विचार

नयाँ वर्ष एक : चाड अनेक
SHARES

चैत ३०, २०७५

    २०७५ वर्षअघि स्थापित भएको विक्रम संवत् नपालको राष्ट्रिय संवत्को रूपमा प्रचलित छ। विक्रमसंवत् अनुसार वैशाख १ गतेलाई नववर्षको रूपमा मनाइन्छ। सौर पात्रोअनुसार चल्ने भएकोले विक्रम संवत्लाई सूर्य संक्रमणको आधारमा गणना गरिन्छ। नववर्षको दिन सूर्यले मेष राशिमा प्रवेश गर्ने भएकोले यो दिनलाई मेष संक्रान्ति पनि भनिन्छ। विक्रम संवत्को पहिलो दिन सबेरै उठी स्नान गरी सूर्यलाई अघ्र्य दिने, जप, तर्पण र दान गर्ने चलन छ। 

    वर्षको पहिलो दिन शुभकर्म गर्नाले वर्ष राम्रो हुने विश्वास गरिन्छ। केहीले वर्षभरिको वर्षफल तथा आफ्नो राशिफल समेत सुन्ने गर्दछन्। नेपालमा विक्रमसंवत्को पहिलो दिन अर्थात् वैशाख १ गते राष्ट्रपति, प्रधानमन्त्री लगायत प्रतिपक्षी दलका शीर्ष नेतालगायतले देशवासीका नाममा शुभकामना दिने परम्परा रहेको छ। 

    याे संवतको प्रचलनको बारेमा विद्वान्हरूबीच मतभेदहरू पाइन्छन् केही विद्वानहरूको भनाइमा यो संवत् भारतका एक प्रतापी राजा विक्रमादित्यले इश्वी संवत् सुरु हुनुभन्दा ५७ वर्षअघि स्थापना गरेका हुन्। केही विद्वानका अनुसार अंशुवर्माको शासनकालम विक्रमजित नामका एक राजाले नेपालको साँखुमा आई राज्य संचालन गरेका र बज्रयोगिनीको उपासना गरी राज्यका जनताहरूलाई अनिकालबाट जोगाएका थिए। यसै वेलादेखि उनले विक्रमादित्य संवत् पनि चलाएका थिए। तर केही विद्वान्को भनाइमा इशापूर्व ५७ वर्षअगाडि भारतमा कुनैपनि विक्रमादित्य नामको राजा नभएकोले विक्रमसंवत् नेपालीहरूको आफ्नै मौलिक संवत् हो भन्ने छ। 

    सूर्यका विभिन्न नाममध्ये विक्रम नामबाट यो संवत् चलेको तर्क गर्नेहरूपनि छन्। छ ऋतुमा विभाजित वर्षलाई महिनाको ३० (२९ देखि ३२ सम्म) दिनको दरले ३६५ दिनको एक वर्ष मानिन्छ। बाह्र महिनामा सूर्य कर्कट राशिमा प्रवेश भएदेखिका छ महिनालाई दक्षिणायन र सूर्य मकर राशिमा प्रवेश गरेपछिका छ महिनालाई उत्तरायण भनिन्छ। विक्रम संवत् सनातन हिन्दु धर्म मान्नेका लागि र ज्योतिषशास्त्रमा मात्र महत्व होइन विभिन्न जातजाति समुदायका लागि पनि महत्त्व राख्छ।

    नयाँ वर्षमा विस्केट जात्रा

    नेवार समुदायले आफ्ना चाडपर्व, तिथि श्राद्ध आदि चान्द्रमानको पात्रोअनुसार चल्ने नेपाल संवतलाई आधार मानेर गर्छ। तर विक्रम संवतकाे अन्त्य र सुरुका केही दिनमा यिनीहरूको महत्त्वपूर्ण बिस्केट जात्रा मनाउने गर्छ। भक्तपुरमा आठ दिन, नौ रात र ठिमीमा चार दिन मनाइने यो जात्रा यहाँका नेवार समुदायको सबैभन्दा ठूलो पर्व हो। विस्केट सुरु हुनुभन्दा अगाडिदेखि घरआँगनको सरसफाइ र लिपपोत गरेर तयारी गरिन्छ। 

    बिहे गरेर विभिन्न ठाउँमा पुगका छोरीचेलीसमेत बिस्केट जात्राका लागि माइती घर आउँछन्। भक्तपुरमा चैत्रको अन्तिम दिन लिंगो उठाएर वैशाखको पहिलो दिनढाल्ने प्रक्रियालाई विशेष महत्वका साथ हेरिन्छ। यता ठिमीको बालकुमारीमा वैशाख २ गते ३२ खटको जात्रा (जसलाई ‘सिन्दुरे जात्रा’ भनिन्छ) निकालिन्छ। यही दिन बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ। यही समयमा काठमाडौंको टोखामा पनि बिस्केट जात्रा धुमधामसँग मनाइन्छ।

    सुदूरपश्चिममा विसुपर्व

    सुदूपश्चिममा नयाँवर्षको पहिलो दिन वैशाख संक्रान्तिलाई विसु पर्वको रूपमा मनाइन्छ डोटी, वैतडी, डडेल्धुरा, दार्चुला र बाजुरालगायतका जिल्लामा  मीठो खाने र राम्रो लाउने पर्वको रूपमा यस पर्वलाई लिइन्छ। यसदिन पवित्र नदी तलाउमा गएर २० पटक डुबुल्की लगाउने चलन पनि छ। 

    सानाहरूले आफूभन्दा ठूलालाई सिस्नुपानी लगाएर रमाइलो गर्दछन्। विशेषगरी देवरले भाउजु, भिनाजुले सालीलाई सिस्नुपानी लगाउँछन्। सिस्नुपानीले शरीरमा शक्तिको सञ्चार हुने विश्वास गरिन्छ। विसुपर्वको उपलक्ष्यमा नयाँ गहुँ पोलेर उमामहेश्वरको पूजा गरी प्रसादस्वरूप खाने गरिन्छ यसैबेला सुदूरको पहिचान देउडा खेलेर मनोरञ्जन लिने चलन छ।

    सिरहामा सहलेस

    प्रकृतिको संयोग पनि कस्तो। सिरहाको लाहानदेखि चार किलोमिटर पश्चिममा पर्ने सल्हेश फुलवारीमा ठाउँमा  एकप्रकार फूल वैशाख संक्रान्तिको दिनमात्र फुल्छ। अघिल्लो दिन कोपिला लाग्ने १ गते फुल्ने र २ गते झर्ने। सेतो मालाआकारको अनौठो फूल हरेक बैशाख १ गते मात्र फूल्ने भएकोले पूजा गर्न विहानैदेखि सर्वसाधारणको घुइँचो लाग्छ। 

    राजा सहलेशकी प्रेमिका मालिनीले आजको दिन उनलाई प्रेमको अभिव्यक्ति स्वरूप माला लगाई दिएको र मालिनी फूलका रूपमा देखिने जनविश्वास रहेको छ। यसै स्थानमा रहेको सहलेसको मन्दिरमा समेत मेला लाग्छ।

    तराईमा सिरुवा पर्व

    तराईका विभिन्न जातिमा विक्रम संवत्अनुसारको नयाँवर्षमा सिरुवा पर्व मनाइन्छ। झापा, मोरङ, सप्तरी लगायतका जिल्लामा विभिन्न जातिले प्रकृतिको पूजाआराधना गर्छन्। सिरूवा पर्वमा एकआपसमा हिलो तथा रङ खेली शुभकामना आदान प्रदान गर्ने चलन छ। नयाँ वर्षका तीन दिन मनाइने यो पर्वको पहिलो दिनलाई पानी सिरूवा, दोस्रो दिनलाई काद सिरुवा र तेश्रो दिनलाई रङ्ग सिरुवा भनिन्छ। 

    विभिन्न स्थानमा मेला

    नयाँ वर्षको अवसरमा विभिन्न दोभान र त्रिवेणीलगायत तीर्थस्थलहरूमा भक्तजनहरूको मेला लाग्दछ। वर्षको पहिलो दिन अर्थात् वर्षको पहिलो सूर्योदयमा तीर्थस्थलको भ्रमण र देवीदेवताको दर्शन गर्नाले वर्ष सुखद रहने विश्वास रहेको छ। 

    नयाँ वर्षको पहिलो दिन भक्तपुरको दधिकोट र सिरुटारको संगमस्थलमा रहेको चरखण्डी महादेवको मन्दिरमा मेला लाग्छ। यहाँ रहेको कुण्डमा स्नान गरी चरखण्डी महादेवको पूजा गर्न काठमाडौं उपत्यकाका भक्तजनको घुइँचो हुन्छ। यसैगरी ललितपुरको दलचोकीस्थित मनकामना मन्दिरमा पनि यो दिन मेला लाग्छ।
     

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्। इमेल : dhitalramprasad@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]