|

काठमाडौं :  कम्पनी रजिष्टारको कार्यालयका अनुसार नेपालमा हाल तीन सय ७० वटा स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्ने भन्दै स्वास्थ्य अनुसन्धान केन्द्र दर्ता भएका भएका छन्।

यस्ता स्वास्थ्य अनुसन्धान केन्द्र भनेर जोडिएका स्वास्थ्य संस्थाले वर्षमा कम्तीमा दुईवटा अनुसन्धान कार्य गर्नैपर्छ र त्यसको रिपोर्ट स्वास्‍थ्य मन्त्रालयअन्तर्गतको  नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा बुझाउनैपर्छ। तर, नेपालमा अनुसन्धान केन्द्रका नाममा खोलिएका त्यस्ता स्वास्थ्य संस्थाले अनुसन्धान नगरी बसेको पाइएको हो। अनुसन्धानको नाममा खोलिएका यस्ता संस्थाले कामै नगर्ने परिषद्का कार्यकारी निर्देशक डा अन्जनीकुमार झाले बताए। उनले भने, 'न अनुसन्धान नै गर्छन् न आफ्नो वार्षिक रिपोर्ट परिषद्लाई नै बुझाउँछन्।'

परिषदले स्वास्थ्य अनुसन्धान केन्द्रका रूपमा खोलिएका संस्थाहरूको अनुगमन गर्दा त्यस्तो भेटिएको हो। परिषदका अनुसार कम्पनी रजिष्टार कार्यालयमा कुल ३७० वटा स्वास्थ्यका अनुसन्धान केन्द्र दर्ता भएमध्ये ८१ वटा मात्रै सञ्चालनमा रहेको पाइएको हो।

हाल सञ्चालन भएका अनुसन्धान केन्द्रमध्ये ५० प्रतिशत बढी काठमाडौंभित्रै रहेका छन्। उपत्यकामा छन्। अनुसन्धान परिषदले सञ्चालनमा रहेका भनिएका ८१ स्वास्थ्य अनुसन्धान केन्द्रमध्ये २१ वटाले मात्रै अनुसन्धान गरेको जनाएको छ। परिषदका प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल अनुसन्धान शब्‍दको दुरुपयोग रोक्न पनि अनुसन्धानमा सहभागी नहुने केन्द्रहरूलाई नाम परिवर्तन गर्नुपर्ने बताउँछन्।

उनले भने, 'अनुसन्धानका नाममा कम्पनी दर्ता गर्ने यस्ता संस्थाहरू नामका पछाडि मात्र अनुसन्धान केन्द्र जोडेर विभिन्न लाभ लिनका लागि पनि गैरकानुनी काम गरेको पाइएको छ, अब यसलाई नियन्त्रण गर्नुपर्छ।'

परिषदका कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झाले स्वास्थ्य अनुसन्धानमा राम्रो नैतिक अभ्यास सुनिश्चित गर्न अनुसन्धान संस्थाहरूको अनुगमन गरिएको बताए।

उनले नेपालमा पछिल्लो समय अनुसन्धान गर्ने पद्धतीको विकास हुँदै गएको भन्दै नाम मात्रै अनुसन्धान केन्द्र राखेर काम नगर्ने संस्थाहरूले सच्चिनुपर्ने बताए। उनले भने, 'कामै नगरी अनुसन्धानको दुरुपयोग गर्ने यस्ता संस्थाहरूको नामका पछाडि रहेको अनुसन्धान भन्ने शब्द हटाउनुपर्छ, राम्रो काम गर्ने केन्द्रहरूलाई पोत्सान गर्नुपर्ने बेला आएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.