फिचर

जो बेसहारा बच्‍चाहरूका लागि अभिभावक बने
SHARES

'विष पिएको थिएँ तर पनि बाँचे'

बैशाख २, २०७६

    काठमाडौं : शारीरिक रूपमा अशक्त भएर जन्मेको व्यक्तिलाई समाजले बहिष्‍कार गर्छ। त्यही व्यक्ति मर्छु भनेर गाउँ छोडेर हिँड्छ। बिनालक्ष्य हिँड्दै काठमाडौं आइपुग्छ। २५ वर्ष भीख माग्छ। मागेर जम्मा गरेको पैसा जंगलमा खाल्डो खनेर जम्मा गर्छ। एकदिन खाल्डोको पैसा निकाल्छ र आफूजस्तै बेसहारा बच्चाको अभिभावक बन्छ। कथा यति नै हो।

    कथा सुरु हुन्छ, पूर्वी नेपालको पाँचथरबाट। वि.सं २०२९ सालमा आमा हर्कमाया कार्कीको कोखबाट माइलो सन्तानको रूपमा तिलकहादुर कार्कीको जन्म हुन्छ। शारीरिक रूपमा अशक्त हुन्छन् उनी। उनको जन्मसँगै उनलाई र आमालाई गाईको गोठमा लगेर राखियो। अपांग छोरो जन्माएकी आमालाई अलच्छिनीको ट्याग लगाइयो।

    तिलकको उमेर बढ्दै गयो। उनलाई विद्यालयदेखि गाउँघरसम्म अपमानित बनेको महसुस हुन थाल्यो। आफूलाई जन्म दिएकी आमालाई र आफू स्वय‌ंलाई समाजले तुच्छ व्यवहार गरेको देख्न र सहन सकेनन् उनले। जुन समाजले आफ्नो शारीरिक अपांगता भएको शरीरमाथि अलच्छिनाको ट्याग लगाउँछ र अस्तित्व स्वीकार गर्न सक्दैन भने त्यही ठाउँमा बस्नुको के अर्थ? यही कुरा तिलको दिमाग डेरा जमायो। कुरूप समाजसँग सम्पूर्ण नाता त्यागेर हिँडे उनी।

    उनले गाउँका अपहेलना सम्झेर धेरैपटक आत्महत्या गर्ने कोसिस पनि गरे। कथन छ, मर्नलाई पनि काल आउनुपर्छ। उनलाई लिन आउने कालले ठेगाना भूल्यो। उनी बाँचे। जाने कहाँ थाहा थिएन। मर्न हिँडेको मान्छेको लक्ष्य मसानघाटसम्मको थियो। मर्ने ठाउँ खोज्दै जाँदा बाटो मोडियो। वि.स २०३८ सालमा उनी पशुपति आर्यघाटमा आइपुगे। त्यहाँ उनले आफ्नै सन्तानले, परिवारले, समाजले आफैँलाई जस्तै तिरस्कार गरेर बेसहारा बनेका मान्छेको भिड देखे। जो एकपल बाँच्न भीख मागिरहेका छन्। उनलाई आफ्नो जीवनको माया लागेर आयो। आफ्नो अपांगता शरीर देखाएर भीख मागेर खान थाले। उनी अतीत सम्झन्छन्, 'विष पिएको थिएँ। तर वान्ता भएर बाँचे। पछि आफ्नो जीवनको माया लागेर आयो।'

    खाल्डो खनेर पैसा

    उनले भीख माग्न थाले। कसैले दया देखाएर भीख दिएको पैसा जोगाउन थाले। उनी भन्छन्, 'मसँगैका साथीले मलाई खुबै माया देखाए। तर राति पैसा चोरिदिए।' त्यसपछि उनलाई आफ्नै साथी पनि आफ्ना लागेनन्। उनले गौशालाको जयबागेश्वरीको जंगलमा सात दिन खाल्डो खने। हरेक दिन भीख मागेको पैसा सहर चिर निद्रामा हुँदा उनी बागेश्वरीको जंगल पुग्थे र पैसा लुकाउथे। २५ वर्षको अवधिमा पशुपतिमा मान्छे जलाउने चितादेखि सडकका गल्लीलाई बस्ने जमिन र आकाशलाई छानो बनाएर गुजारे उनले।

    वि.स २०६३ सालमा उनले सपना देखे। सपनामा कोही आयो भन्यो, 'मूर्ख बालक, तेरो पैसा जस्ताको त्यस्तै छ। त्यो पैसा झिक् र बेसहाराको बाबु बन्।' उनी झल्यास्स भए। उनी सपनाबाट ब्युझे। त्यसबेलाका गौशालका इन्सपेक्टर जयराम सापकोटाको सहयोगमा उनले त्यो खाल्डोमा भएको पैसा निकाले। कागजका पैसा कुहिसकेका थिए। सिक्का पैसा गन्दा मात्र ५ लाख ५१ हजार थियो। 

    उनी पहिलोपटक यत्ति ठूलो रकम देख्दा बेहोस भए। हस्पिटल पुगे। सात दिन अस्पतालमा आराम गरे। र फर्किए।  यत्रो पैसा आफूजस्तै शारीरिक रूपमा अशक्त र बेसहाराको लागि खर्च गर्ने सोच बनाए उनले। किनभने यो पैसा मात्र थिएन।  बेसहाराहरूका लागि खाने खाना थियो भने बस्नको लागि बास। त्यही पैसाले सुरु गरे संयुक्त अपाङ एकता आवाज केन्द्र। ०६४ मा उनले यो संस्था खोले। सुरुवातमा १३ जना बच्चाहरू थिए। अहिले उक्त संस्था विभिन्न जिल्लाबाट भूकम्प,बाढी, द्वन्द्वबाट पीडित भएर आएका ४५ जना बच्चाका लागि पवित्र आश्रयस्थल बनेको छ ।

    जसको दोस्रो जन्म भयो

    जहाँ आफ्नोपन छैन भने त्यहाँ फर्केर के जानु? यसकारण तिल गाउँ फर्केर गएनन्। उनलाई गाउँले मृत घोषणा गरिदिए। गाउँमा उनको मृत्युको घोषणा भयो र हिन्‍दू धर्मअनुसार उनको काजकिरिया पनि। तर, २८ वर्षपछि उनको भेट पुन: बाबु आमासँग भयो। जतिबेला समाजमा उनले गरेको आदर्शकर्म सञ्‍चारमाध्यममा मुख्य समाचार बन्यो। त्यसपछि पुन: हिन्‍दू धर्मअनुसार आमा नौ दिन सुत्केरी बसेर घ्याम्पो फुटाएर उनको पुन: जन्म भयो। यो घटना ६५ सालको हो।

    कुनै बेला उनलाई समाजले बहिष्‍कार गर्‍यो। त्यही समाजले अहिले उनलाई आदर्श मान्छ। उनी  भन्छन्, 'त्यसबेला मलाई समाजले बहिष्‍कार गर्नु समाजको चेतनाको स्तर मुख्य दोषी हो।'  चेतनाविहीन समाजले आफूलाई बहिष्‍कार गरेको पल सम्झिँदा खासै दु:ख लाग्दैन उनलाई।

    आफ्नै भवन बनाउने इच्छा

    उनले अहिले १० वर्षका लागि गोकर्णमा जग्गा भाडामा लिएर बच्चाहरू हुर्काइरहेका छन्। उनको इच्छा छ, 'संस्थाको आफ्नै भवन बनाउन पाए बच्चाहरूको विचल्ली हुँदैन कि।' उनी अहिले बिरामी छन्। २५ वर्ष सम्म सहेको सडकको चिसो अहिले बिरामीको कारण बनेको छ। उनलाई नशासम्बन्धी रोगले सताएको छ।

     बिरामी शरीर कुन दिन सुस्ताउँछ भर छैन यो कुराले उनलाई खासै चिन्तित बनाउँदैन तर उनलाई सडकका बच्चा पुन: सडकमै पुग्छन कि भन्ने चिन्‍ता छ। उनी भन्छन्, 'संस्थाको एउटा आफ्नै भवन बनाउन पाए आफू मरेर जाँदा पनि बच्चाहरूको विचल्ली हुँदैनथ्‍यो कि।' अहिले सरकारले उक्त संस्थालाई तीन लाख वार्षिक रूपमा बजेट छुट्याएको छ। यसले केही राहत हुने उनले बताए।

    उमेरले ४५ कटेका उनी सन्तुष्टिको आधार भनेको अहिले आफ्ना आश्रममा रहेका बालबालीकाको प्रगति रहेको बताउँछन्। उनले अहिले ४५ जना बालबालिकाको अभिभावकत्व भूमिका निर्वाह गरे पनि यसको श्रेय सबै सहयोगी नेपालीहरूलाई दिन्छन्। उनी भन्छन्, 'यी सबै बालबालिकाहरू हाम्रा साझा सम्पति हुन्। यिनको भविष्य हामी नेपालीहरूकै हातमा छ।' मरेर जाँदा  कात्रोमा खल्ती हुँदैन। दुई दिनको चोलामा जसले जहाँबाट जति सक्छ सहयोग गरिदिनुहुन अपिल गर्छन् उनी। उनको एउटै मान्यता छ, हरेक व्यक्तिले आ-आफ्नो भाग्य लिएर आएका हुन्छन्। तर, भाग्य कोर्न सक्ने बनाइदिनुपर्छ। बेसहारालाई सहाराको खाँचो छ।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]