|

काठमाडौः कवि भूपिन 'मैदारो' उपन्यास लिएर उपन्यासकारको रूपमा आएका छन्। शनिबार उनको पहिलो उपन्यास विमोचन भएको हो। साहित्यकार तथा राजनीतिज्ञ आहुती, आख्यानकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त मोहना अन्सारी र लेखक भूपिनले संयुक्त मैदारोको विमोचन गरेका थिए।

विमोचनमा साहित्यकारले आहुतीले भाषिक क्षमताको चर्चा गरे। उनले उपन्यास शानदार भाषामा लेखेको बताए। साहित्यमा समाजशास्त्रको भूमिका सबैभन्दा बढी हुनुपुर्छ,' उनले भने, 'समाजशास्त्रीय दृष्टिकोणले यस उपन्यासको केही अंशहरू सच्याउनुपर्छ।' उनका अनुसार उपन्यासले केही समुदायको प्रतिनिधित्व गरेको छ।

आख्यानकार पाण्डेले मैदारोको पात्र निर्माणबारे प्रकाश पारे। नेपाली उपन्यासमा चित्रकारलाई सशक्त रूपमा उभ्याइएको पहिलो उपन्यास भएको बताए। 'धेरै मेहनतको साथ लेखिएको उपन्यास छ,' उनले भने, 'लेखकले यो ढंगको शैली हुन्छ जस्तो लागेको थिएन।' ग्रामीण भेगको स्मरण गराउने यो उपन्यासको विशेषता रहेको उनले बताए।

मोहना अन्सारीले यो उपन्यासले समाजको सत्य कुराको बोलेको बताइन्। उनले उपन्यासकारले उपन्यासको माध्यमबाट समाजको विशेषतालाई अभिलेख राख्न सकेको धारणा राखिन्। 'उपन्यासले नेपालको गाउँघर घुम्न प्रेरित गरेको छ', उनले भनिन्, 'समाजको जटिल वस्तु र दुःख वेदना बोकेको छ।' उपन्यासले जातीय संघर्षसम्बन्धी विषयवस्तु उठान गरेको उनको भनाइ छ।

उपन्यासकार भूपिनले आफूले सामाजिक यथार्थवाद र स्वैरकल्पनाको मिश्रण गरेर स्थानीय विषयलाई स्थापित गर्न खोजेको बताए। ‘आञ्चलिकताको प्रयोग स्थानीय स्वाद दिनका लागि मात्र होइन त्यहाँको विषयवस्तु स्थापित गराउन पनि हो’, उनले भने।  

कार्यक्रम बुक हिलका अध्यक्ष भूपेन्द्र खड्काले फरक फरक विषय र शैलीका साहित्यलाई पाठकसमक्ष पुर्‍यायन आफूहरू प्रतिबद्ध रहेको बताए। पुस्तक बुक हिल पब्लिकेशनले प्रकाशन गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.