। प्रदेशमा सरकार गठन भएको एक वर्ष बितिसकेको छ।

प्रदेश प्रहरी गठन नहुँदा प्रदेश सरकारको कुनै भूमिका नरहेको बताइन्छ। शान्ति सुरक्षामा प्रदेश सरकारको भूमिका नहुँदा अपराध न्यूनीकरणमा थप जटिलता आइरहेको  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.