|

इलाम : करिब डेढ दशक अघिसम्म गाउँघर वरपर सयाैँको संख्यामा सिनोमा लुछाचुँडी गर्दै गरेका गिद्ध हुलका हुल भेटिन्थेँ। तर त्यस्ताे दृश्य अहिले देख्न दुर्लभ भएकाे छ। एक वर्षअघि सन्दकपुर गाउँपालिकाको फेमे गुरु खोल्सीनजिकै आठ वटा गिद्ध मृत भेटिए।

चेतनाको अभावमा जंगली जनावर चितुवा, बँदेल र स्याल मार्न पशुको सिनोमा औषधि लगाएर जंगल छेउमा राख्ने गरेकाले त्यही सिनो गिद्धले खाँदा मृत अवस्थामा भेटिएको गाउँपालिका उदयबहादुर राईले बताए। गिद्ध विस्तारै लोप हुन थालेपछि गाउँपालिकाले औषधि प्रयोग गरेको सिनो नफ्याँक्न आग्रह गरेको छ।

प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राख्ने प्राकृतिक कुँचीकारका नामले चिनिने गिद्ध विभिन्न महामारी हैजा, झाडापखला, रेबिज, प्लेग, एन्थ्राक्स फैलिन रोक्न ठूलो भूमिका खेल्छन्। डेढ दशक अघिसम्म दक्षिण एसियामा करोडौँको संख्यामा र नेपालमा लाखौंको संख्यामा पाइने गिद्ध आज केही हजारमा मात्र सीमित हुन पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को प्रतिवेदनले देखाउँछ।  

विश्वमा २३ प्रकारका गिद्ध पाइन्छन्। जसमध्ये दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्ध नेपालमा समेत पाइन्छन्। तीमध्ये ६ प्रजातिका गिद्धहरू नेपालमै गुँड बनाई बच्चा कोरल्छन् भने बाँकी हिउँदे आगन्तुकको रूपमा आउने गरेको विभिन्न समयमा गरिएको अध्ययनले देखाएको छ। एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरू सामूहिक उपयोग गर्ने गिद्ध मानवबस्ती वरपर अग्ला बलिया रुख र पहराहरूमा गुँड बनाएर बस्छन्। 

भारतमा सन् १९९२ देखि २००७ सम्मको राजमार्ग ट्रान्सेक्ट सर्वेबाट डंगर गिद्ध ९९.७ प्रतिशत र सानो खैरो ९८ प्रतिशतले घटेको कुरा अध्ययनले देखाएको छ। त्यसैगरी नेपालमा पनि सन् २००२ देखि २०१० सम्मको राजमार्ग ट्रान्सेक्ट सर्भेबाट डंगर गिद्ध ९१ प्रतिशतले घटेको पाइएको छ। यसरी गिद्धको संख्या अप्राकृतिक रूपमा घटेकोले आईयूसीएनले नेपालमा पाइने सानो खैरो, डंगर, लामो ठुँडे र सुन गिद्धलाई अति संकटापन्न र सेतो गिद्धलाई संकटापन्न सूचीमा राखेको छ।

अति संकटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत रहने संरक्षणकर्मी धनबहादुर खाम्दाकले बताए। इलामको सन्दकपुर, माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको २५ सय मिटरमाथि गिद्ध बेलाबेला देखा पर्ने गरेको छ। बेलाबेला देखिने गिद्धको बासस्थान, खानपान र संरक्षणबारे अहिलेसम्म कुनै कार्यक्रम इलाममा भएका छैनन्। गिद्ध संरक्षणका लागि राष्ट्रिय निकुञ्ज नभएको जिल्लामा जिल्ला वन कार्यालयलाई संरक्षणको जिम्मा दिए पनि वार्षिक कार्यक्रम नभएको डिभिजन वन कार्यालय इलामका प्रमुख श्रीप्रसाद बरालले बताए। 

प्रमुख कारण 'डाइक्लोफेनेक'को प्रयोग

सन १९९० को मध्येदेखि नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्यामा यसरी अप्राकृतिक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि 'डाइक्लोफेनेक' हो। डाइक्लोफेनेकले उपचार गरिएका पशु उपचारकै क्रममा मरेमा डाइक्लोफेनेकयुक्त सिनो खाने गिद्धको शरीरमा सर्छ। जसले रगतमा युरिक एसिडको मात्रा बढाई भिसरल गराउँछ र मृगौलाले ‘युरिक एसिड’ छान्न नसकी गिद्ध केही दिनमै मर्छ। 

३० एमएल एक भाएल डाइक्लोफेनेक प्रयोग गरिएको एउटै सिनोबाट मात्र पनि ३५० देखि ८०० गिद्ध मर्छन्। नेपाल सरकारले सन् २००६ जुनदेखि डाइक्लोफेनेकको उत्पादन र प्रयोगमा प्रतिवन्ध लगाएको छ। यसको सट्टामा हानीरहित वैकल्पिक औषधि मेलोक्सिकेमको प्रयोगलाई प्रोत्साहन गरिएको छ। अहिले इलामसहित देशका ४८ जिल्ला डाइक्लोफेनेकमुक्त जिल्लाको रूपमा घोषणा भएका छन।

नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन २००९ देखि २०१३ सम्म’ को सफल कार्यान्वयनपश्चात नयाँ कार्ययोजना (सन २०१५–२०१९) कार्यान्वयन भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.