|

बुटवल : बुटवलमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुदअन्तर्गत लन टेनिस प्रतियोगितामा एपीएफ क्लबले चार स्वर्ण पदक जितेको छ। लन टेनिस कम्प्लेक्समा भएको खेलमा कुल पाँचवटा इभेन्टमध्ये सशस्त्र प्रहरीको  एपीएफले चार इभेन्टमा स्वर्ण पदक जितेको हो। महिला एकलमा सशस्त्रकी प्रेरणा कोइरालाले जितिन्।

पुरुष युगलमा सशस्त्रका जितेन्द्र परियार र आइभन्हो लिसानोभिचको जोडीले र महिला युगलमा सलोनी तामाङ र अष्लेसा लिसानोभिचको जोडीले स्वर्ण पदक जितेका छन्। मिश्रित युगलमा पनि सशस्त्रकै आइभन्हो लिसानोभिच र अष्लेसा लिसानोभिचले स्वर्ण पदक जितेका छन्। पाँच स्वर्णमध्ये एक स्वर्ण पदक भने पुरुष एकलतर्फ एनआरएनए टिमका संरक्षण भुषण बज्राचार्यले जितेका छन्।

महिला युगलमा एपीएफकै प्रेरणा कोइराला र एनी माथेमाले रजत पदक जिते भने गण्डकी प्रदेशकी श्रेया भट्टराई र रोमिका बुद्धाचार्य तथा नेपाली सेनाका अभिलाषा विष्ट र आइरा एम रावतले कास्य पदक जितेका छन्। मिश्रित युगलमा नेपाली सेनाका प्रणव खनाल र अभिलाषा विष्टले रजत पदक, गण्डकी प्रदेशका अनिल शाही र गंगा शर्मा तथा नेपाली सेनाका अभिनव आचार्य र आइराएम रावतले कास्य पदक जितेका छन्। पुरुष एकलमा नेपाली सेनाका प्रणव खनालले रजत तथा एपीएफका सन्तोष खत्री र गण्डकी प्रदेशका प्रदीप खड्काले कास्य पदक जितेका छन्।

महिला एकलमा नेपाली सेनाका अभिलाषा विष्टले रजत तथा नेपाली सेनाकै आइरा एम रावत र प्रदेश ३ कि रायना शाहले कास्य पदक जितेका छन्। पुरुष युगलमा गण्डकी प्रदेशका प्रदीप खड्का र नवीन मगरले रजत तथा गण्डकी प्रदेशकै धरम लामिछाने र अनिल शाही एवं एपीएफका छेवाङ लामा र सन्तोष खत्रीले कास्य पदक जितेका छन्।

विजयी खेलाडीहरूलाई सोमबार लन टेनिस संघकी केन्द्रीय अध्यक्ष ज्योति राणा, जिल्ला अध्यक्ष अशोक गुरुङ, प्रतियोगिता संयोजक गोपाल ज्ञवाली, जिल्ला खेलकुद विकास समिति अध्यक्ष योग गुरुङले पदक, मेडल र प्रमाणपत्र प्रदान गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.